सिन्धुलीमा दुई जनाको ज्यान गयो

बाबुराम देवकोटा

सिन्धुलीमाढी, वैशाख २९ गते । सिन्धुली जिल्लामा मङ्गलबार भएको भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना प्रहरीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

भूकम्प भएको बेला आफ्नै घरले थिचेर नेत्रकाली गाविस–८ निवासी मानबहादुर वाईवाको मृत्यु भएको छ भने जङ्गलमा बाख्रा चराउन गएका बेला पहिरोमा परी मझुवा गाविस–३ निवासी ३६ वर्षीय ईश्वरी खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यो सहित सिन्धुली जिल्लामा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । यस अघि वैशाख १२ गतेको भूकम्पमा परी नौ जनाको र उपचारका क्रममा दुई जनाको ज्यान गएको थियो ।

मङ्गलबार भएको भूकम्पमा २५ जनाभन्दा बढी घाइते भएका र सबैको अवस्था सामान्य रहेको प्रहरी नायब उपरिक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भूकम्पका कारण थुप्रै घर भत्किएर क्षति भएको र भत्किएको घरको विवरण सङ्कलन भई नसकेको उहाँले बताउनुभयो ।

सिन्धुली जिल्लामा भूकम्पबाट कमलामाई नगरपालिका सहित मझुवा, कुशेश्वर दुम्जा, झाँगाझोली रातमाटा, पुरानो झाँगाझोली, शीतलपाटी, भीमेश्वर लगायतका दुई दर्जनभन्दा बढी गाविसका अधिकांश घर भत्किएर क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

गत वैशाख १२ गतेको भूकम्पबाट चर्किएका घरहरू मङ्गलबार भएको भूकम्पबाट भत्किएर बढी क्षति भएको स्थानीय बासिन्दाको भनाइ छ । भूकम्पका कारण जिल्लाको जनजीवन पुनः त्रासदीपूर्ण बनेको छ ।

दुम्जा गाविसमा रहेको कुशेश्वर महादेवको मूल मन्दिर र पाटी चर्किएर ढल्ने अवस्थामा पुगेको स्थानीय बासिन्दाले जनाएको छ ।

भूकम्पका कारण बीपी राजमार्गको बारा र पिपलभञ्ज्याङमा सडक भासिएर क्षति पुगेको प्रहरी नायब उपरिक्षक महतोले जानकारी दिनुभयो । यातायात भने अबरुद्ध नभएको उहाँको भनाइ छ ।

भूकम्पकै कारण जिल्लाका विभिन्न भागमा घर भत्किएर सयौँ पशु मरेको बताइएको छ । यस अघि भूकम्पका कारण जिल्लामा २८ हजार २२५ वटा घर भत्किएर क्षति भएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना