• ८ वैशाख २०८१, शनिबार

कोलीय गणराज्यको दरबार क्षेत्रको उत्खनन्

blog

उत्खनन् शुभारम्भ गर्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख खरेल लगायत । तस्वीर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, जेठ १८ गते । बुद्ध मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहमा उत्खनन् सुरु भएको छ । बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले संयुक्त रूपमा उत्खननको शुभारम्भ गर्नुभयो ।

देवदह नगरपालिका –९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबारक्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयहरूले आवाज उठाउँदै आएका थिए । देवदहका स्थानीय समेत रहेका कोषाध्यक्ष भट्टराईले देवदहका स्थानीय र विभिन्न अभियन्ताले दाबी गरेअनुसार देवदहको खोजीका लागि उत्खनन् महत्त्वपूर्ण बन्ने बताउनुभयो । 

कोषले बौद्धपुरातात्विक क्षेत्रको उत्खनन् र संरक्षणमा पुरातत्त्व महाशाखालाई बलियो बनाएर अभियान सञ्चालन गर्ने योजनामा रहेको जानकारी दिनुभयो । देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरूको पुरातात्त्विक उत्खनन् गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले उत्खनन थालेको उल्लेख गर्नुभयो ।

भट्टराइले भन्नुभयो– ‘देवदह कुन हो, त्यसका लागि पुरातात्त्विक रूपमा पुष्टि हुन बाँकी छ, तर खयरडाँडा पुरातात्त्विक स्थल रहेकोमा कुनै शङ्का छैन उहाँले भन्नुभयो । देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालीन पुरातात्त्विक स्थलका रूपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्त्विक स्थलको संरक्षण गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन नगरपालिकाले काम गर्नुपर्ने उहाँको भनाइ छ ।

उत्खनन् शुभारम्भमा देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले खयरडाँडा क्षेत्र नै कोलीय गणराज्यको राजधानीको दरबार क्षेत्र रहेको दाबी गर्नुभयो । उत्तरतर्फ पुष्करणी दह, पश्चिमपट्टी रोहिणी नदी रहेकाले यही क्षेत्र नै देवदह भएको आफूहरूको विश्वास रहेको बताउनुभयो । 

लुम्बिनी विकास कोषले खयरडाँडामा उत्खनन सुरु गरेर पुरातात्त्विक स्थल र बुद्धको मावली गाउँ देवदहको खोजीका लागि महत्त्वपूर्ण योगदान गर्ने बताउनुभयो । नगरप्रमुख खरेलले खयरडाँडामा भेटिएका पुरातात्त्विक बस्तु र स्मारकलाई नगरपालिकाले सङ्ग्रहालय बनाएर राख्ने प्रतिबद्धता जनाउनुभयो ।

७ जना उत्खनन् टोलीमा

लुम्बिनी विकास कोषका पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा ७ जनाको टोली उत्खननमा खटिएको छ । लामो समयदेखि स्थानीयहरूको माग रहे पनि विविध कारणले हुन नसकेको उत्खनन् यो पटक सुरु गरिएको महाशाखा प्रमुख उप्रेतीले बताउनुभयो । 

स्थानीयको दाबीअनुसार खयरडाँडा बुद्धको मावली कोलीय गणराज्यको राजधानी देवदहको दरबार क्षेत्र हो । पुरातात्त्विक रूपमा देवदहको पुष्टिका लागि उत्खननले महत्त्वपूर्ण प्रमाणहरू जुटाउने अपेक्षा गरिएको छ ।

उत्खनन् शुभारम्भमा देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा केसी, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता गणेश डुम्रे, वडाध्यक्षहरू मोहन जिसी र कृष्ण अधिकारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका उकेशराज भुजुलगायतको उपस्थिति थियो । 

बुधबारदेखि सुरु भएको उत्खनन् असार १५ सम्म एक महिना चल्नेछ । उत्खननमा पुरातत्त्व महाशाखाका प्रमुख उप्रेतीसहित नवराज अधिकारी, शुभेच्छा पोखरेल, निशा पन्थी, अम्बिका सुब्बासहितको टोली खटिएको छ । यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातत्त्व विभागले भवानीपुरमा उत्खनन् गरेको थियो । कोषले वार्षिक कार्यक्रमअनुसार कपिलवस्तुको गोटिहवामा चैत २५ गतेदेखि जेठ ३ गतेसम्म उत्खनन् गरेको छ ।