• ८ वैशाख २०८१, शनिबार

इन्धन भण्डारण : मधेशमा धेरै, कर्णालीमा न्यून

blog

काठमाडौँ, जेठ १८ गते  । पेट्रोलियम पदार्थको भण्डारण क्षमता सबैभन्दा धेरै मधेश प्रदेशमा र न्यून कर्णाली प्रदेशमा रहेको छ । 

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपाल आयल निगमका प्रादेशिक भण्डारण केन्द्रमध्येमा मधेश प्रदेशमा १२ दिनसम्मको माग धान्नका लागि २४ हजार ३६२ किलोलिटर पेट्रोलियम पदार्थको भण्डारण क्षमता रहेको छ । कर्णाली प्रदेशमा दुई दिनसम्मका लागि १२६ किलोलिटर भण्डारण क्षमता रहेको छ । यस्तै बागमती प्रदेशमा १३ दिनको माग धान्ने गरी २२ हजार २८८ किलोलिटर भण्डारण क्षमता रहेको छ । यस्तै लुम्बिनी प्रदेशमा पाँच दिनका लागि सात हजार ९४८ किलोलिटर भण्डारण क्षमता रहेको छ । यस्तै गण्डकी प्रदेशमा ११ दिनलाई पुग्ने तीन हजार ५०४ किलोलिटर भण्डारण क्षमता रहेको छ । 

यस्तै सुदूरपश्चिम प्रदेशमा पाँच दिनलाई पुग्ने गरी एक हजार ८३९ किलोलिटर रहेको छ । सातै प्रदेशमा ६८ हजार ७९७ किलोलिटर इन्धन भण्डारण क्षमता रहेको छ । हाल भएको भण्डारण क्षमताले एक हप्तालाई मात्र माग धान्ने क्षमता रहेको छ । बजारमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन निगमले विभिन्न स्थानमा भण्डारण गृह निर्माण प्रव्रिmया अगाडि बढाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत न्यूनतम तीन महिनालाई पुग्ने गरी भण्डारण क्षमता वृद्धि गर्ने घोषणा गरेको छ । 

नौ हजार मेट्रिक टन ग्यास भण्डारण

मुलुकभर ६१ ग्यास उद्योगमा नौ हजार मेट्रिक टन ग्यास भण्डारण क्षमता रहेको छ । जसमध्ये बागमती प्रदेशमा २६ ग्यास उद्योग सञ्चालनमा रहेका छन् भने कर्णाली प्रदेशमा कुुनै पनि ग्यास उद्योग सञ्चालन छैन । 

मुुलुकभर ६१ उद्योगमा नौ हजार ११७ मेट्रिक टन ग्यास भण्डारण गर्न सक्ने क्षमता रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । बागमती प्रदेशमा कुल भण्डारण क्षमता ५० प्रतिशतभन्दा बढी रहेको छ । 

बागमती प्रदेशमा चार हजार ८०६ मेट्रिक टन, लुम्बिनी प्रदेशमा एक हजार ११६ मेट्रिक टन, मधेशमा एक हजार १०४ मेट्रिक टन, कोशी प्रदेशमा एक हजार ३६ मेट्रिक टन, गण्डकीमा ८५५ मेट्रिक टन र सुदूरपश्चिममा दुई सय मेट्रिक टन ग्यास भण्डारण क्षमता रहेको छ । ग्यास भण्डारण क्षमता निजी क्षेत्रसँग मात्र रहेको छ । निगमसँग ग्यास भण्डारण क्षमता छैन ।