• १५ चैत २०८०, बिहिबार

नागरिक सरकार बनाउन जनादेश

blog

दक्षिणपूर्वी एसियामा थाइल्यान्ड मात्र उपनिवेश बन्नबाट जोगिएको संवैधानिक राजतन्त्रात्मक मुलुक हो । त्यहाँ सन् १९३२ देखि राजतन्त्र संवैधानिक भयो । संवैधानिक भए पनि राजाको अधिकार धेरै छ । राजा र राजपरिवारको विरोधमा बोल्न र लेख्न पाइँदैन । राजाको विरोध गर्नेलाई १५ वर्षसम्म जेल सजाय हुन्छ । पछिल्ला दिनमा राजतन्त्रको विरोध हुन थालेको छ । राजतन्त्रको विरोध गर्ने दुई सयभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ । 

थाई राजनीतिमा राजा र सेनाको भूमिका प्रबल रहँदै आएको छ । राजनीतिक दलहरूको भूमिका कमजोर छ । दलहरूलाई सशक्त र प्रभावशाली बन्न दिइएको छैन । जसले गर्दा प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शले काम गर्न पाएको छैन । राजनीतिक दलको प्रभाव बलियो बन्न लागेको आभास हुनेबित्तिकै सेनाले सत्ता हातमा लिने गरेको छ । सेनाले सन् १९४७ देखि सत्ता हातमा लिन सुरु गरेको हो । हालसम्म त्यहाँ १२ औँ पटक सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएको छ । सत्तामा सेनाको यस्तो हालीमुहाली अहिलेको युवा पुस्तालाई मन परेको छैन । त्यही भएर यस पटकको आमनिर्वाचनमा थाई मतदाताले युवा नेता पिटा लिम्जा¥याटको दल मुभ फर्वार्ड पार्टीलाई सरकार बनाउन जनादेश दिएका छन् । तीन वर्षअघि मात्र गठन भएको यो पार्टीप्रति युवा पुस्ताको व्यापक समर्थन रहेको छ । 

थाइल्यान्डको राजनीतिमा ४२ वर्षीय प्रभावशाली नेता पिटाको उदयसँग युवापुस्ता बढी आशावादी बनेको छ । उहाँको मुभ फर्वार्ड पार्टीले आमनिर्वाचनमा सफलता प्राप्त गरेसँगै अब सेना समर्थित नौवर्षे शासन अन्त्य हुने सम्भावना छ । “आज नयाँ दिन हो अनि यो उज्यालो र आशाले भरिपूर्ण छ,” निर्वाचन परिणाम आएपछि पिटाले भन्नुभयो । यस पटक सेनाबाट समर्थनप्राप्त शासनलाई मतदाताले अस्वीकार गरेका छन् । आमनिर्वाचनमा मतदाताले अन्य दलभन्दा मुभ फर्वार्ड पार्टीलाई धेरै मत र सिट दिएका छन् । राजधानी बैङ्ककमा उहाँको पार्टीले ३३ मध्ये ३२ सिट जितेको छ ।

मे १४ मा सम्पन्न आमनिर्वाचनमा पाँच सय सिटको तल्लो सदनमा उहाँको पार्टीले १५१ सिट जितेको छ । वर्तमान प्रधानमन्त्री प्रयुथ चानओचाको युनाइटेड थाई नेसन पार्टीले मात्र २३ सिटमा चित्त बुझाउनु परेको छ । २००६ को सैन्य ‘कु’ मा सत्ताच्युत गरिएका थाक्सिन सिनावात्राको फिउ थाई पार्टी दोस्रो स्थानमा आएको छ । सो पार्टीका नेता चोलानन श्रीकाएयुले प्रधानमन्त्रीमा पिटालाई नै समर्थन गर्ने घोषणा गर्नुभएको छ । पिटाले आठ दलीय गठबन्धन मिलाएर सरकार बनाउने बताउनुभएको छ । यो गठबन्धनसँग पूर्ण बहुमत रहेको घोषणा गरिएको छ । आफूहरूसँग ३१३ सिट रहने पिटाको भनाइ छ । 

पिटा मुभ फर्वार्ड पार्टीका नेता हुनुहुन्छ । यो पार्टी उदार विपक्षी पार्टी हो । पिटाको जन्म राजनीतिक सम्पर्कको एउटा धनी परिवारमा भएको थियो । उहाँका बुवा पोङसाक कृषि मन्त्रालयका सल्लाहकार हुनुहुन्थ्यो भने काका पदुङ अर्बपति तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राका सहयोगी । हार्वर्ड युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय छात्रवृत्ति पाउने पहिलो थाई विद्यार्थी पिटा ११ वर्षको हुँदा न्युजिल्यान्ड जानुभएको थियो । त्यहाँ कृषि कर्म गर्ने स्थानीय एक परिवारसँग बसेर अध्ययन गर्नुभयो । त्यतिबेलादेखि नै राजनीतिमा उहाँको रुचि जागेको थियो । न्युजिल्यान्डबाट फर्केपछि उहाँले बैङ्ककस्थित ट्यामसाट विश्वविद्यालयबाट स्नातक र हार्वर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गर्नुभयो । त्यसबाहेक उहाँले एमआइटीबाट एबिए पनि गर्नुभयो । 

