• ६ चैत २०८०, मङ्गलबार

लुम्बिनी र कपिलवस्तु अखण्ड भारतको नक्सामा समेटिनु आपत्तिजनक

blog

काठमाडौं, जेठ २३ गते । छिमेकी मुलुक भारतको हालै नयाँ संसद्को उद्घाटन भयो । संसद् भवनमा अखण्ड भारतको नक्सा राखिएको छ । नेपालको कपिलवस्तु र लुम्बिनीसमेत समेटिएको सो नक्सा यतिबेला विवादित छ । अखण्ड भारत नामक सो नक्सामा राखिएको नेपाली भूगोलको सही पहिचान गरेर यसको कूटनीतिक पहल लिनुपर्ने विज्ञहरू बताउँछन् ।  

नेपालका लागि आपत्तिजनक:

सीमाविद् बुद्धिनारायण श्रेष्ठले भन्नुभयो, “भारतीय पार्लमेन्टको नयाँ बिल्डिङ उद्घाटन गरेको छ । यसमा दुइटा कुरा छ, यो भारतको विगतको विषय चित्रण गरेको हो या भविष्यको योजना चित्रण गरेको हो । यो नक्साले भविष्यको योजना देखाउँछ भने सरासर गलत छ । किनभने, नेपालको लुम्बिनी र कपिलवस्तु भारतमा राखेको छ ।” 

उहाँले विगतमा भारत अङ्ग्रेजको अधीनमा रहेको भन्नुहुँदै इतिहासमा कहिल्यै लुम्बिनी भारतमा नरहेको बताउनुभयो । “विगतमा पनि लुम्बिनी त जहिले पनि नेपालको हो । विगतको कुरामा लुम्बिनी भारततर्फ परेको आपत्तिजनक कुरा हो”, उहाँले भन्नुभयो ।

यो भारतको विगतको विषय चित्रण गरेको हो या भविष्यको योजना चित्रण गरेको हो । यो नक्साले भविष्यको योजना देखाउँछ भने सरासर गलत छ । – सीमाविद् बुद्धिनारायण श्रेष्ठ

यस्तै, पूर्व राजदूत प्राध्यापक डा. लोकराज बरालले लुम्बिनी र कपिलवस्तु भारतको नक्साभित्र परेको छ भने तुरुन्तै विरोध जनाउनुपर्ने बताउनुभयो । तर, अक्षर र सिमानाको भू–भाग राम्रोसँग छुट्याउनुपर्ने उहाँको भनाइ छ । 

डा.बरालले भन्नुभयो, “भारतको नक्साभित्र लुम्बिनी र कपिलवस्तु परेको छ भने तुरुन्तै विरोध गर्नुपर्छ । झट्ट हेर्दा कहिलेकाहीँ नक्सामा अक्षर हेरेर हुँदैन, सिमानाको लाइन हेर्नुपर्छ । पहिला भेरिफाइ गरेर हाम्रो भू–भाग भारततिरै पारेको रहेछ भने त्यसलाई विरोध गर्नपर्‍यो ।” यो विषय उठाएर भारतबाट प्रष्टीकरण लिनुपर्ने उहाँको भनाइ छ । 

छिमेक सम्बन्धमा प्रतिकूल असर:

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले अखण्ड भारतको नक्सामा बुद्ध जन्मिएको चित्रसहितको मोडल राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अखण्ड भारतको नक्सामा बुद्ध जन्मिएको चित्रसहितको मोडल त्यहाँ राखिएको छ । नेपालको लुम्बिनी, कपिलवस्तु अखण्ड भारतभित्र पर्दैन । पाकिस्तानको तक्षशिला पनि भारतमा पर्छ भनेर देखाइएको छ, पूर्वतिरको केही ठाउँ पनि उतै पर्छ भनेर देखाएको छ, यो अहिले उपयुक्त छैन ।”

दक्षिण एसियाको सौहार्दपूर्ण सम्बन्ध, आ–आफ्नो सीमाभित्र बसेर अगाडि बढ्ने कुरामा प्रतिकूल असर पर्छ जस्तो मलाई लाग्छ । – परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ

उहाँले भारतमा धार्मिक अतिवादी दृष्टिकोणको उपज यसो भएको बताउनुभयो । भारतमा राष्ट्रपतिले संसद् उद्घाटन गर्नुपर्नेमा प्रधानमन्त्री नरेन्द्र मोदी आफैँले केही पण्डितमार्फत गराएको विषयप्रति  भारतभित्रै यसको बहिष्कार भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिबाट नगराएर आफैँ पण्डित ल्याएर उद्घाटन ग¥यो भनेर भारतभित्र पनि बहिष्कार भयो । विगतको इतिहासमा नेपालको लुम्बिनी भारतमा परेको छैन । त्यो बेला भारत भन्ने देश थिएन ।” 

परराष्ट्रविद् श्रेष्ठले भारतीय जनता पार्टी (बीजेपी) ले अखण्ड भारत र हिन्दु धर्मको आडमा दक्षिण एसियामा प्रभुत्व जमाउने दृष्टिकोण राखेको विचार राख्नुभयो । “अमेरिकनले गएको हप्ता निकालेको रिपोर्टमा पनि पैसा दिएर भाजपाले छरछिमेकमा हिन्दु राज्यको पक्षमा बोल्न लाउँदैछ भन्यो । यस किसिमको नक्सा निकाल्ने र दाबी गर्न थाल्यो भने दक्षिण एसियाको सौहार्दपूर्ण सम्बन्ध, आ–आफ्नो सीमाभित्र बसेर अगाडि बढ्ने कुरामा प्रतिकूल असर पर्छजस्तो मलाई लाग्छ”, उहाँले भन्नुभयो । 

सयौँ वर्षसम्म अङ्ग्रेजको अधीनमा रहेको भारत सन् १९४७ मा स्वतन्त्र भयो । स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवहरलाल नेहरुले संसदमा भारतको उत्तरी सिमाना हिमालय हो भन्ने अभिव्यक्ति दिएका थिए । यही प्रसङ्ग जोड्नुहुँदै त्यो बेला नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले यसको प्रतिवाद गरेको उहाँले स्मरण गराउनुभयो । 

बिजेपीको पृष्ठभूमि त्यस्तै हो विशाल भारत, अखण्ड भारत थियो भन्ने उहिलेको कुरा गर्छ । तर सुगौली सन्धिपछिको जुन सम्झौता हो त्यो अनुसार हुनुपर्छ अरू मिल्दैन भन्नुपर्छ । – पूर्वराजदूत प्रा.डा. लोकराज बराल

उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्रीले किन यसो भन्यो भनेर प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले प्रतिवाद गरेपछि जवहरलाल नेहरुले भारतको पार्लमेन्टमा त्यो भनाइ फिर्ता लिए र भारतको उत्तरी सिमाना मित्र देश नेपाल रहेको छ भने । यसरी नै माफी मागेको कुरा अहिले दर्साउन खोजेको हो कि भारतले ।”

प्राध्यापक बरालले भाजपाको पृष्ठभूमि भएकाले पनि अखण्ड भारतको नाममा यसखाले गतिविधि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले कट्टर हिन्दुवादको नाममा त्यहाँभित्र पनि बबण्डर मच्चेको छ ।  बिजेपीको पृष्ठभूमि त्यस्तै हो विशाल भारत, अखण्ड भारत थियो भन्ने उहिलेको कुरा गर्छ । तर सुगौली सन्धिपछिको जुन सम्झौता हो त्यो अनुसार हुनुपर्छ अरू मिल्दैन भन्नुपर्छ ।” भारतले छिमेकी मुलुकहरू नेपाल, पाकिस्तान, अफगानिस्तानको भूभाग पनि समेटेको उहाँको भनाइ छ । 

परराष्ट्रविद् श्रेष्ठले नेपालको राष्ट्रिय दिवस नभएको भन्नुहुँदै नेपाल हजारौँ वर्षदेखि स्वतन्त्र राष्ट्र भएकाले भारतको पछिल्लो यो गतिविधिले नेपाली भावनाको स्वतन्त्रतामा ठेस लाग्ने बताउनुभयो । “सार्वभौम समानता एकले अर्काको क्षेत्रीय अखण्डतालाई सम्मान गर्नुपर्ने भएकाले यो हटाउनका लागि छलफल गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।