संसारलाई गाँज्दै डिमेन्सिया

सामान्य भाषामा भन्नुपर्दा बुढ्यौलीमा असामान्य तवरबाट स्मृति हराउँदै जाने तथा दैनिक क्रियाकलापसमेत गर्न असमर्थ हुने रोग डिमेन्सिया अहिले संसारकै जटिल रोगका रूपमा देखापर्दै छ । लगभग उपचार असम्भव तथा निकै महँगो मानिने यो रोगबाट संसारभरिका झन्डै पाँच करोड मानिस पीडित छन् । यो रोगका विभिन्न प्रकारका साथै देखापर्ने जटिलता, लक्षण, रोकथामबारे नेपाल ओपन युनिभर्सिटीमा आबद्ध डा. कृष्णप्रसाद पाठकको आलेख । 

डिमेन्सिया रोग अहिले विश्वभरि नै एक जटिल समस्याका रूपमा देखापरिरहेको छ । सामान्य भाषामा भन्नुपर्दा बुढ्यौलीसँगै विस्मृति वा बिर्सने रोग अर्थात् आफ्ना दैनिक क्रियाकलाप गर्नसमेत असमर्थ हुनुलाई नै डिमेन्सिया रोगका रूपमा बुझिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार हाल विश्वमा झन्डै पाँच करोड मानिस यो रोगबाट पीडित छन् । सन् २०३० सम्म यो सङ्ख्या साढे सात करोड पुग्ने अनुमान गरिएको छ । यस्तै सन् २०५० सम्म यो सङ्ख्यामा तीन गुणाले बढ्न सक्ने शङ्का पनि डब्लुएचओको छ । यो रोगलाई महँगो रोगका रूपमा लिइन्छ र हाल विश्वव्यापी रूपमा प्रतिवर्ष ८१८ अर्ब अमेरिकी डलर यसमा खर्च भइरहेको तथ्याङ्क पनि स्वास्थ्यसम्बन्धी यो विश्व निकायले सार्वजनिक गर्नुका साथै आउँदा दिनमा यो खर्चमा निकै बढोत्तरी हुने पनि जनाएको छ । प्रायः निको नहुने रोगको श्रेणीमा पर्ने डिमेन्सिया रोगको सुरुमा नै निदान गर्न सकिए यसका रोगीको जीवनस्तरमा निकै सुधार्न सकिनेमात्र होइन, परिवारलाई समेत यी रोगीलाई बोझका रूपमा लिने अवस्थाबाट मुक्ति मिल्छ ।
सामाजिक तवरमा डिमेन्सियाका रोगी तथा उनीहरूका परिवारलाई न्यूनतम आधारभूत अधिकारमा समेत विभेद गरिन्छ, यसैले पनि यस्ता रोगीप्रतिको विभेद तथा उनीहरूको जीवनस्तरमा सुधार ल्याउनका खातिर पनि समाजका प्रत्येक तह र तप्कामा यस रोगका सम्बन्धमा सचेतना तथा समझदारीको विकास गर्नु अति जरुरी छ । यस रोगको नियन्त्रण तथा रोकथामका लागि अझै बढी अध्ययन तथा अनुसन्धानको जरुरतका साथै डिमेन्सियालाई जनस्वास्थ्यको उच्च प्राथमिकतामा राखिनु पनि त्यत्तिकै महŒवपूर्ण छ ।

डिमेन्सिया के हो ?
डिमेन्सिया रोगको समस्या बढ्दै गएका कारण यो कस्तोखालको रोग हो र यसको उपचारमा कसरी सफलता पाउन सकिन्छ भन्ने बुझ्न जरुरी छ । डिमेन्सिया भन्नेबित्तिकै यो एउटा झुन्ड विशेषता÷लक्षण बोकेको रोगलाई बुझ्नुपर्छ, जसले दिमागमा असर गर्दछ । यो रोग लागेको थाहा पाउने प्रमुख सङ्केत स्मरण शक्तिले दिन्छ । साथै व्यवहारजन्य परिवर्तन, व्यक्तिगत क्रियाकलापमा परिवर्तन देखिन्छ । उमेरको वृद्धिसँगै स्वाभाविक स्मरण शक्तिमा परिवर्तन त देखिन्छ नै तर डिमेन्सियाले व्यक्तिका क्षमता र उसले गर्ने दैनिक क्रियाकलापमा समेत ह्रास गरिदिन्छ ।
डिमेन्सिया विभिन्न शारीरिक गडबडीका कारणले हुने गर्दछ । त्यसमध्ये केही मात्रै रोकथाम गर्न सकिन्छ । सुरुवाती अवस्थामा बिरामीको शारीरिक अथवा मनोवैज्ञानिक अवस्था जस्तो कि उच्च ज्वरो, डिप्रेसन अथवा सामान्य टाउको दुख्नेजस्ता कारणबाट उत्पन्न समस्यालाई सुधार्न तथा उपचार गर्न सकिन्छ तर धेरैजसो डिमेन्सियाको हालसम्म सफल उपचार देखिएको छैन । एउटा अनुसन्धानमा त करिब ५० प्रतिशतभन्दा माथि त रोगको निदान हुने भए पनि त्यसको उपचार हुन नसक्ने देखाएको छ ।

डिमेन्सियाका लक्षण 
डिमेन्सिया रोग लागे नलागेको सम्बन्धमा विभिन्न चरणका लक्षणहरू देखापर्छन् । यीमध्ये निम्न सात चरणको लक्षणका आधारमा बिरामीलाई डिमेन्सिया रोग लागेको नलागेका निक्र्यौल गर्न सकिन्छ ।
पहिलो चरण ः डिमेन्सिया रोग खुट्याउने खासै लक्षणहरू हुँदैन तथापि बिरामीले कहिलेकाहीँ केही सामान्य तथा मनोवैज्ञानिक दृष्टिकोणबाट असहज लाग्ने व्यवहार देखाउँछन् ।
दोस्रो चरण ः यस चरणमा बिरामीले केही हल्का रूपमा व्यवहारजन्य अवरोध आउँछ, जसलाई डिमेन्सिया रोगको प्रारम्भिक चरणका रूपमा लिइन्छ ।
तेस्रो चरण ः यस चरणमा रोगीले अलि बढी दिमागी समस्या देखाउँछन् । आफ्नो काम आफैँले गर्न सके पनि लथालिङ्गपारामा गर्ने, योजनाबद्ध दैनिकी सञ्चालन गर्न नसक्ने, पटक–पटक भनाइ, बोलाइ, गराइ दोहोरिने र तत्कालका कुरा छिट्टै बिर्सने हुन्छ ।
चौथो चरण ः क्रमिक रूपमा यस चरणमा रोगले च्याप्दै लैजान्छ र रोगीले एक्लै यात्रा गर्न नसक्ने अवस्थाको सिर्जना हुन्छ ।
पाँचौँ चरण ः आफ्नो फोन नम्बर नसम्झने, परिचित व्यक्तिलाई चिन्न मुस्किल हुने, कपडा उल्टोसुल्टो लगाउने र अरूको सहयोगविना केही गर्न नसक्ने अवस्थाका लक्षण पाँचाँै चरणमा पाइन्छ ।
छैटौँ चरण ः यस चरणमा रोगीको बिर्सने गति धेरै हुन्छ । आफ्नो श्रीमतीको नाम भन्न नसक्नेसम्मको अवस्था यस चरणमा सिर्जना हुन्छ । भावनात्मक तथा व्यक्तिगत विषयवस्तुमा समेत परिवर्तन आइरहन्छ ।
सातौँ चरण ः यस रोगको सातौँ तथा असाध्यै लक्षणका रूपमा रोगीले हो र होइनको भाषा बोल्ने, बोल्न सक्ने तर हिँड्न नसक्ने तथा ओछ्यानमा सुतेर पूरै समय बिताउने हुन्छ । साथै सोच्ने शक्ति पूरै गुमाउने अवस्थामा बिरामी पुग्दछन् । विस्मृति रोग अर्थात् डिमेन्सियाको सही निदानका लागि यी सात चरणका लक्षण महŒवपूर्ण मानिएको छ ।
यी लक्षणका साथै अन्य छवटा क्रियाकलापलाई मूल्याङ्कन गर्दा डिमेन्सिया रोगका सम्बन्धमा अझ बढी प्रस्ट हुन सकिन्छ ।
बिरामीले गरिआएको दैनिकीका सामान्य काम जस्तो खाना पकाउने, चिया पकाउनेजस्ता काम गर्न सक्दैनन् ।
बिरामी पटक–पटक बिराउने, हराउने, भर्खर गरेको कुरा बिर्सने, आफूले राखेको सामान थाहा नपाउने तथा पटक–पटक एउटै कुरा दोहो¥याउने गर्दछन् ।
आफ्ना खातापाता, पैसाको सही गणना, कुराकानी गर्दा तार्किकतामा ह्रास, पहिले लिइआएको जिम्मेवारीको गलत निर्णय तथा कमजोर निर्णय गर्न पुग्दछन् ।
भाषा छनोट, सिलसिला तथा शब्द प्रयोगमा कठिनाइ, छलफल तथा अन्य समुदायका क्रियाकलापमा अक्षम हुन पुग्दछन् ।
ड्राइभिङ गर्न, बस चढ्ने ठाउँसम्म जान नसक्नु, धारा बन्द नगर्ने, लेख्न, पढ्न नसक्ने हँुदै जान्छन् ।
व्यवहारजन्य क्रियाकलापमा धेरै नै गडबढी आउने, दिक्क मान्ने, अल्छीपन देखाउने, कम जिम्मेवारी वहन गर्ने, शङ्कालु हुने, आवाज तथा प्रकाशसँग बढी संवेदनशील हुँदै जान्छन् ।
कुनै पनि व्यक्तिले यस्ता शारीरिक तथा मानसिक क्रियाकलाप देखाउन थाले भने सो व्यक्तिमा डिमेन्सिया रोगबाट पीडित भएको भनेर छुट्याउन सकिन्छ । यस्ता लक्षण तथा क्रियाकलापका आधारमा डिमेन्सिया रोग हो भनेर निक्र्यौल भएपछि डिमेन्सियामा पनि कुन प्रकारको डिमेन्सिया हो त भने छुट्याउनुपर्ने हुन्छ । के त्यो व्यक्ति अल्जाइमर्सको बिरामी हो ? वा भास्कुलर डिजिज, लेकिबडिज, क्रुटेटिडट जाकोब डिजिज कुन प्रकारको डिमेन्सिया हो भनेर किटान हुनु जरुरी हुन्छ । नत्र भने बिरामीको सही निदान नभई रोगमा थप जटिलता सिर्जना हुन सक्छ । डिमेन्सियाका साथै अल्जाइमर एउटा प्रमुख रोग हो । डिमेन्सियाका करिब ६०÷७० प्रतिशत लक्षण अल्जाइमर्स रोगमा देखिन्छ । डिमेन्सिया अरू धेरै प्रकारका हुन्छन् ।

