• १३ वैशाख २०८१, बिहिबार

सुदूरपश्चिमको आठ जिल्ला सङ्क्रमित मुक्त

blog

अविनाश चौधरी

धनगढी, जेठ १८ गते । सुदूरपश्चिम प्रदेशको आठ जिल्ला सक्रिय कोरोना सङ्क्रमित मुक्त भएको छ । कैलालीसहित पहाडी सबै जिल्ला सक्रिय सङ्क्रमितमुक्त भएको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार अब तराईको कञ्चनपुरमा मात्रै सक्रिय सङ्क्रमित बाँकी छन् । कञ्चनपुरमा पाँच जनामात्रै सक्रिय सङ्क्रमित रहेको जनाइएको छ ।

कैलाली, डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुला सक्रिय सङ्क्रमित मुक्त भएको छ । गत चैत महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेपछि सङ्क्रमण बढेको थियो । बिसु पर्व मनाउन भारतबाट फर्केकाहरू कोरोना सङ्क्रमित भएर कुना कन्दरामा पुगेपछि पहाडी जिल्लामा सङ्क्रमण देखा परेको थियो । 

अहिले सबैतिर सङ्क्रमण घटिसकेको स्वास्थ्यकर्मीले जनाएका छन् । बिहीबार प्रदेशभरि १३० जनाको नमुना परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण नदेखिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयको बुलेटिनमा उल्लेख छ । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले फाटफुट रूपमा मात्रै भारतबाट फर्किनेहरूमा कोरोना देखा परिरहेको बताउनुभयो । उहाँले कोरोनाविरुद्धको खोप लगाउने काम पनि जारी रहेको बताउनुभयो । पछिल्लो समय सङ्क्रमण बढ्दा थुप्रैले बुस्टर डोजको दोस्रो मात्रा खोप लगाएका छन् । 

सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ६७ हजार १२८ जनाको नमुना परीक्षण गरिएको छ । जसमध्ये ६२ हजार ४७६ जनालाई सङ्क्रमण देखा परेको थियो ।