• १३ वैशाख २०८१, बिहिबार

तराईमा गर्मी बढ्यो : ‘लू’ बाट बच्न सिडिओको आग्रह

blog

जिल्ला प्रशासन कार्यालय सर्लाही । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री 

सर्लाही, जेठ २३ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले तातो हावा अर्थात् ‘लू’ बाट बच्ने उपाय अपनाउन अनुरोध गरेको छ । 

प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले तराई क्षेत्रमा तापक्रम अत्यधिक बढेर तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेको भनी चेतावनी जारी गरिरहेकाले जिल्लावासीलाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको हो । 

प्रजिअ यादवले हस्ताक्षर गरी जारी गर्नुभएको सूचनामा तातो हावा तथा ‘लू’ बाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी समय नहिँड्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा झोल पदार्थ (जुस, सर्बत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहने भनी सल्लाह दिइएको छ । 

चिकित्सकका अनुसार यो समयमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, वान्ता आदि हुनसक्छ । गर्मी अत्यधिक हुँदा धेरैमा अहिले यस प्रकारका स्वास्थ्य समस्या देखा पर्न थालिसकेको छ । 

विगत एक साताभन्दा बढी समयदेखि निरन्तर तातो हावा चलेर चर्को घाम लाग्दा यस्ता सङ्क्रमण भएका बिरामी सबैतिर बढेका हुन् । अघिल्लो हप्ताको सोमबारदेखि तराई क्षेत्रमा गर्मी अत्यधिक बढेको हो । 

बिहान सूर्योदय हुँदादेखि साँझ अबेरसम्म नै चर्को घाम लागेर तातो हावा चल्ने गरेको छ । उखरमाउलो गर्मीका कारण बिहान ९-१० बजेदेखि अपराह्न ४-५ बजेसम्म सडक, बजार सुनसान देखिन्छ । 

गर्मीले स–साना बालबालिका, वृद्धवृद्धासहित हरेक उमेर समूहका मानिसलाई छटपटीमा पारेको छ । घरभित्रै बसेर पङ्खा चलाउँदा पङ्खाले पनि तातै हावा फाल्दा भित्र बसिरहन सक्ने अवस्था नरहेको सर्वसाधारणले गुनासो गरेका छन् । 

यस्तै, गर्मी अत्यधिक बढेपछि यहाँका विद्यालय बन्द गरिएका छन् । बाहिर निस्किएर काम गर्नुपर्ने मजदुर र किसान चर्को गर्मी र तातो हावाबाट झनै बढी प्रभावित भइरहेका छन् ।