• १६ चैत २०८०, शुक्रबार

महोत्तरीमा लम्पी स्किनको प्रकोप

blog

महोत्तरीको बर्दिबास नगरपालिका १० स्थित लम्पी भाइरसले ग्रस्त गाई । तस्बिर: रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, जेठ १८ गते । 
महोत्तरीमा केही समयदेखि चौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग तीव्र गतिमा  फैलिएको छ ।  सुरुमा बर्दिबास नगरपालिकामा देखिएको यो रोगबाट अहिले समसी, पिपरा, मटिहानी, औरही, बलवासहित सात पालिकाका करिब तीन हजार गाईगोरु प्रभावित भएका छन् । सङ्क्रमित चौपायाको सङ्ख्या बढ्दै गएको पशु चिकित्सकले जनाएका छन् ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय महोत्तरीका डा. इन्द्रेश झाकाअनुसार महोत्तरीमा यसले महामारीको रूप लिइसकेको छ । प्रभावित ठाउँमध्ये बर्दिबासमा १५ र समसीमा एक गरी १६ थान गाईगोरु मरेका छन् । सङ्क्रमण फैलिँदै गएकाले मृत्यु हुने चौपायाको सङ्ख्या बढ्न सक्ने उहाँको भनाइ छ ।

प्रभावित पालिकामध्ये बर्दिबास १० र ११ नम्बर वडामा पर्ने खयरमारामा यसको सर्वाधिक प्रकोप देखिएको छ । स्थानीय पशुपालक पोषण थापाकाअनुसार खयरमारामा गाउँभरि नै यो रोग फैलिएको छ । थापाको आफ्नै गोठमा रहेका बाछाबाछीसहित २६ वटा गाई यसबाट सङ्क्रमित छन् । यसमध्ये २ वटा गाई मर्लान्त अवस्थामा पुगेको उहाँले बताउनु भयो । सङ्क्रमित गाईको दूध नआउँदा नवजात बाछाबाछीलाई बचाउन गाह्रो भएको थापाले जानकारी दिनुभयो ।

बर्दिबासका वडाध्यक्षहरुकाअनुसार लम्पी भाइरसको प्रकोप सिन्धुली जिल्ला निकट सुदूर र उत्तरी भेगको भःयाउरे भाङग्रेका वस्तिदेखि दक्षिणी सिमाना भङ्गाहा सीतापुरसम्म फैलिएको छ । 

बर्दिबास नगरपालिका पशु सेवा शाखाका प्रास मोहन खड्काकाअनुसार सुरुमा वडा नं ११ खयरमारा मा फाट्टफुट्ट देखा परेको यो रोग प्रकोप नौ वटा वडासम्म फैलिएको छ ।

यसबाट सङ्क्रमित पशुलाई ज्वरो आउने, मुखबाट अत्यधिक र्‍याल झर्ने, आँखा नदेख्ने, नाकबाट पानी बग्ने, शरीरभर दुई देखि पाँच सेन्टिमिटर ब्यासको गाँठो आउने, गाँठो चिलाउँदा पशुमा छट्पटी बढ्ने, त्यसमा पीप भरिएर फुटने, गर्भिणी गाईको गर्भपात हुने, दूध सुक्ने जस्ता विविध लक्षण देखा परेको कृषकले जनाएका छन् । अन्तत. त्यसता चौपायाको मृत्युसमेत हुने गरेको छ ।

बर्दिबास नगरप्रमुख प्रह्लाद क्षेत्रीले नगर क्षेत्रमा फैलिएको लम्मी स्किन रोगको रोकथाप र उपचारका लागि जिल्लादेखि प्रदेश स्तरसम्मका पशु सेवा कार्यालय र निर्देशनालयमा अनुरोध गरेको बताउनुभयो ।

जनकपुरस्थित पशुपंक्षी तथा मत्स विकाश निर्देशनालयका निर्देशक जागेश्वर यादवले लम्पी स्किन रोगको रोकथाम र उपचारलाई प्रभावकारी बनाउन डा. सञ्जीव ठाकुरको संयोजकत्वमा ३.तीन सदस्यीय प्रदेश र्‍यापिड रिस्पोन्स (आरआरटी) टोली समेत गठन गरी यसको उपचार, निदान र प्रचार प्रसार जस्ता एकीकृत कार्यक्रम अघि बढाइएको बताउनुभयो ।