चक्रपथको सुरक्षा जाँच थालियो

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २८ गते । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तारित चक्रपथको कोटेश्वर–कलङ्की खण्डको सडक सुरक्षा जाँच (रोड सेफ्टी अडिट) आइतबारबाट सुरु भएको छ । सडक विभागले चक्रपथको उक्त खण्डको ‘रोड सेफ्टी अडिट’ सुरु गरेको हो ।
सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले चक्रपथको कोटेश्वर–कलङ्की खण्डको सडक सुरक्षाबारे विभिन्न टिकाटिप्पणी आएकाले आइतबारबाट उक्त खण्डको ‘रोड सेफ्टी अडिट’ सुरु गरिएको जानकारी दिनुभयो ।
सडक विभागले सडक सुरक्षा सम्बन्धी विज्ञ इञ्जिनियरहरूलाई ‘रोड सेफ्टी अडिट’को जिम्मेवारी दिएको उहाँले बताउनुभयो । चीनले माघ १३ गते चक्रपथको उक्त खण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
उहाँले भन्नुभयो, “चक्रपथको ‘रोड सेफ्टी अडिट’ भइसकेपछि तत्काल र दीर्घकालीनरूपमा सुधार गर्नुपर्ने समस्याको पहिचान हुनेछ र त्यसअनुसार काम अगाडि बढाइनेछ ।” तत्काल सुधारको रूपमा थप ‘जेब्रा क्रसिङ’को निर्माण लगायतका आवश्यक स्थानमा पूर्वाधार थप्ने, डिभाइडर राख्ने वा हटाउने काम गरिने छ भने ‘अडिट’ ले दिएको प्रतिवेदनको आधारमा दीर्घकालीन कार्यलाई अगाडि बढाइने उहाँले बताउनुभयो ।
पर्याप्त ठाउँमा ‘जेब्रा क्रसिङ’, आकाशे पुल नभएको, सडक सञ्चालनमा आए पनि ‘सर्भिस ट्रयाक’ निर्माण हुन नसकेको लगायतका गुनासो आमनागरिकको रहेको छ । करिब १० किलोमिटरको उक्त खण्डमा कलङ्की, बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को र कोटेश्वरमा मात्र जेब्रा क्रसिङ रहेका छन् । त्यसैगरी, अहिले कोटेश्वर, ग्वार्को र बागडोलमा मात्र आकाशे पुल निर्माण गरिएको छ ।
चक्रपथको कोटेश्वर–कलङ्की विस्तारका लागि १८ डिसेम्बर २०१२ मा तत्तकालिन भौतिक योजना तथा निर्माण मन्त्रालय र चीनको सङ्घाई कन्सट्रकसन ग्रुप कम्पनी लिमिटेडबीच सम्झौता भएको थियो । सोही सम्झौता अनुरुप चीन सरकारबाट प्राप्त ३१ करोड २० लाख युयान (करीब तीन अर्ब ७५ करोड रुपियाँ)को अनुदान सहयोगमा चक्रपथ विस्तार भएको हो ।

 

 

 

 

 

 

 

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds