उत्पादनमुखी कामबाट मात्र समृद्धि

naran bhatta phdडा. नारायणप्रसाद भट्ट

 

चीन, कोरिया, भारत आदि लगायतका देशले सिञ्चाइको व्यवस्थापन गर्न नहरलाई नै प्रमुख मानी आधुनिक प्रविधिको प्रयोगमा जोड दिने गरेकाले कृषि उत्पादकत्वमा उल्लेख्य फड्को मारेका छन् । तर, हामी भने सिञ्चाइको अभाव एवम् आकाशेपानीको आसैआसमा महँगो बीउ र मल माटोमा फाल्नुपर्ने बाध्यता छ ।  अब पनि यस्तो अवस्थामा कति समय व्यतीत गर्ने ? भन्ने प्रश्न अहम् बन्न पुगेको छ ।
दुईतिहाइ कृषिमा आधारित जनताले आफ्नो दुईतिहाइ समय बेइलम (मौसमी बेरोजगार) भएर नै बिताउँछन् । यस्ता व्यवधानको अन्त्य नभएसम्म कृषि उत्पादन बढ्न सक्दैन, यसले त कृषिमा निर्भरता होइन, प्रगतिमा थप अल्झन हुनेछ । यस्तो प्रवृत्तिले आमकिसानको जीवनमा परिवर्तन आउँदैन र गरिबी निवारण हुन सक्दैन । जसले गर्दा आमउपभोक्ताहरू खाद्यान्न मूल्य वृद्धिको भार खेप्न बाध्य हुनेछन् ।
कृषि आर्थिक विकासको मेरुदण्ड भनिए पनि कृषि पेसालाई उचित स्थान नदिनु नै समस्याको मूल जड देखिएको छ । नेपालको योजना हेर्दा कृषि जन्य व्यवसायमा अझ पछिसम्म पनि आकाशेपानीको भर पर्नुपर्ने बाध्यता देखिएको छ । योजनाले समयलाई पछ्याउन सकेको देखिँदैन । अझै पनि कृषिलाई केवल साहित्यमा, कागजी नीति नियममा पट्याउने र थन्क्याउने प्रचलन कायमै छ । हजारौँ युवा खाडी मुलुकमा रगत पसिना बगाउन बाध्य हुनुको कारणमध्ये सिञ्चाइयुक्त खेती प्रणाली नहुनु पनि एक हो । जति ठूलो गफ हाँके पनि हाम्रो देशको कृषि प्रणाली निर्वाहमुखी तहभन्दा माथि उठ्न सकेको छैन । उत्पादनका सामग्री पनि आयात गर्नुपर्ने र खाद्यान्न पनि आयात गर्नुपर्ने हुँदा हाम्रो कृषि पद्धति उल्टो दिशामा दौडिरहेको भान हुन्छ । त्यसको समाधानतिर योजनाविद्हरू पूर्ण रूपमा लाग्नुपर्ने आवश्यकता छ । सीमित कृषकलाई कृषि उपकरण, औजार, बीउविजन तथा मलका लागि पैसा बाँडेर कृषिलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने भ्रम नराखी त्यसभन्दा माथि उठेर आत्मनिर्भर उन्मुख कृषक समुदाय बनाउन सिञ्चाइका योजना बनाउनुपर्दछ । यसर्थ, आजको आवश्यकता पूरा गर्न उत्प्रेरणा दिनेखालको रचनात्मक कार्यक्रम बनाई उत्पादित वस्तुलाई उचित प्रोत्साहन दिनुपर्दछ ।
राष्ट्रमा “समृद्ध नेपाल सुखी नेपाली” को नाराले कृषिमा आधुनिकीकरण गरी उत्पादकत्व बढाउन सकेमा मात्र यस नाराले मूर्त रूप लिनेछ । तर, कृषि उत्पादन सामग्रीहरूको उच्चतम् प्रयोगमा आमनेपालीले परिश्रम गरेर मात्र उत्पादकत्व बढाउनुपर्नेछ । दुईतिहाइ कृषि पेसामा आश्रित जनसमुदाय पनि एकवर्षे मौसमी खेतीमा मात्र परिश्रम गर्न पाउँछन् र बाँकी दुई मौसम (हिउँद र वसन्त) मा बेरोजगार नै बस्न बाध्य छन् । त्यो अभाव पूरा नगरीकन “समृद्ध नेपाल सुखी नेपाली” कसरी सम्भव होला र ?
कृषिमा आधुनिकीकरण हुनुपर्ने भनेको कृषि यन्त्र (ट्र्याक्टर) को मात्र प्रयोगमा होइन, बरू र भरपर्दो सिञ्चाइ, असल बीउ, मल आदि समयमै उपलब्ध हुनु भन्ने बुझिन्छ । त्यसैले कृषि उत्पादनमा भरपर्दो र असल विधि समयमै उपलब्ध हुनुपर्दछ । किसानलाई कृषि उत्पादकत्व बढाउन प्रोत्साहन गर्नुपर्दछ । हामीले कृषि क्षेत्रमा बेहोर्दै आएको प्रमुख समस्या भनेकै समयमा बीउ, मल, सिञ्चाइ आदि नपाउनु नै हो । यसका साथै अविश्वासिलो सिञ्चाइ व्यवस्था र आकाशे÷वर्षे खेती प्रणाली पनि उत्तिकै कारक देखिन्छन् ।
नेपाली युवा अन्य विभिन्न मुलुकमा सिकेका कृषि जन्य आधुनिक प्रविधि, सीपलाई आफ्नो देशमा भिœयाउन र सदुपयोग गर्न चाहन्छन् । जसलाई राज्यले व्यवस्थित गर्न सक्नुपर्दछ । श्रमजीवी जनता सानोतिनो लाग्ने “मजदुर काम” नै नपाएर चिन्तित छन् । राष्ट्रमा “समृद्ध नेपाल सुखी नेपाली” को नाराअन्तर्गत नयाँ–नयाँ योजनामा काम गर्न पाउने आसमा रहेको छन् । तर, सरकार बेरोजगार भत्ता बाँड्न हतार गर्दै छ । यसरी आमश्रमजीवीलाई मजदुरी गर्ने मौका नदिने र सबै विकास योजना लथालिङ्ग पारेर बेरोजगारीको भत्ताचाहिँ किन बाँड्न खोजिएको हो ? बहुमुखी योजना द्रुत मार्गबाट कार्यान्वयन गरेर त्यस कार्यका लागि त्यस योजना क्षेत्रका युवालाई कमसेकम मजदुरी गर्ने मौका दिलाउनुपर्नेछ । समृद्धि र मजदुरी गर्ने मौका दिलाउनु बेरोजगार भत्ता बाँड्नुभन्दा श्रेयस्कर हुनेछ ।
यो अवस्थाबाट जोगाउन राष्ट्रले कृषि उत्पादनका लागि रचनात्मक योजना सुरू गर्दै छ भन्ने भावना जगाउन सकेमात्र आमनेपालीको मन मर्नबाट बचाउन सकिनेछ ।

(लेखक, सिञ्चाइ प्रणालीमा स्थायित्व र सुशासन विषयमा विद्यावारिधि हुनुुहुन्छ । ) 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना