• ६ चैत २०८०, मङ्गलबार

कालोपत्रे गुणस्तरहीन भएको स्थानीयको आरोप

blog

कालोपत्रे गरिएको सुर्मीनाला–बढैपुर सडक । तस्बिर : शंकर चौधरी

अविनाश चौधरी

धनगढी, जेठ २२ गते । कैलालीको सुर्मीनाला–बढैपुर सडकमा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको स्थानीयले आरोप लगाएका छन् । हालै गरिएको कालोपत्रे पाँच दिनभित्रै उप्किन थालेपछि स्थानीयले गुणस्तरहीन काम भएको बताएका हुन् । 

निर्माण कम्पनीले सडक बनाउनमा लापरबाही वा गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै गुणस्तर जाँच गर्न स्थानीयले माग गरेका छन् । स्थानीयका अनुसार कैलारी गाउँपालिकाको सुर्मीनालादेखि बसौटीसम्म भएको कालोपत्रे उप्किन थालेको छ । कालोपत्रे गरिएको सडकमा पाँच दिन भित्रै ढुङ्गा निस्केको स्थानीय शङ्कर चौधरीले बताउनुभयो । पक्की सडकमाथि बालुवा हालिएको भन्दै उहाँले सडक गुणस्तरहीन बनेको आरोप लगाउनुभयो । 

हसुलियादेखि पूर्वपश्चिम महेन्द्रराजमार्गसम्म जम्मा १९ किलोमिटर दूरी रहेको यो सडकको पाँच किलोमिटरमा कालोपत्रे गर्ने काम भइरहेको छ । बीबीएस कन्स्ट्रक्सनले सडक कालोपत्रेको काम गरिरहेको छ । निर्माण कम्पनीले पातलो कालोपत्रे गरेको स्थानीयले जिकिर गरेका छन् । निर्माण हुने बित्तिकै उप्किन सुरु भएको सडकको अवस्था पछि झनै खराब हुने उनीहरूको भनाइ छ । 

कालोपत्रे गुणस्तरहीन देखिएकाले गाउँपालिकाले अनुगमन गरेर दबाब सिर्जना गर्नुपर्ने कैलारी गाउँपालिका –३ भडरीका दिनेश चौधरीले बताउनुभयो । “स्थानीय सरकार यस विषयमा अहिलेसम्म मौन छ” उहाँले भन्नुभयो । 

सो सडकमा दुई वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । बीबीएस कन्स्ट्रक्सनले २०७७ असार ७ मा सडक स्तरोन्नतिका लागि ठेक्का पाएको थियो । आगामी असार २५ गतेसम्म सो कम्पनीको निर्माण अवधि रहेको छ । निर्माण कम्पनीले ४.३७५ किलोमिटर सडक कालोपत्रेका लागि चार छुट्टाछुट्टै ठेक्का नम्बरमा चार करोड १० लाख ९७ हजार रुपियाँमा ठेक्का पाएको थियो ।  

सडक डिभिजन साइड कार्यालय धनगढीका प्रमुख गणेश बुढाले कालोपत्रे सडक गुणस्तरहीन रहेको गुनासो आए पनि गुणस्तर जाँच गर्न बाँकी रहेको बताउनुभयो । “सडकको कोर कटिङगरी गुणस्तर मापन हुन्छ” उहाँले भन्नुभयो, “यदि गुणस्तर नपुगेको देखिन्छ भने निर्माण कम्पनीले सुधार गर्नुपर्छ ।” उहाँले कालोपत्रे पातलो भएको प्रमाणित भएमा सुधार गर्नुपर्ने बताउनुभयो ।