पछिल्ला दिनमा उहाँ थाई युवामाझ लोकप्रिय बन्नुभएको छ । टिकटकमा उहाँ झनै भाइरल हुनुहुन्छ । उहाँको मुद्दा छ – सैन्यकरणको अन्त्य, एकाधिकारको अन्त्य र विकेन्द्रीकरण । राजनीतिमा प्रवेश गर्नुअघि उहाँले बहुराष्ट्रिय कम्पनीमा बिजनेस एक्जिक्युटिभका रूपमा काम गर्नुभयो । २०१७ देखि २०१८ सम्म उहाँ थाइल्यान्डको राइड तथा फुड डेलिभरी एप ग्य्राब थाइल्यान्डको कार्यकारी निर्देशक बन्नुभयो । २००६ मा बुवाको निधनपछि टाट पल्टिन लागेको एग्रिफुड नामक कम्पनीको सिइओ भएर पनि उहाँले काम गर्नुभयो ।

उहाँले अभिनेत्री चुटिमा तिपनार्टसँग २०१२ मा विवाह गर्नुभयो तर दुई वर्षपछि सम्बन्धविच्छेद भयो । उहाँकी एक छोरी छन् । अहिले पिटा सात वर्षे छोरी पिपिमलाई हुर्काउँदै हुनुहुन्छ । उहाँ हरेक कार्यव्रmममा छोरीलाई पनि लिएर जाने गर्नु हुन्छ । पटक पटक सैनिक ‘कु’ भएको यो देशमा सेनाको शासनले देश कमजोर भएको र नागरिक अधिकार गुमेको आमयुवापुस्ताको बुझाइ छ । यस पटकको यो चुनावी परिणाम यो ठुलो उपलब्धि होे । चुनाव सम्पन्न भए पनि सरकार बनाउन त्यहाँ अझै समय लाग्ने देखिएको छ । देशको शासनसत्तामा अहिले पनि सेनाको हालीमुहाली भएकाले नयाँ नागरिक सरकार गठनमा बाधा आउन सक्ने सम्भावना अन्त्य भएको छैन । निर्वाचन परिणामले पिटा र उहाँको पार्टीमा सबैको ध्यानाकृष्ट भएको छ । परिवर्तनको भोक भएका र वर्षौंको सैन्य शासनबाट भ्रममुक्त भएका युवा मतदाताले सो पार्टीलाई रुचाएका छन् ।

घोषित रूपमा सन् २०१९ मा फ्युचर फर्वार्ड पार्टीको सदस्यका रूपमा संसद्मा निर्वाचित भएसँगै पिटाले आफ्नो राजनीतिक जीवनयात्रा सुरु गर्नुभएको हो । सो पार्टीको गठन सेनाको कट्टर आलोचक मानिने अर्बपति ट्यानाटोर्न जुङ्रुङ्किटले गर्नुभएको थियो । सन् २०१९ को चुनावमै राम्रो परिणाम हात पारेको उक्त पार्टी सेनासँगको विवादका कारण एक वर्षमै विघटन भयो । ट्यानाटोर्नलाई सांसद बन्न अयोग्य घोषणा गरियो । त्यसलगत्तै उक्त दलको उत्तराधिकारीका रूपमा मुभ फर्वार्ड पार्टी गठन भयो र पिटाले त्यसको नेतृत्व गर्नुभयो । 

फ्युचर फर्वार्ड पार्टीमाथि प्रतिबन्ध लागेपछि संविधान संशोधन हुनुपर्ने, नयाँ निर्वाचन हुनुपर्ने र अधिकारकर्मी र राज्यका आलोचकमाथिको दुव्र्यवहार अन्त्य हुनुपर्ने मागसहित थाइल्यान्डका सडकमा हजारौँ युवा ओर्लिए । पिटाले युवाको आवाज सडकदेखि सदनसम्म घन्काउनुभयो । सदनमा उहाँलाई उदीयमान नेताका रूपमा हेरियो । राजनीतिमा सेनाको प्रभाव भङ्ग गर्ने र राजतन्त्रसँग सम्बन्धित कानुन सुधार गर्ने प्रतिबद्धताले पिटामा लोकप्रियता चुलियो । यस पटक पनि पिटाले राजद्रोहसम्बन्धी कानुनमा सुधार गर्नुपर्ने आफ्नो धारणा दोहो¥याउनुभएको छ । “हामी त्यसलाई यो संसद्बाट पारित गर्छौं । राजतन्त्र र सर्वसाधारण जनताबिच कस्तो सम्बन्ध हुनु पर्छ भन्नेबारे यसलाई परिपक्व, पारदर्शी ढङ्गबाट संसद्मा बृहत् छलफल गर्छौं,” उहाँले भन्नुभयो । 

