बाग्मतीमा पर्यटकीय सम्भावना

Junar_babuजुनारबाबु बस्नेत


बाग्मती सफाइको तीन सय साता शनिबार मनाइयो । वि.सं. २०७० जेठ ५ गतेदेखि बाग्मती सफाइ आरम्भ भएको थियो । यो एउटा सामाजिक चेतनाको अभियान थियो । सफाइमा हालसम्म १० लाख स्वयंसेवक परिचालन भएका छन् । व्यक्तिमात्र होइन, एक हजार आठ सय संस्था अहिलेसम्म सफाइमा अग्रसर भए र हिजो बाग्मती भन्दासाथ नाक खुम्च्याउनेहरू अब केही हुन्छ भन्नेमा आशावादी भएका छन् ।
सफाइका सिलसिलामा गत सातामात्र बाग्मती नदीमा बन्दै गएका संरचना र जलाधार क्षेत्रमा स्थलगत अवलोकन गर्ने अवसर मिल्यो । बाग्मती सफाइका अभियान चलिरहँदा र स्थलतगत अवलोकन गरिहँदा हुत्तराम बैद्यलाई सम्झनु स्वाभाबिक हो । उहाँ हामीबाट बिदा भइसक्नुभएको छ तर कृषि इन्जिनियर बैद्यले नै अहिले प्रयोग भइरहेको बाग्मती सभ्यता उद्बोध गर्नुभएको थियो । बाग्मती पूर्वाधार र सफाइ गन्तव्यमा पुग्न सक्यो भने त्यसले उपत्यकाको बाग्मती सभ्यताको संरक्षणसँगै नयाँ पर्यटीय आयाम खोल्न सक्नेछ, स्वर्गीय बैद्यको सम्मान पनि हुनेछ ।
बाग्मती फोहोर पनि एकै दिन भएको होइन र सफाइको आजको अवस्था पनि एकैपटक आएको होइन । यसका लागि संस्थागत रूपमा सरकारले लामै प्रयास गरेको छ, खासगरी पूर्वाधार निर्माणका लागि । उपत्यकामा आवादी बढेसँग २०४० को दशकबाट ढल मिसिन थालेपछि बाग्मती कुरूप हुन थालेको थियो । त्यसबेलासम्म बाग्मती नुहाउने मात्र होइन, पिउने पानीको पनि स्रोत थियो भन्दा आजको पुस्तालाई अचम्म लाग्न सक्छ । वि.सं. २०५१ सालमा समितिबाट आरम्भ भएको संस्थागत प्रयास अधिकार सम्पन्न बाग्मती सुधार आयोजनासम्म पुगेको छ । आयोजनाले पानी प्रशोधनदेखि ढल निर्माणसम्मका काम गरिरहे पनि अझै आशातीत र पर्याप्त पूर्वाधार बन्न सकेको छैन । समितिदेखि आयोजनासम्म आइपुग्दा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रा. विदुर पौडेललगायत धेरैको योगदान अविस्मरणीय छ ।
पर्यटीय महìवका कुरा गर्दा बाग्मतीको शिरमा बन्न थालेको कृत्रिम तालबाटै आरम्भ गर्नु उचित हुन्छ । उपत्यकाको उत्तरपश्चिम चुचुरो अर्थात् मूलखर्कको शिरमा निर्माणाधीन बाँध अर्थात् कृत्रिम ताल २५८ रोपनीमा फैलिएको छ । यो २४ मिटर अग्लो हुनेछ । यो बाँधमा वर्षाको पानी सङ्कलन गरिनेछ । यो क्षेत्र आफैँमा धाप क्षेत्र हो । निर्माण हुँदै गरेको धाप बाँधले सुख्खा याममा प्रतिसकेन्ड ४० लिटरका दरले बाग्मतीमा पानी छोड्नेछ । ढलको व्यवस्थापन प्रभावकारी हुन सक्यो र सँगसँगै फोहोर व्यवस्थापन भयो भने त्यसले बाग्मतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्न सक्नेछ । अब दुई वर्षमा बाँध पूरा हुनेछ ।
मूलखर्कको शिर काठमाडौँ, नुवाकोट र सिन्धुपालचोक त्रि–जिल्ला जोड्ने बिन्दु हो । सिन्धुपाल्चोकको चिसापानीमा अहिले पनि आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्छन् । पदयात्राको नजिकको गन्तव्य मात्र होइन, गोसाइँकुण्ड, लाङटाङ राष्ट्रिय निकुञ्जका साथै हेलम्बु यसै बन्ने धाप ताल नजिकैबाट जान सकिन्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका क्षेत्रमा बन्न थालेको यो बाँध अब दुईमा पूरा हुँदा बाग्मतीमा थप पूर्वाधार पनि बन्नेछ । त्यस तालले बाग्मतीको जलाधारलाई बढाउनेछ भने त्यस तालको पर्याचक्रले जैविक विविधतासँग पर्यटकीय गतिविधि बढाउनेछ ।