डिमेन्सियाका प्रकार
डिमेन्सिया विभिन्न प्रकारका हुन्छन् । कुन प्रकारको डिमेन्सिया हो र यसलाइ कसरी चिन्ने ? भन्ने कुरा थाहा पाउनु अति जरुरी हुन्छ ।
भासकुलर डिमेन्सिया ः यसमा बिरामीको तार्किकतामा ह्रास, योजनामा कमी, दिग्भ्रमित हुने, ध्यान एकाग्र नहुने, विचार तथा विषयवस्तु विश्लेषण गर्न मुस्किल हुने, हिँडाइको प्रकृति फरक हुने, पिसाब पटक–पटक लागेको अनुभूति हुने, बौद्धिक खुबीमा ह्रास आउने, कुनै पनि दिमागी काममा तादात्म्यता नहुने तथा बाहेक पिसाबको गडबडी, मुख फुल्ने, कमजोरी, प्यारालाइसिसजस्ता लक्षण देखिन्छ । अल्जाइमर्सपछिको मुख्य रूपमा भेटिने रोग भास्कुलर डिमेन्सिया हो । पटक–पटक दिमागमा चोटपटक लाग्नाले, कार्डियाक समस्याजस्ता कारणले भास्कुलर डिमेन्सिया हुने गर्दछ । यस्तो केसमा १० देखि १२ प्रतिशत डिमेन्सिया लक्षण देखापर्ने गर्छन् ।
फ्रन्टोटेम्पोरल डिमेन्सिया ः यसलाई पिक डिजिजको नामले पनि चिनिन्छ । यसमा डिमेन्सियाको पाँच प्रतिशत लक्षणहरू मिल्दछन्, जुन अलि युवा अवस्थामै सुरु हुन्छ । यसले ब्रेनको अघिल्लो भागमा आक्रमण गर्दछ । योजना बनाउन नसक्नु, व्यक्तिगत कुरामा परिवर्तन आएको गएको नबुझ्नु, भाषा शब्द चयनमा कठिनाइ हुनु आदि । यो डिमेन्सियामा दुई वर्षदेखि १० वर्षसम्म अन्योलमा रही अन्ततः बिरामीको मृत्यु हुन्छ ।
ल्यु बडिज डिमेन्सिया ः यसमा डिमेन्सियाको १० प्रतिशत लक्षण मिल्दछन् । पार्किन्सन तथा अल्जाइमरका लक्षण पनि बिरामीले देखाउँछन् । त्यसैले यसलाई मिश्रितखालको डिमेन्सिया पनि भनिन्छ । अन्योल, भ्रमयुक्त कुरा गर्नु, दोष लगाउनु (चोरी गर्न आउँदै छ, नराम्रो सोच्दै छ आदि) बसाइ, हिँडाइ तथा बोलीको सन्तुलन नहुनु, मांसपेशी कडा हुनु, शारीरिक हाउभाउ राम्रो नदेखिनुजस्ता लक्षण यस रोगमा देखापर्दछ ।
हन्टिङ्गटन्स डिजिज ः यसलाई दुर्लभ रोग मानिन्छ । मानिसमा ३०÷४० वर्षको उमेरबाट सरु हुन्छ । यस रोगले केन्द्रीय स्नायु प्रणालीमा असर पार्दछ । अनियन्त्रित चाल, व्यवहारमा परिवर्तन, चिडचिडाहट, झट्का, बटारिनु, भ्रम, अन्योल, थकित शरीरजस्ता लक्षण बिरामीमा देखिन्छ । यो रोगको पहिचान गर्न निकै लामो समयसम्म पनि प्रतीक्षा गर्नुपर्ने हुन सक्छ ।
म्याडकाउ डिजिज ः यो पनि दुर्लभ घातक दिमागी रोग हो । यसले छिटो दिमागलाई प्रभाव पार्दछ । १० लाखमा एक÷दुईजनालाई यो रोग भएको पाइन्छ । बहुलाएको गाई, गोरुको मासु खाँदा तथा दूध खाँदा यो रोग हुने गर्दछ भनिन्छ ।

परीक्षण विधि
डिमेन्सिया रोगको परीक्षण विधि अहिलेसम्म यकिन हुन सकेको छैन । अहिलेसम्म ठ्याक्कै यो रोगको परीक्षण विधिबाट निदान हुन्छ भन्ने प्रविधिको विकास भएको छैन । त्यसैले चिकित्सकले रोगीको विगतको स्वास्थ्य अवस्था, शारीरिक परीक्षण, प्रयोगशाला परीक्षण तथा रोगीको दैनिक विचार तथा व्यवहारमा आएको परिवर्तनको अध्ययन गरेर यो रोगको निदान गर्छन् ।
त्यसो त विभिन्न देशमा फरक–फरक किसिमले यस रोगको परीक्षण हुने गरेको पाइन्छ । सिफ्ट टेस्ट, क्लक ड्रविङ टेस्ट, टाइम एन्ड चेन्ज टेस्ट, एमएमएसई टेस्टलगायतका विविध परीक्षण विधि प्रचलनमा रहेका छन् ।

डिमेन्सियाको रोकथाम
विभिन्न अध्ययन तथा अनुसन्धानका फलस्वरूप हिजोआज डिमेन्सिया रोगको रोकथामका लागि केही प्रयास गर्न सकिन्छ । यस रोगसम्बन्धी जनचेतना, नियमित शारीरिक अभ्यास, उच्च रक्तचापको उपचार, मोटोपनमा नियन्त्रण, मधुमेह नियन्त्रण, धूमपानमा नियन्त्रण, सामाजिक एक्लोपनको अवस्था आउन नदिनेजस्ता विभिन्न पक्षको तादात्म्यता मिलाउनु यो रोगका रोकथामका उपाय हुन् । यस्तै मस्तिष्क तथा मुटुमा सकारात्मक प्रभाव पार्ने उपयुक्त खानपानलाई पनि डिमेन्सिया रोगको रोकथामका लागि उपयुक्त मानिएको छ । यस्तो खानामा मुख्यतया रातो मासुमा नियन्त्रण तथा प्रशस्त फलफूल, तरकारी, माछा, काजु, ओखर, बदाम, जैतुनको तेल आदिको उपभोगलाई स्वस्थकर भोजनका रूपमा लिइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds