सम्राटको आत्मदर्शन गर्न जाँदा

कृष्ण बजगाइँ

टोक्यो सहरको अत्यासलाग्दो कङ्क्रिटको जङ्गलबाट फुत्त बाहिरिएर प्राकृतिक जङ्गलको मुखमा पुगेपछि लामो श्वास तानेँ । जङ्गलको मुखमा रहेको बडेमानको चिल्ला र गोला काठले बनेको विशाल टोरी गेट अगाडि उभिएर दृष्टि दौडाउन थालेँ ।
‘सिन्तो धर्मको पवित्र स्थल अगाडिका यस्ता टोरी गेटभित्र प्रवेश गर्नु र बाहिर निस्कनुअघि एकपटक शिर निहुराउनुपर्दछ,’ मेरी जापानी साथी कुमी साइतोले सिन्तो परम्परा सिकाइन् । कुमीले श्रद्धापूर्वक शिर निहुराइन् । मैले पनि उनको अनुकरण गर्दै शिर झुकाएर नमन गरेँ ।
सिन्तो जापानको प्राचीन र मौलिक धर्म हो । यस धर्मको कुनै संस्थापक वा पूजनीय गुरु छैनन् । न त कुनै पवित्र ग्रन्थ छ । यस्तै कारणले गर्दा मलाई सिन्तो धर्म विचित्रखालको लाग्दछ ।
वास्तवमा सिन्तो धर्ममा कुनै देवताको नभई मानिसको दिव्य आत्माको कुरा हुन्छ । जापानमा ८० हजार सिन्तो धार्मिकस्थल रहेको बताइन्छ । त्यहाँ पुगेर मानिसले शरीर र आत्माको शुद्धीकरण गर्दछन् । मनोकांक्षा पूरा होस् भनेर कामना गर्दछन् । ती स्थलमा विभिन्नखालका आत्माहरू रहेको विश्वास गरिँदोरहेछ ।
हामी सिन्तो धर्मको प्रमुख स्थल मेइजी जिङ्गुको दर्शनका लागि पाइला चालिरहेका थियौँ । वास्तवमा त्यो स्थल जापानका सम्राट मेइजी र महारानी शोकेनको दिव्य आत्माप्रति समर्पित रहेछ । त्यस स्थानमा उनीहरूको देहावसान भएको होइन । त्यहाँ तिनको शव पनि छैन । न त्यहाँ दाहासंस्कार नै गरिएको हो । न त तिनको मूर्ति नै प्रतिस्थापन गरिएको छ । तर पनि त्यहाँ तिनका आत्माको बास छ भनेर सिन्तो धर्मावलम्बीहरू विश्वास गर्दारहेछन् ।
सिन्तो धर्मअनुसार आफ्नो अनुपम मानव उपयोगी कार्यद्वारा उत्कृष्ट काम गरेको व्यक्तिको नाममा समर्पित गरिएको पवित्र स्थलमा तिनको आत्माको बास हुन्छ । यस्तै विश्वासका आधारमा आत्माहरू पुजिँदारहेछन् । अहो, म त अदृश्य आत्माको दर्शन गर्न पो जाँदै रहेछु ।
‘सम्राट मेइजीलाई जापानी जनताले खुब माया गर्दथे । उनको मृत्यपछि पनि उनको उपस्थिति खोजेकाले उनको नाममा यो पवित्र स्थल बनाएको हो,’ हिँड्दै गर्दा कुमीले भनिन् ।
सिन्तो धर्मावलम्बीहरूले पुज्ने तथा मान्ने त्यस्ता आत्मालाई जापानी भाषामा ‘कामी’ भनिन्छ । मानिस मृत्युपश्चात् कामीका रूपमा रहिरहन्छन् । ती आत्मा अर्थात् कामी परिवारका सदस्यका लागि पितृ कामीका रूपमा पुजिन्छन् । सिन्तो अनुष्ठानको उद्देश्य शुद्धीकरण, प्रार्थना र प्रसाद चढाएर कामीलाई खुसी राख्नु हो । त्यस्ता कार्य आ–आफ्नै घरमा गरिन्छ । तिनीहरूको यस्तो कार्य हामीले पितृ श्राद्धसँग अलिअलि मिल्दोजुल्दो लाग्यो ।
असाधारण व्यक्तिको कामीका लागि सिन्तो ढाँचाको आकर्षक भवन बनाएर त्यहाँ स्थापित गर्नु र केही नाता नपर्नेले पनि तिनका लागि प्रार्थना गर्ने कार्यले मलाई आश्चर्यमा पा¥यो । मानिसलाई देवत्वकरण गर्ने जापानीको अनौठो परम्परा झन् रहस्यमय लाग्न थाल्यो ।
हुन त प्राचीन समयमा जापानमा महान् व्यक्ति र सम्राटलाई जिउँदो छँदै उपासना गरिन्थ्यो । बौद्ध धर्म जापानमा प्रवेश गरेपछि त्यो रुढीवादी परम्परा क्रमशः विस्थापित हुँदै गयो । मेइजीकालमा सिन्तोलाई राजधर्म बनाइएको थियो । त्यसबेला सम्राटलाई सिन्तो धार्मिक स्थलका पनि प्रमुख बनाइयो । सिन्तो स्थलका लागि पुजारीहरू सरकारी कर्मचारीका रूपमा नियुक्त हुन्थे र तिनले राज्यबाट तलब पाउँदथे । त्यतिमात्र होइन, सिन्तो धार्मिक स्थल सञ्चालनका लागि सरकारले बजेटसमेत छुट्याउँदथ्यो । जापानमा राजधर्म चलाउने तरिका नेपालसँग मिल्दोजुल्दो थियो ।
सिन्तो धर्मअनुसार देवी शक्ति अर्थात् कामीको बास नदी, पहाड, चट्टान, वृक्ष, कुनै विशेष पशु, चन्द्रमा वा सूर्य जहाँ पनि हुन सक्ने विश्वास गरिन्छ । यहाँनेर हिन्दुहरूका तेत्तीस कोटी देवदेवीलाई सम्झन पुग्दछु तर उनीहरूको पूजा गर्ने तरिका हाम्रोभन्दा बिल्कुल फरक र सरल छ । सिन्तो धर्मावलम्बीको पूजा पद्धतिमा प्रार्थाना गर्नु, ताली बजाउनु, शुद्धीकरण गर्नु र कामीको सम्मानमा केही अर्पण गरे पुग्दछ ।
हामी कालीमुस्ले घना जङ्गलभित्र सोझिएको फराकिलो बाटोमा मानिसका भीडसँगै हिँडिरहेका थियौँ । त्यहाँको वातावरण शान्त थियो । मानौँ त्यहाँ हल्ला गर्नु मनाही छ । आध्यात्मिक जङ्गलको बीचबाट हिँडिरहँदा कुनै देवभूमिमा प्रवेश गरेजस्तो अनुभूति हुँदै थियो ।
‘यो जङ्गल प्राकृतिक होइन । यहाँ कहिल्यै नाश नहुने जङ्गलको परिकल्पना गर्दै सम्राट र महारानीको नाममा जापानभरिका जनताले दान गरेका ३६५ जातका एक लाख २० हजार बिरुवा रोपेर बनाइएको जङ्गल हो,’ कुमीको कुराले अचम्भित पा¥यो । हामी मेइजी जिङ्गुको पसिरमा पुगिसकेका थियौँ । त्यहाँ दर्शन गर्न अघि पानीले पवित्र भएर जानुपर्ने सिन्तो परम्पराका बारेमा कुमीले सिकाइन्, जसको आँगनमा टेकिँदै छ, उसको परम्परालाई त सम्मान गर्नैप¥यो ।
लामो बिँड भएको बाँसको डाडुबाट त्यहाँ राखिएको ट्याङ्कीबाट पानी उघाएँ । सबैभन्दा पहिले देब्रेहात पखालँे, तत्पश्चात् दाहिने हात पखालँे । फेरि देब्रेहातमा पानी खन्याएँ । त्यसपछि मुख कुल्ला गरेँ । फेरि देब्रेहात धोएँ । त्यसपछि डाडुलाई ठाडो पारेर उठाउँदै डाडुमा रहेको बाँकी पानीलाई बिँड हुँदै तल झारेर बिँडलाई पखालेँ । बल्ल पवित्र हुने सम्पूर्ण विधि पुग्यो । मन र तन पवित्र भइसकेको थियो । त्यसपश्चात् पक्का तीर्थयात्री बनेछु जस्तो लाग्यो । सिन्तो धर्मको पवित्र स्थलमा प्रवेश गर्नुअघि पवित्र भएर जाने परम्पराले हाम्रो हिन्दु धर्ममा मन्दिर दर्शन गर्न जानुअघि नुहाएर जाने परम्पराको सम्झना गरायो ।
ऐतिहासिक महŒव बोकेको मेइजी मेमोरियल हलको अगाडि पुगिसकेका थियौँ । त्यो हल जापानमा राजतन्त्र पुनर्बहाली गर्ने संविधानको ड्राफ्ट गरिएको ऐतिहासिक स्थल रहेछ । त्यो अहिले सिन्तो परम्पराअनुसार विवाह गर्ने स्थलका रूपमा लोकप्रिय बनेको छ । भित्र एक जोडीको विवाह तयारी हुँदै रहेछ । परम्परागत जापानी लुगा किमोनो लगाएका बेहुला र बेहुली प्रसन्न मुद्रामा उभिएका थिए, जापानी अनुहारका केही दर्जन मानिस थिए ।
मेइजी जिङ्गु अगाडि पुगिसकेका थियौँ । त्यसभित्र प्रवेश गर्ने द्वार मेरा आँखाले खोज्न थाले । त्यहाँ लेखिएको सूचनाबाट थाहा लाग्यो भित्र प्रवेश गर्न नपाइँदोरहेछ । बाहिरबाटै हत्त न पत्त नेपालीपाराले दुई हात जोडेर नमस्कार गरेँ । मेरो नमस्कार त्यहाँको परम्पराविपरीत भएछ । कुमीले त्यहाँ दर्शन गर्ने तरिका बताइन् ।
सबैभन्दा पहिले प्रवेशद्वारमा रहेको दानपात्रमा केही सिक्का खसाएँ । दुईपटक झुकेर शिर निहुराएपछि दुईपटक थपडी बजाएँ र अन्त्यमा फेरि एकपटक झुकेर शिर निहुराएँ । आफू र घरपरिवारमा राम्रो होस् भनेर मनमनै प्रार्थना गरेँ । दर्शनको क्रममा थपडी बजाउनु भनेको त्यहाँ रहेका आत्मालाई दर्शन गर्न आएँ है भनेर जनाउ दिनु र थपडी बजाएर तिनको ध्यान आफूतिर आकर्षित गर्नुरहेछ ।
‘आफ्ना कुनै इच्छा पूरा होस् भनेर लिखित रूपमा प्रार्थना गर्ने हो कि ?’ दर्शन गरेर अगाडि बढ्दै गर्दा कुमीले सोधिन् । ‘त्यस्ता इच्छाहरू त गोप्य हुन्छन् किन सार्वजनिक गर्नु र ?’ मैले हाँस्दै भनेँ ।
मेइजी जिङ्गुको मुख्य भवनबाहिर एउटा ठूलो रूखवरिपरि आफ्ना मनोकामनाहरू काठको सानो पातामा लेखेर टाँस्ने ठाउँमा पु¥याइन् । त्यस स्थानलाई ‘एमा’ भनिँदोरहेछ । आफ्ना इच्छाहरू लेखेर त्यहाँ झुन्ड्याएपछि पूरा हुने कुरामा जापानीहरू विश्वास गर्दारहेछन् ।
यसो हेर्दछु अधिकांश जापानी र केही अङ्ग्रेजीमा लेखिएका इच्छाहरू हावामा हल्लिरहेका थिए । तिनका इच्छा र मनोकांक्षाहरू खुला आकाशमुनि घाम, पानी र हिउँका कठोरता सहेर झुन्डिरहेका थिए ।
‘एमा’ लाई छाडेर हामी ‘ओमिकुजी’ भएको ठाउँमा पुग्यौँ । मानिसको भविष्य बताउने कागजलाई जापानी भाषामा ओमिकुजी भनिँदोरहेछ । मानिसको भविष्य बताउने कागज टाँगिएको स्थानको अगाडि उभिएपछि मेरा नयन दौडिन थाले । जापानी अक्षरमा भाग्य बताउने कागज हावामा हल्का फर्फराइरहेका थिए । चिट्ठा तानेजस्तै आफूले कुनै कागज तानेपछि त्यसमा जे लेखिएको छ, त्यही पढेर सन्तुष्ट लिनुपर्दोरहेछ ।
रेडिमेड भविष्य लेखेर झुन्ड्याइएका कागजले बताउने भाग्यमा विश्वास नलागे पनि मनोरञ्जनका लागि के हुँदोरहेछ भनेर मैले एउटा कागज तानेँ । त्यसमा के लेखिएको छ भनेर कुमीलाई सोधेँ । यो वर्ष एकदम फलदायी र विदेश भ्रमण हुनेछ भनेर लेखिएको कुरा बताइन् । राम्रो कुरा लेखेको थाहा पाउँदा दङ्ग परेँ । मान्छेको मन त हो नि हरदम राम्रो कुरा सुन्न र हेर्न लालायित हुन्छन् ।
‘यहाँ वर्षमा एकपटक भव्य रूपमा कविता वाचन कार्यक्रम आयोजना गरिन्छ,’ कुमीले कविताको कुरा बताउँदा अति हर्षित भएँ । सम्राट मेइजीको आत्माको बासस्थानमा कविता वाचन गर्नु भनेको उनको आत्मालाई खुसी बनाउनुमात्र होइन, कविताको पनि सम्मान हो । हुन त सम्राट मेइजी आफैँमा राम्रा कवि थिए । उनले जापानी शैलीको छोटो कविता ‘ताङ्का’ लेख्दथे । त्यहाँ कविता वाचन गर्दा मेइजीको आत्मालाई शान्ति मिल्छ मिल्दैन मलाई थाहा छैन तर त्यहाँ कविता वाचन गर्न पाउने कविहरू आत्मैदेखि खुसी हुन्छन् भन्ने मेरो ठहर छ ।
अनायास त्यहाँ कविता वाचन गर्ने इच्छा अङ्कुरण भयो । मनमा कविताका पंक्ति खेलाउँदै मेइजी जिङ्गुबाट बाहिरिएँ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds