• १६ चैत २०८०, शुक्रबार

पशुपन्छी अस्पताल बन्दै

blog

अमरराज नहर्की

तनहुँ, जेठ १८ गते । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ परिसरमा पशु अस्पताल निर्माण भइरहेको छ । पशुपन्छीको रोगको पहिचान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण भइरहेको छ । नेपालकै नमुना पशुपन्छीको अस्पताल बनाउन गरिएको प्रस्ताव स्वीकृत भई काम भइरहेको हो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गरेको प्रस्ताव गण्डकी प्रदेश सरकारले स्वीकृत गरी बजेट विनियोजन गरेकाले काम भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हाल केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र भएकाले नयाँ प्रकृतिका रोग देखिएमा पत्ता लगाउन धेरै समय लाग्ने र काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेकाले अस्पताल निर्माण भइरहेको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले पशुपन्छीको जटिल खालको रोगको उपचार, रोगको अनुसन्धान केन्द्रका रूपमा अस्पताललाई विकास गर्ने जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारको १० करोड रुपियाँको आर्थिक सहयोगमा अस्पताल निर्माण गर्न लागेको श्रेष्ठले बताउनुभयो । 

केन्द्रका अनुसार भवन निर्माणका लागि चितवनस्थित इको बिल्डर्स प्रालिसँग ठेक्का सम्झौतासमेत भइरहेको छ । अस्पताल निर्माणपछि साना तथा ठूला पशु तथा चराचुरुङ्गीको अत्याधुनिक प्रविधिबाट उपचार गर्न सकिने छ । डा श्रेष्ठ भन्नुहुन्छ, “प्रविधि तथा भौतिक पूर्वाधारको अभावले गर्दा कार्यालयको नाम जस्तै काम गर्न कठिन भएको बेला नमुना अस्पतालले नाम जस्तै काम गर्न सहयोग पुग्ने छ ।”

नमुना अस्पताल सञ्चालनमा ल्याएसँगै पशुबाट मानवमा सर्ने विभिन्न रोग न्यूनीकरण गर्न, महामारी फैलिन नदिन तथा पशुधनको सुरक्षा गर्न मद्दत पुग्ने तथा तालिम केन्द्रका रूपमा विकास गर्नसमेत टेवा पुग्ने डा श्रेष्ठले बताउनुभयो । पशुपन्छी पालनमा अग्रणी जिल्लाका रूपमा चिनिएको जिल्लाको अतिरिक्त कास्की, गोरखा र लमजुङका पशुपन्छीका लागि समेत उपचार गर्न सहज हुने केन्द्रले जनाएको छ । बहुवर्षीय योजना अन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लगिने छ । 

भवनको ६० प्रतिशतभन्दा बढी काम भइसकेको केन्द्रले जनाएको छ । पहिलो चरणमा ढलानसहितको तीनतले भवन निर्माण गर्न लागिएको डा श्रेष्ठले जानकारी दिनुभयो । अस्पताल भवन निर्माणपश्चात् आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिद्वारा पशुपन्छीको उपचार गरिने छ ।