मुलुकको विकासमा सबै जुटौँ–प्रधानमन्त्री

 

काठमाडौँ, मङ्सिर २६ गते । प्रधानमन्त्री सुशील कोइरालाले मुुलुकमा सधै राजनीतिक आन्दोलन मात्रै भएकाले अब मुलुकको विकासमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घको १७औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री कोइरालाले मुलुकको समृद्धिका लागि निर्माण व्यवसायीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नु भयो ।

सार्कका बेला छोटो समय मै निर्माण कार्य सम्पन्न गरेकोमा व्यवसायीको प्रशंसा गर्नुहँुदै उहाँले कमसल निर्माण कार्य गर्ने, ठेक्कापट्टामा सिन्डीकेट कायम गर्ने जस्ता विकृतिमा सुधार गरी निर्माण व्यवसायलाई मर्यादित बनाउन सुझाव दिनुभयो ।

नेपालमा कृषि, पर्यटन, जलविद्युत्लगायत प्राकृतिक स्रोत साधनको अपार सम्भावना हुँदाहँुदै पनि राजनीतिक अस्थिरताले गर्दा विकास हुन नसकेको बताउनुहुँदै प्रधानमन्त्री कोइरालाले अब बन्ने संविधानले स्थिरता ल्याउने र मुलुक समृद्धिको दिशामा अघि बढ्ने विश्वास दिलाउनुभयो ।

समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले मुलुकको समृद्धिका लागि राजनीतिक स्थायित्व र भौतिक पूर्वाधारको विकास पहिलो शर्त भएको उल्लेख गर्नुहुँदै भौतिक पूर्वाधार विकासका लागि निर्माण व्यवसायीको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले निर्माण व्यवसायीलाई राजनीतिलाई सैद्धान्तिक सीमामा कायम राखेर पेसागत हितमा अघि बढ्न आग्रह गर्नुभयो ।

सिँचाइ मन्त्री एनपी साउदले गत वर्षको तुलनामा यस वर्ष विकास खर्च हुन नसकेको अवगत गराउनुहँुदै भौतिक निर्माणका क्रममा देखिएका कानुनी र सुरक्षाका चुनौतीको सामना गर्न सरकार तत्पर रहेको बताउनुभयो ।

समारोहमा व्यवस्थापिका–संसद्अन्तर्गतको अर्थ समितिका सभापति प्रकाश ज्वालाले भौतिक निर्माणका क्रममा अवरोध देखिएका नीति नियम संसद्को आउँदो हिउँदे अधिवेशनबाट संशोधन गर्नका लागि प्रक्रियामा गएको जानकारी गराउनुभयो ।

महासङ्घका अध्यक्ष जयराम लामिछानेले भौतिक पूर्वाधारको विकास बिना मुलुकको विकास सम्भव नहुने बताउदै राज्यले निर्माण व्यवसायीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा महासङ्घका वरिष्ठ उपाध्यक्ष रवि सिंहले सरकारले निर्माण व्यवसायीलाई काम गर्ने राम्रो वातावरण बनाएमा व्यवसायी पनि जिम्मेवार भएर काम गर्ने विश्वास दिलाउनुभयो ।

‘पूर्वाधार विकास–राष्ट्र निर्माणको आधार, बनाँै सर्वपक्ष जिम्मेवार’ भन्ने नाराका साथ सुरु भएको महासङ्घको महाधिवेसनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना