विविधतायुक्त मौलिकता हाम्रो चिनारी–कोइराला (पूर्ण पाठ)

 गोरखापत्र काठमाडौँ, मङ्सिर २६ गते । काठमाडौं विश्वविद्यालयको

२० औं दीक्षान्त समारोहलाई सो विश्वविद्यालयका कुलपति प्रधानमन्त्री
सुशील कोइरालाले सम्बोधन गर्दै हाम्रो देश बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक भएकाले हरेक विधाको विविधतायुक्त मौलिकता हाम्रो चिनारी हो भन्नुभएको छ । सो समाहरोमा उहाँले दिनुभएको मन्तव्यको पूर्ण पाठ.......

प्रमुख अतिथिज्यू,
उपकुलपतिज्यू,
संरक्षण समितिका सदस्यज्यूहरू,
सभाका विद्वान् सदस्यहरू,
आज दीक्षित हुने सम्पूर्ण विद्यार्थीहरू,
समस्त अभिभावकज्यूहरू,
काठमाडौँ विश्वविद्यालय परिवार,
सञ्चारकर्मी मित्रहरु, तथा
उपस्थित समस्त दिदीबहिनी तथा दाजुभाइहरु १

काठमाडौँ विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहमा कुलपतिको रूपमा सम्बोधन गर्न पाउँदा मलाई ज्यादै खुसी लागेको छ । यस अवसरमा आज दीक्षित हुन लाग्नुभएका स्नातकोत्तर र स्नातक तहका सम्पूर्ण दक्ष जनशक्तिहरूमा हार्दिक बधाई दिन चाहन्छु ।
हाम्रो देश बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक भएकाले हरेक विधाको विविधतायुक्त मौलिकता हाम्रो चिनारी हो । हाम्रा पूर्वजहरूले हामीलाई छाडेर गएका सांस्कृतिक, साहित्यिक, बौद्धिक, ऐतिहासिक, कलात्मक र पुरातात्विक सम्पदाहरू हाम्रो मुलुकका अमूल्य निधिहरू हुन् । ती सम्पदाहरूको सुरक्षा, सम्वद्र्धन र प्रवद्र्धन गर्दै तिनलाई हाम्रो देश र देशवासीको आर्थिक र सामाजिक विकाससँग आबद्ध गरेर लोकतान्त्रिक शासन पद्धतिको माध्यमबाट समृद्धिको मार्गमा लाग्नु आजको आवश्यकता हो ।
आफ्ना मौलिक सम्पदाहरूलाई आर्थिक विकाससँग जोड्दै हामीले युगानुकूल वैज्ञानिक अनुसन्धानतर्फ पनि अघि बढ्न आवश्यक छ । विज्ञानले हाम्रो ज्ञान र सीपलाई फराकिलो पारिदिन्छ । आफैँलाई परिमार्जित गर्दै समयका साथसाथ पाइला अघि बढाउन सिकाउँछ । विश्व नै एउटा गाउँका रूपमा रूपान्तरित हुँदै गएको वर्तमान अवस्थामा विज्ञानले विश्वनागरिकलाई हातेमालो गर्दै विकासपथमा अग्रसर हुन मद्दत गर्दछ । हामी वैज्ञानिक अनुसन्धानबाटै विकासको ढोका खोल्न समर्थ हुन्छौँ । हाम्रो देशलाई यस विधाका जनशक्तिको ठूलो आवश्यकता छ ।हामीले अरुका उपयुक्त प्रविधि भित्र्याउनु त पर्दछ, तर हाम्रालागि हामी आफैले सही प्रविधि विकसित गर्न पनि उत्तिकै जरुरी छ ।
देशको विकास गर्न प्रविधिको पनि उत्तिकै आवश्यकता छ । प्रविधिले हाम्रो कामलाई छिटो–छरितो, सबल र गुणस्तरीय बनाउँछ । हामीमा सक्षमता भयो भने मात्रै प्रविधिको सही उपयोग गर्न सकिन्छ । आजको विश्वले प्रविधिका क्षेत्रमा ठूलो फड्को मारिसकेको छ । अब हामी पुुराना प्रविधिहरूबाट मात्रै नयाँ समाजको निर्माण गर्न सक्तैनौँ । समयको मागलाई चुनौतीका रूपमा स्वीकार गर्दै इन्जिनियरिङ क्षेत्रको विकासमा अघि बढ्नु परेको छ । विकसित देशको हाराहारीमा हिँड्नका लागि हामीमा प्रविधिसम्बन्धी ज्ञान हुनैपर्छ र प्राप्त गरेको ज्ञानलाई देशको हितमा उपयोग पनि गर्नैपर्छ ।
भविष्यका कर्णधार विद्यार्थीहरु,
देशलाई हरेक पक्षबाट सफल बनाउन हामीमा व्यवस्थापकीय क्षमता हुनैपर्छ । व्यवस्थापन शिक्षाले हाम्रा हरेक कदम सार्थक बनाउन सघाउछ । हाम्रो मार्गमा आइपरेका बिघ्नबाधाहरू सजिलै हटाउन सिकाउछ । हाम्रा स्रोत र साधनहरुको सदुपयोग र कुशल व्यवस्थापन गर्न नसक्दा हामी पछाडि परेको तथ्यलाई हामीले आत्मसात गर्न जरुरी छ । मैले शासन, प्रशासन र निजी क्षेत्रका धेरै संस्थाहरुमा व्यवस्थापकीय कमजोरी देखेको छु। यस विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरुले त्यो अभावलाई पूरा गर्नुहुने मेरो अपेक्षा छ । यस विश्वविद्यालयको छविमा आजसम्म व्यवस्थापकीय क्षमताको अभाव र अनियमिताको दाग लागेको छैन । यस विश्वविद्यालयले पवित्र शैक्षिक संस्थाहरु प्राज्ञिक उन्नयनको केन्द्र भएको उदाहरण प्रस्तुत गरेको छ ।यस विश्वविद्यालयले हालसम्म कायम गरेको सफलताले नेपाललाई भविष्यमा विश्वको शैक्षिक केन्द्रका रुपमा विकसित गर्न सकिने ढोका खोलेको छ। यहाँको सुरम्य वातावरण,अनुकूल हावापानी, मिजासिलो र अतिथिप्रेमी नेपाली संस्कार र अनुकूल जलवायुले जो कसैलाई पनि आकर्षित गर्ने यथार्थलाई शिक्षाविद् र शिक्षाप्रेमीहरुले विर्सनु हुने छैन ।
कलाको विधामा, विज्ञानको विधामा, प्रविधिको विधामा र व्यवस्थापनको विधामा सफल हुनका लागि शिक्षाको आवश्यकता पर्दछ । देशको सर्वाङ्गीण विकासका लागि शिक्षाले अहम् भूमिका खेल्दछ । हामीले के सिक्यौँ ? कसरी सिक्यौँ? कोबाट सिक्यौँ ? र कति सिक्यौँ ? भन्ने कुराले हामी भविष्यमा देशलाई कतातिर लैजाँदैछौँ ? भन्ने कुराको निर्धारण गर्छ । त्यसैले देशलाई हरेक क्षेत्रमा आवश्यक पर्ने शिक्षा प्राप्त गरेर देशको मुहार फेर्नु हाम्रा विद्यार्थीहरूको उद्देश्य हुनुपर्छ ।
काठमाडौँ विश्वविद्यालयले चिकित्सा, कला, विज्ञान, प्रविधि, व्यवस्थापन र शिक्षाका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको सक्षम जनशक्ति तयार गरेर देशलाई उपहार दिइरहेको छ । त्यस मध्ये आज कला, विज्ञान, प्रविधि, व्यवस्थापन र शिक्षा क्षेत्रका जनशक्तिले उपाधि लिन लाग्नुभएको छ । तपाईंहरूले यस विश्वविद्यालयबाट आ–आफ्नो विधामा जुन ज्ञान, सीप, दक्षता, क्षमता, गुणस्तर र संस्कार प्राप्त गर्नुभएको छ, त्यसलाई आगामी दिनमा पूर्णतया सफल उपयोग गर्नुहुनेछ भन्ने मेरो विश्वास छ । देशको भविष्यको जिम्मा तपाईंहरूकै काँधमा छ । तपाईंहरू आफ्नो देशलाई जस्तो बनाउन चाहनुहुन्छ, त्यस्तै बनाउन सक्नुहुन्छ ।त्यो क्षमता तपाईंहरूलाई यस विश्वविद्यालयले दिएको छ । भविष्यका सन्ततिले तपाईंहरूमाथि गर्व गर्ने गरी आफ्नो क्षमतालाई सदुपयोग गरेर देशलाई अघि बढाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
आज दीक्षित हुने सुयोग्य विद्यार्थीहरु,
तपाईहरु आफ्नो व्यक्तित्व विकासको महत्वपूर्ण चरणमा हुनुहुन्छ । अध्ययनको चरण सम्पन्न गरेर ज्ञान,सीप,अन्तरंग अभ्यासले सक्षम र सुयोग्य हुनु भएको छ । अब व्यवसायीक क्षेत्रमा पदार्पण गर्न तत्पर हुनु भएको छ ।
नेपाली जनताले ६ दशकभन्दा बढी समयसम्म लोकतन्त्रको लागि गरेको संघर्षको परिणाम स्वरुप अहिले हामीले संघीयता,गणतन्त्र र समावेशिता सहितको लोकतन्त्र हासिल गरेका छौं । अहिले प्राप्त यी अधिकारहरुलाई संविधानमा लिपिबद्ध गरी संविधान सभाबाट नयाँ संविधान जारी गरेपछि हामी विकासको नयाँ युगमा प्रवेश गर्नेछौं । यी अधिकारहरु संस्थागत भएपछि राजनीतिक स्थायित्व आउने छ । देशमा शान्ति कायम हुनेछ । संविधान निर्माणलाई प्राथमिकतामा राख्दा राख्दै हामीले मित्र राष्ट्र भारतसंग विद्युत व्यापार संझौता तथा माथिल्लो कर्णाली र अरुण तेस्रोको विकासक कम्पनीसंग परियोजना विकास संझौता सम्पन्न गरेका छौ । यसले विश्वमा नेपालको छवि सुधारिएको सन्देश दिएको छ । नेपालमा शान्ति र राजनीतिक स्थायित्वका साथै लगानी सुरक्षित हुने अनुकूल वातावरण निर्माण भएको सन्देश प्रवाहित गरेको छ । यसैले संविधान जारी भएपछि देशमा स्वदेशी र विदेशी दुवै खालका लगानी बढ्ने मैले विश्वास लिएको छु ।
यस्तो अनुकूल वातावरणमा हामीले हाम्रा प्राकृतिक स्रोतहरुको दिगो र अधिक प्रतिफल आउने गरी उपयोग गर्दै विकासको गतिलाई तीव्रता दिनेछौ । यसले स्वदेशमा नै रोजगारीका अवसरहरु सिर्जना गर्न सघाउने छ । तपाईहरु सहित सबै विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई मात्र हैन, श्रमबजारमा आउने सबै जनशक्तिलाई रोजगारी दिन सकिनेमा म विश्वस्त छु ।यसले हाम्रो विकासको बाधकको रुपमा रहेको बौद्धिक पलायनलाई रोक्ने छ । वैदेशिक रोजगारीमा गएकालाई स्वदेशी रोजगारीमा नै समेटिने छ । यसैले मैले नेपालको भविष्य उज्ज्वल देखेको छु ।
अन्त्यमा, यो ऐतिहासिक अवसरमा दीक्षित हुनु भएका विद्यार्थीहरुले आ–आफ्नो क्षेत्रमा आर्जन गरेको ज्ञान,सीप र अनुभव आफ्नो व्यवसायिक व्यक्तित्व विकासका साथै देशको विकास र आम नागरिकको जीवनस्तर सुधारका लागि उपयोग गर्नुहुने मैले विश्वास लिएको छु । अन्तर्राष्ट्रिय स्तरको जनशक्ति बन्नुभएकोमा तपाईंहरूलाई पुनः बधाई ज्ञापन गर्दछु ।
जय नेपाल !

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना