असमानुपातिक आलोचना

atindra dahal_1डा. अतीन्द्र दाहाल

बहुदलीय व्यवस्था पुनःस्थापनापछि २७ वर्षमा २४ सरकारकोे राजनीतिक अस्थिरताबाट आक्रान्त देशलाई स्थिरता दिलाउने सरकार बनेको पहिलो वर्ष पूरा हुँदैछ । अचेल धेरै देशमा स्थिर राजनीतिको लहर छ । चीनमा वर्तमान राष्ट्रपति महामहिम सी चीन फिङ्ग सशक्त रूपमा उदाउँदै फोब्र्सको सर्वेक्षणमा विश्वको सर्वोपरी शक्तिशाली व्यक्ति बन्नुभयो । रुसमा भ्लादिमिर पुटिन, जर्मनीमा एन्जेला मार्केल, बङ्गलादेशमा शेख हसिनाको निरन्तर सत्तारोहण राजनीतिक स्थिरताका ज्वलन्त अध्यायहरू हुन् । हामीकहाँ पनि पाँच वर्ष देश चलाउने सुविधा पाएको सरकार बन्यो ।
स्थिरता र समृद्धिको नारा दिएको इतिहासकै शक्तिशाली सरकारसँग नागरिकका विशाल अपेक्षाहरू छन् । जनमानसका ती अभिलाषा पूरा गर्न सरकारले हदैसम्मको शासकीय कौशल प्रदर्शन गर्नुपर्छ र गर्दै होला । यद्यपि सरकारको मूल्याङ्कनको नाममा आक्रमण र असमानुपातिक आलोचनाको अतिरञ्जित म्याराथुनमा हतारिने समूहहरू देखिँदैछन् । समृद्ध नेपाल, सुखी नेपालीको आशय र अभिलाषामा सरकार उसको दाबी जति नै सफल नभए पनि विरोधका हुङ्कारजस्तै असफल पनि छैन । यसले सकारात्मक सन्दर्भ उल्लेख गर्न मिल्ने केही अलौकिक र अनुपम अभ्यास गरेको देखिन्छ ।
सकारात्मकताको सन्दर्भ
आम श्रमिक वर्गको बृहत्तर हित र दीर्घकालीन भलाइमा घोषित सामाजिक सुरक्षाकोषमा रोजगारदाताहरू उत्साहपूर्वक सहभागी हँुदैछन् । सबै स्थानीय निकायमा प्रधानमन्त्री रोजगार कार्यक्रम आउँदैछ । निजगढ विमानस्थल निर्माणको तयारी, श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण र कार्यान्वयन पनि उल्लेखनीय छन् ।
वैदेशिक रोजगार सूचना प्रणाली, प्रदेशबाट श्रम सम्झौता अनि पाँच वर्षमा बाध्यकारी वैदेशिक श्रमको अन्त्य गर्ने अभिप्रायका कार्यक्रमहरूले स्वनिर्मित आर्थिक विकासमा योगदान गर्नेछ । सिन्डिकेटको अन्त्य र विकास निर्माणमा ढिलासुस्ती गर्नेलाई कारबाहीको प्रयासमाथि केही परस्पर विरोधी असहयोगहरू जन्मिँदैछन् । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान प्रयास सरकारी तदारूकता र अग्रसरताको प्रतिरूपसमेत हो ।
विशिष्ठ पदाधिकारीहरूबाट भएको सुरक्षाकर्मी दुरुपयोगको अन्त्य, अध्यागमन व्यवस्थापनमा टोकन प्रणाली, अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनले धेरैलाई राहत मिल्दैछ । सात सय स्थानीय तहमा पुगेको बैङ्किङ सेवा यही वर्षमा थप ३० निकायमा पुग्दैछ । राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि, पँुजीबजारको विद्युतीयकरणदेखि चलचित्र उद्योगमा बक्स अफिसको शुरुआत, श्रमिकलाई बैङ्कमार्पmत तलब भुक्तानी, केही सडकको निर्माण तथा कालोपत्रे, एक सय ८७ तुइनमध्ये अधिकांशको विस्थापन अन्य सफलताहरू हुन् । विद्यालय भर्ना अभियानले भविष्यसम्मको जनशक्ति निर्माण अनि अधिकांश भूकम्प पीडितको घर निर्माण सम्पन्न हुनुले तत्कालीन आवश्यकताको निदानसमेत भएको देखिन्छ ।
न्यायालयमा सुधार देखिँदैछ । नागरिक सुलभताका लागि निजी शिक्षा र स्वास्थ्यलाई छिट्टै गैरनाफामूलक सामुदायिक पद्धतिमा रूपान्तरण गर्न खोजिँदैछ । रेल र पानीजहाजका कार्यक्रमले समेत सार्थकता पाउँदैछन् । पूर्वाधार निर्माणसँगै क्षमता अभिवृद्धि, सुशासन अनि भ्रष्टाचार नियन्त्रणका प्रतिबद्धताहरूले सरकारले संरचनागत र प्रणालीगत सुधार चाहेको बताउँछन् ।
यद्यपि निर्मला पन्त प्रकरणलगायत केही पक्षमा सरकारबाट अपेक्षित सानदार कार्यसम्पादन हुनसकेको छैन तर आलोचना र आरोपचाहिँ उच्च असमानुपातिक रूपमा थुपारिँदैछ । एकोहोरो आलोचनाले कुनै समाधान दिँदैन । आलोचनाका निर्माता निर्देशकहरूले यसकोे सकारात्मक तथा सहयोगी पुनःनिर्माण गर्नुपर्छ ।
आलोचनाको अपेक्षित पुनःनिर्माण
विगतमा औसत नौदेखि १३ महिनामा सरकार परिवर्तन भएकाले विश्लेषक र व्याख्याताहरू यो सरकारमाथि पनि आग्रह÷पूर्वाग्रहका कसी झुन्ड्याउन हतारिनु स्वाभाविक होला तर एक वर्ष नै सरकारको व्यापक मूल्याङ्कनका लागि उपयुक्त समय हैन । प्रतिपक्षबाट सुनियोजित असहयोग अनि कर्मचारीतन्त्रको परिवर्तन अनिच्छुकतासमेत नकार्न सकिँदैन । अस्थिरताबाट लिन सकिने गलत फाइदामा अभ्यस्त हरेक पक्षको बिग्रिएको मानसिकताको पुनःनिर्माणमा निकै समय लाग्न सक्छ ।
सरकारको मात्र प्रयासले नभई, सबैले आ–आफ्नो ठाउँबाट राम्रो काम गर्दा मात्र देशको विकास हुन्छ । सरकार असफल भयो भन्ने आलोचक, प्राध्यापक, उद्योगी, व्यवसायी, पेशाकर्मी, विज्ञ, विश्लेषक, सञ्चारगृह, अधिकारकर्मी, अनुसन्धानकर्ताहरू तथा अन्य जोकोही आफ्नो काममा कति सफल र सरकारप्रति कति सहयोगी छौँ भन्ने महìवपूर्ण हुन्छ । बिदामा सरकारी सवारी चलाउनेले १०÷१५ लिटर तेलको नास ग¥यो होला, जलाउनेले ५० लाखको नास गर्छ । हामी प्रतिस्पर्धा बनाउनेमा गर्दैछौँ कि बिगार्नेमा ? अझ आपूmलाई सञ्चारका मसिहा सम्झने तर आफैँभित्र अनेकन अस्तव्यस्तता भएका निजी क्षेत्रका ठूला छापा अखबारहरू निकै आक्रामक र नकारात्मक बन्दै सरकारलाई बढी नै असफल भएको फलाक्न सुनियोजित सङ्गठितजस्तो देखिनु सुहाउँदो सङ्गति होइन ।
प्रजातान्त्रिक चेकोस्लोभाकियाका प्रथम राष्ट्रपति भ्याकलभ हयाभेल ‘भेलभेट ह्याङ्गओभर’ शीर्षकको कथामा लेख्नुहुन्छ ‘सरकारको विरोध गर्न सजिलै हुन्छ र जसले पनि सक्छ । यद्यपि विरोधसमेत इमानदारिता र नैतिकतामा आधारित हुनुपर्छ । ’ यहाँ आम मानिसलाई अरू सुध्रनु र अरूले मात्र राम्रो गरेर देश बनाउनुपर्छ भन्ने दृष्टिभ्रम छ । आफ्नो कार्यसम्पादनमा ध्यान नदिने, नैतिकता नदेखाउने अनि सरकारलाई मात्र दोष थुपार्ने पद्धतिले देश कहिल्यै बन्दैन । अस्पतालजस्तो संवेदनशील ठाउँमा हड्ताल नगर्नू भन्ने आफ्नै आदेशको बर्खिलापमा निवृत्तिपछि आन्दोलनलाई उचाल्ने अभ्यास, पूर्व पदाधिकारी सुविधाको सवारीमा व्यक्तिगत नम्बर प्लेट परिवर्तन, दोहोरो सुविधा, सरकारमाथि एकोहोरो आक्रमण विचलनका केही उदाहरण हुन् ।
आफ्नो नेतृत्व वा सहभागिता भएको ठाउँ वा संस्था बनाउन नसकेका अधिकांशले सरकारले समेत केही गर्न नसकेको देख्नु र बुझ्नु स्वयंसिद्ध विशृङ्खलता र विलासी दृष्टिभ्रमको प्रतिबिम्बन हो । सरकारलाई सकेसम्म अलोकप्रिय बनाउनु, सरकारलाई सघाउनुपर्छ र सबैले सरकारको प्रयासमा योगदान गर्नुपर्छ भन्ने समाचार र विचारविरुद्ध सङ्गठित कित्ताकाटको उन्माद र आत्मरति नै उनीहरूले बुझेको सफलता हो ।
अमूक चिकित्सकको अनशनमा मोर्चाबन्दी गर्ने, विदेशी नियोगका छलफलमा सहभागी हुने सम्पादक समूह अनि हठी अनशनको समर्थनमा सङ्गठित बन्ने पूर्व प्रधानन्यायाधीशमा देशको प्रधानमन्त्रीलाई पनि सहयोग गर्नुपर्छ, समय लिएर सकारात्मक सुझाव दिने दायित्व निर्वाह गर्नुपर्छ भन्ने आत्मज्ञान किन निर्माण हुँदैन ? सरकार असफल भइसकेको त छैन, तर असफल भएको देखाउन होडबाजी गर्नेहरू वास्तवमै असफल बनाउने प्रायोजनमा दृढसङ्कल्पित त छैनन् भन्ने शङ्का जन्मन सक्छ । देशलाई बचाउन र जोगाउन भूमिका खेल्नेहरूलाई लेन्डुपको संज्ञा दिएर बारम्बार आक्रमण गर्ने सबैले आफ्नो भूमिका चाहिँ मूल्याङ्कन गर्नु÷गराउनु पर्दैन ? गलतलाई गलत भन्नु कहिल्यै गलत हँुदैन तर हेरक कुरालाई गलत मात्र देख्नु र आफूले सक्ने प्रयाससमेत नगर्नु एक प्रकारको रोग तथा देशमाथि बेइमानी हो । हामी यसै बेथितिबाट नराम्ररी गस्रित बन्दैछौँ ।
अमेरिकाका निर्वतमान राष्ट्रपति ओबामा ‘अडासिटी अफ द होप’ पुस्तकमा लेख्नुहुन्छ ‘म त्यो मानिस हुँ र उक्त काम गर्छु जो संचारले मेरो बारेमा भन्छ । ’ आजका मानवका लागि सरकार र त्यसको प्रभाव सञ्चारले जे भन्यो त्यही हो किनकि मानसिको बुझाइ र विचार निर्माणलाई सञ्चारले प्रभावित गर्छ । लेखकद्वय इमरशन बु्रकलिन र पी सिगंरकृत पुस्तक ‘लाईक वारः द वीपनाइजेशन् अफ सोसल मेडिया’ ले मानिसहरू अब हातहतियार तथा खरखजना लिएर रणभूमिमा नभई विचार, तर्क र प्रतितर्क लिएर सामाजिक संचारमा युद्ध कौशल देखाउने निष्कर्ष पस्कन्छ । त्यस्तो सङ्ग्राममा विशेषतः नकारात्मक र बौद्धिकताको नाममा विषवमन गर्दै अरूको उछित्तो काढ्ने सामग्रीलाई प्राथमिकता दिइने कुरा ह्याल रोबर्टसमेत लेखकत्रय रहेको ‘नेटवर्क प्रोपागान्डा’ पुस्तकमा उल्लेख छ । समाचार बिकाउनु र नाफा कमाउनु सबैको ध्येय बन्छ, देश बन्नु वा बिग्रनुमा सरोकार रहँदैन । कतै हाम्रा ठूला सञ्चार माध्यम टिक्नेभन्दा बिक्ने समाचार खोज्ने क्रममा अनि अनलाइन सञ्चारका कारण आफ्नो व्यापार धरासायी बन्दै गएको अत्यासपूर्ण अवस्थाले अतालिएर अञ्जानमै बाटो बिराउँदै त छैनन् ?
सरकार र सत्तासिन पार्टीले पनि गल्ती गरेका छन् तर आलोचकले पनि शैली तथा संस्कारको पुनःनिर्माण गर्नुपर्छ । सरकार असफल भए नागरिक पनि असफल हुन्छौँ, त्यसैले सत्तोसराप हैन, सफल बनाउन सहयोगी र सारथि बन्नुपर्छ, प्रयास लगाउनुपर्छ । सबैले आफ्नो कर्मक्षेत्रबाट समृद्धि र सफलताका लागि केही सत्कर्मको शुरुवात गराँै । त्यो सक्दैनौँ भने सकारात्मक सन्देश दिऊँ । सरकार असफल भइसकेको दुहाई दिनेहरूले पहिले आफू र आफ्नो ठाउँ सफल बनाएर देखाउने प्रतिस्पर्धाको थालनी गरौँ, अरूले त्यसको अनुकरण गराँै । जतिसुकै मार्मिक र हृदयस्पर्शी नै सुनिए पनि भजन गाउनुभन्दा सानै सही राम्रो काम गर्नु नै ठूलो योगदान हुन्छ । परिवर्तन हेर्न चाहनेले पहिले आफू र आफ्नो भूमिकालाई सकारात्मक पुनःनिर्माण र परिवर्तन गरेर सफलताको शुरुआत गरौँ । आलोचनालाई सकारात्मक अक्कल र प्रयासमा बदलौँ, देश स्वतः बदलिन्छ ।

(लेखक प्राध्यापनमा संलग्न हुनुहुन्छ ।)

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना