• ६ चैत २०८०, मङ्गलबार

राष्ट्रपति पौडेलले पठाउनुभयो पूर्वमन्त्री पाण्डेको परिवारलाई समवेदना

blog

राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट पूर्वमन्त्री मीना पाण्डेको परिवारजनलाई समवेदना सन्देश दिनुहुँदै प्रेस सल्लाहकार किरण पोखरेल । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, जेठ २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री मीना पाण्डेको परिवारजनलाई समवेदना पठाउनुभएको छ । पाण्डेको ७२ वर्षको उमेरका जेठ १३ गते निधन भएको थियो ।

राष्ट्रपति पौडेलले समवेदना सन्देशमा सादा र सरल जीवन शैलीकी धनी पाण्डेका योगदानले हरेक नेपालीलाई प्रेरणा प्रदान गर्ने बताएका छन् । पाण्डेको निधनले लोकतान्त्रिक आन्दोलन र मुलुकलाई अपूरणीय क्षति पुगेको राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले पुरुषहरूलाई समेत आन्दोलनमा होमिन कठिन अवस्थामा पाण्डेले आफूलाई लोकतन्त्रको आन्दोलनमा समाहित गर्नु सबैका लागि गौरवको विषय भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलका तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारको तर्फबाट छोरी अवज्ञा पौडेल र संज्ञा पोखरेलले पाण्डेको निवास गौशालामा पुगेर दुःख व्यक्त गर्नुभएको हो ।

पौडेलले पठाएको सन्देशमा भनिएको छ, ‘‘२०३६ सालको जनमत सङ्ग्रह घोषणा गराउन बाध्य पार्ने विद्यार्थी आन्दोलनमा समेत पाण्डेले नेतृत्वदायी भूमिका निर्वाह गरेको सो बेलाको विद्यार्थी आन्दोलनमा पाण्डे पक्राउ परेको मेरो मानसपटलमा अझै ताजै छ ।’’

बीपी, गणेशमानजस्ता नेताहरूले प्रवासको जीवन भोगेको देखेपछि आफूमा थप विद्रोही भावना पलाएको भनेर बेलाबेलामा आफूहरूलाई सुनाउने गरेको पनि राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख गरेका छन् ।