सेना बाधक बनेन भने अब पिटा देशको ३० औँ प्रधानमन्त्री बन्नुहुने छ । “हाम्रा सपना र आशा समान छन् । अनि सँगै मिलेर हाम्रो प्यारो थाइल्यान्ड राम्रो बन्न सक्छ र आजैदेखि काम गरे परिवर्तन सम्भव हुने हामी विश्वास गर्छौं,” उहाँले जोड दिनुभएको छ । पिटाले आफू प्रधानमन्त्री बन्नेमा ढुक्क रहेको बताइरहँदा पनि त्यहाँ प्रधानमन्त्री बन्न चुनाव जित्नु मात्र पर्याप्त नहुन सक्छ । संवैधानिक राजतन्त्र भए पनि थाइल्यान्डमा राजपरिवारको आलोचना गर्दा १५ वर्षसम्म जेल सजाय हुन सक्छ । 

गत केही वर्षमै दुई सयभन्दा बढी मानिसलाई यही कानुनका आधारमा मुद्दा चलाइएको छ । पिटा र उहाँको पार्टीद्वारा त्यो कानुन परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । जसका कारण युवा उहाँप्रति आकर्षित छन् तर सो कानुनलाई बदल्नै हुन्न भन्नेहरू पनि छन् । चुनावमा तेस्रो स्थानमा आएको ७० सिट भएको भूमजय थाई पार्टीले यो कानुन बदल्न तयार नरहेको भन्दै गठबन्धन छाडेको थियो । यसैकारण पिटाको गठबन्धनसँग पर्याप्त बहुमत भए पनि उनलाई प्रधानमन्त्री बन्न नदिने खेल हुने चिन्ता धेरैमा छ । 

थाइल्यान्डमा सन् २०१४ को सैन्य ‘कु’ पछि बनाइएको संविधान अनुसार पाँच सय सदस्यीय तल्लो सदन र २५० सदस्यीय सिनेटले संयुक्त रूपमा प्रधानमन्त्रीको चुनाव गर्नु पर्छ तर अहिले सिनेटका सबै सदस्य ‘कु’ पछि सत्ता हत्याएका जर्नेलहरूले नियुक्त गरेका हुन् । त्यसैले संयुक्त रूपमा मतदान हुँदा आमनिर्वाचन जितेकै नेता प्रधानमन्त्री चुनिने निश्चित भने छैन । 

वर्तमान प्रधानमन्त्री तथा तत्कालीन सेना प्रमुख प्रयुथको नेतृत्वमा भएको सैन्य ‘कु’ पछि नौ वर्ष थाइल्यान्डको शासनमा सेनाकै हालीमुहाली चल्यो । अहिले मुभ फर्वार्ड पार्टीको प्रगतिशील एजेन्डाहरूले सैन्य सत्ताबाट दिक्क भएका युवापुस्ताको प्रतिनिधित्व गरेको छ । राजा र सेनासम्बन्धी कानुन परिवर्तन गर्न पिटाले साझा धारणा बनाउन गठबन्धनबिच सम्झौतामा हस्ताक्षर हुने बताउनुभएको छ । 

पिटा र उहाँको गठबन्धनले चाहेर मात्र राजा र सेनासम्बन्धी कानुन परिवर्तन गर्न सजिलो छैन । यसका लागि राजा र सेना पनि तयार हुनु पर्छ । सेना राजनीतिबाट अलग हुन नचाहेको यो अवस्थामा पिटाले नयाँ सरकार बनाए पनि सहज रूपले काम गर्न सेना नै बाधक बन्न सक्ने सम्भावना बढी छ । सन् २००१ मा अर्बपति थाक्सिन सिनावात्राको फिउ थाई पार्टीले अत्यधिक मतले चुनाव जित्यो । थाक्सिन प्रधानमन्त्री बन्नुभयो । उहाँले राजा र सेनासम्बन्धी कानुन परिवर्तन गर्न खोज्नु भयो तर सेना तयार भएन । सन् २००६ मा सेनाले ‘कु’ गरी उहाँलाई अपदस्थ ग¥यो । 

सन् २०११ मा पनि थाक्सिनकै फिउ थाई पार्टी विजयी भयो । उहाँकी बहिनी यिन्लक सिनावात्रा प्रधानमन्त्री बन्नुभयो तर तीन वर्षमै सेनाले उहाँलाई अपदस्थ गरी सत्ता हातमा लियो । थाई राजनीतिको मुख्य खेलाडी सेनालाई राजनीतिबाट अलग नगरेसम्म त्यहाँ राजनीतिक दलहरू बलियो हुने अवस्था छैन । दलहरू बलिया नभएसम्म प्रजातन्त्र र जनाधिकार दिगो हुँदैन । 

लेखक गोरखापत्रका नायब कार्यकारी सम्पादक हुनुहुन्छ ।  

Author

रामप्रसाद आचार्य