कृत्रिम तालले जल, जीवन र प्रकृतिमा सकारात्मक प्रभाव पर्नेछ । शिवपुरी जङ्गलको जमिनभित्र पानी आपूर्ति बढ्दा वनजङ्गल फस्टाउनेछ, थप हरियाली हुनेछ भने राजधानी काठमाडौँको जमिनमुनि पानीको सतहमा पनि क्षतिपुरन हुन सक्नेछ । कृत्रिम बाँधले नौका विहारदेखि थप पर्यटकीय चहलपहल बढाउन सक्नेछ । शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको अध्ययन र विस्तृत डिजाइन पनि भइरहेको छ । त्यस बाँधमा शिरमा बन्ने र सुख्खामा पनि प्रति सेकेन्ड ४० लिटरका दरले पानी आपूर्ति गर्न सक्ने धाप बाँधको पानी मिसिनेछ । प्रस्तावित अर्को बाँध ९० टिटर अग्लो हुनेछ र यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ । यो ड्यामबाट २.१२ मेगावाट विद्युत् उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिनमुनिको पानी पुनःभरण(रिचार्ज) गर्न ठूलो सहयोग गर्नेछ । बहुआयामलाई समेट्ने त्यस बाँधले थप पर्यटकीय आयाम विस्तारको सम्भावना बढाउनेछ ।
दुवै बाँधसँगै पानीको बहाव सुनिश्चित गर्न शिवपुरी जलाधार क्षेत्रमा खेती गरिएको र पहिरो जान सक्ने १२.५ हेक्टर भिरालो जग्गामा पहिरो रोक्ने प्रविधि कार्यान्वयनमा ल्याइएको छ । त्यस क्षेत्रमा अहिले पनि पाँच सय परिवारको बसोबास छ । प्राङ्गारिक खेती प्रणालीलाई जलाधार क्षेत्र आयोजनाले प्राथमिकता दिएको छ । राजधानी नजिकै गएर बास बसी एक छाक प्राङ्गरिक खानेकुरा खाएर मानिसहरू उपत्यका फर्किरहेका छन् । यो क्रमले दुवै बाँध बनेपछि अझ व्यापकता पाउन सक्नेछ ।
जलाधार आयोजनासँगै एकीकृत विकास समाज नेपालले मूलखर्क, कोने, चिलाउने र ओख्रेनीलगायतका क्षेत्रमा अहिले प्राङ्गरिक खेती तथा पर्यटन प्रवद्र्धनका कार्य आशलाग्दो गरी अगाडि बढेका छन् ।
पवित्र पशुपति क्षेत्रभन्दा उत्तरतिर नदी किनार पनि सफा हुँदैछ । त्यहाँ हरियाली पार्क बन्ने पूर्वाधार खडा हुँदैछ । शङ्खमूल र कोटेश्वर क्षेत्रमा नदी किनारा हरियाली भएसँगै चहलपहल बढेको छ । पाँच वर्षअघि कसैले पनि बाग्मती किनारामा रेष्टुरा खुल्ने परिकल्पना पनि गरेको थिएन तर अहिले ठूलो परिवर्तन हुँदैछ ।
बाग्मतीका शिरका दुवै बाँध सफल भए र त्यसले नियमित पानी आपूर्ति गर्न सकियो भने बाग्मतीमा चोभारसम्म नै पानी थुनेर नौका विहारको नयाँ आयाम खोल्न सकिन्छ । त्यसका लागि फोहोर गरेर शनिबार – शनिबार सफा गर्ने अहिलेको संस्कृति होइन, फोहोर नै नगर्ने संस्कार र संस्कृतिको विकास जरुरी छ । त्यसका लागि बाग्मती छेउछाउका सङ्घसंस्थाहरूले अहिले थालेको अभियान सराहनीय छ ।
बाग्मती सुन्दरता अभियानले बाग्मती वरपरका ४५८ वटा संस्था समेटेर मञ्च नै निर्माण गरेको छ । मञ्चका संयोजक उत्तम पुडासैनीका अनुसार आगामी दिनमा फोहोर नै गर्न नदिने गरी अभियान अगाडि बढ्नेछ । कुहिने फोहोरबाट मल बनाएर कौसी तथा करेसाबारी खेतीको प्रवद्र्धन गरिएको छ । फोहोरलाई आयआर्जनको मोहरमा बदल्न थालिएको छ । प्रयास सराहनीय छ र तर त्यसले मात्र पुग्ने छैन । यसलाई संस्कृतिकै रूपमा अगाडि बढाउनु आवश्यक छ ।
बाग्मतीमा बन्ने पूर्वाधार र सुन्दरताले पर्यटकीय गतिविधि बढाउनेछ । तर त्यसका लागि अझै चुनौती छन् । बानेश्वर, शङ्खमूललगायतका कति नदी किनार भूमिहीनका नाममा वर्षौंदेखि अतिक्रमणमा परेको छ, हुकुमबासीले कब्जा गरेर बसेका छन् । कतिसम्म आश्चर्य भने उनीहरूका लागि सुरक्षित आवास बनाएर स्थानान्तरणको प्रयास पनि सफल हुने सकेको छैन । यसमा राजनीतिको अन्तरघुलन सघन हुँदा सरकारीसँगै राजनीतिक प्रयासले मात्र समस्या समाधान हुनेछ ।
बाग्मतीको पशुपतिभन्दा उत्तरी क्षेत्रमा एसियाली विकास बैङ्कको ऋण तथा अनुदान सहयोगमा पूर्वाधार बनिरहेको छ तर त्यस खालको परियोजना सिनामङ्गलभन्दा तल आउन सकेको छैन । भूमिहीनले जग्गा ओगटेर बसेको स्थानमा दातृ निकायले काम गर्दैनन् । भूमिहीनको समस्या समाधान सरकारको काम हो र अब स्थानीय तहले पनि प्रभावकारी काम गर्न सक्छन् ।

(लेखक गोरखापत्रका कार्यकारी सम्पादक हुनुहुन्छ ।)

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना