हुर्कन नसकेको खुसी

buddhi‘घाँस काट्ने खुर्केर आयो जोबन हुर्केर कसलाई दिँऊ यो जोबन’ मह जोडीको भकुन्डे भूत एउटा कमेडी थ्रिलर टेलिसिरियल थियो, त्यो बेला । जब त्यस सिरियलका भूत यो घाँस काट्ने खुर्केर आयो जोबन हुर्केर गर्दै पर्दामा आउँथे तब धेरैको मन डरले चिसो हुन्थ्यो । महको टेलिसिरियल र यो गीतको साथमा धेरै नेपाली मन अनि एउटा नेपाली पुस्ता नै हुर्केको छ ।  यस्ता गीतहरू अनि नेपाली संवेदनाको टुक्राटाक्रीलाई गीतमार्फत व्यक्त गर्ने गायक हुन्– बुद्धिकृष्ण लामिछाने । विक्रम संवत् २०४४ मा आएको टेलिसिरियल ‘दुई लाख १६ हजार सात सय ७७’ का लागि एउटा गीत खोजिरहनुभएको थियो– मह जोडीले । 

एक दिन रेडियोमा घाँस काट्ने खुर्केर... गीत बजिरहेको थियो, हामी दुवै मदनकृष्ण र मलाई यो गीत नै मनप¥यो र यही गीत राख्ने निधो गरियो ।
विगतको कुरा सम्झँदै आचार्यले त्यो समयमा ‘कपिराइट’ भन्ने थिएन र बुद्धिकृष्ण दाइसँग पनि चिनजान थिएन ।
गीत त राखियो धेरै हित पनि भयो तर कसले गाएको हो भन्ने केही थाहा थिएन । आचार्यले थप्नुभयो, ‘गीत हिट भयो अब भने डरले सताउन थाल्यो । अर्काको गीत हामीलाई केही गर्ने पो हो कि रिसायो भने के गर्नेजस्ता कुराहरू हुँदाहँुदै एक दिन हाम्रो पहिलेको अफिस माइतीघर मण्डलमा । त्यहीँ हाँस्दै बुद्धिकृष्ण दाइ आउनुभयो । त्यो समयमा त झन् डर लाग्यो । हामीसँग रिसाएर आउनुभएजस्तो लाग्यो । तर, बुद्धिकृष्ण दाइले हामीलाई धन्यवाद दिन आउनुभएको रहेछ । त्यो टेलिसिरियलका कारण गीत हिट भयो । त्योभन्दा पहिले यो गीत त्यति कसैले सुनेको थिएन । तर, सो टेलिसिरियलका कारण गीत निकै चर्चित भएर निकै खुसी हुनुभएको थियो । ’
वरिष्ठ कलाकार हरिवंश आर्चाय भन्नुहुन्छ, ‘यो टेलिसिरियल हाम्रो पुरानो फोन नम्बर हो । यो नाम लामो भएका कारण सबैलाई याद हँुदैन । त्यसैले ‘घाँस काट्ने खुर्केर’ नै भनेर चिन्छ । हामीले यो गीत छानेर ठीक ग¥यो जस्तो लाग्छ । ’
मह जोडीको प्रस्तुति रहेको चलचित्र दालभात, तरकारीको सम्पादनमा व्यस्त आचार्यलाई घाँस काट्ने खुर्केर गीत सुन्दा अहिले पनि रमाइलो लाग्छ । कुनै भूतको कुरा नभए पनि डरलाग्दो र अनौठोप्रकारका कारण चलचित्रको साथै गीत पनि निकै चर्चित भयो ।
स्वर्गीय लामिछानेको घाँस काट्ने खुर्केर गीत मह जोडीको टेलिसिरियल ‘दुई लाख १६ हजार सात सय ७७’ निकै चर्चित गरिदियो ।
यसैगरी, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन्, मलाई सम्झेर’ लोकगायक बुद्धिकृष्ण लामिछानेको यो गीत नसुन्ने सायद कमै नेपाली होलान् । लोकगायक बुद्धिकृष्ण लामिछानेका लोकगीत नेपाली समाजमा जति परिचित थिए, त्यति परिचित बुद्धिकृष्ण लामिछाने आफैँ बन्न सक्नुभएन । ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’ यो गीत निकै चर्चितमात्र बनेन उहाँको जीवनमा पनि लागू भयो ।
पक्षघातलगायत रोगबाट लामिछाने सात वर्षदेखि थलिनुभएको थियो । उहाँ घरको पिँढीमा बसेर आर्थिक अभावले रोइरहनुभएको थियो । उहाँको गीत संसारले सुन्यो तर उहाँ रोएको आवाज न समाजले सुने न राज्यले । गीतमा पिँढीमा बसेर आमा रोएकी थिइन् भने वास्तविक जीवनमा बुद्धिकृष्ण पिँढीमा बसेर आँसुु खसालिरहनुभएको थियो ।
उहाँले दर्जनौँ लोकप्रिय गीत गाउनुभएको छ । ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन्, मलाई सम्झेर’, ‘पर्नु प¥यो पिर’, ‘घासँ काट्ने खुर्केर’ उहाँका चर्चित गीतमध्येका हुन् । उहाँले पछिल्लो समय तिम्रो र मेरो मायाको डोरो बेरौँकी फनफनी...गीत पनि गाउनुभएको थियो । चर्चित गायिका तथा सांसद कोमल ओलीसँग गाउनुभएको यो गीत निकै चर्चित बनेको थियो । खुट्टामा प्यारालाइसिस भएर अस्पतालको बेडमा पल्टिरहनुभएको बेला पनि उहाँले गीत गाउनुभएको थियो ।
लामिछानेले लोकगीत सङ्कलनका क्रममा नेपालको डाँडाकाँडा र देश–विदेशको भ्रमण गर्नुभएको थियो । घट्दै गएको बल, रोगले थलिएको कमजोर शरीरले एक कान्लामुनि रहेको शौचालयमा पाइला नटेकेको वर्षौँ भइसकेको थियो । उहाँले पिँढीबाट जत्ति भ्याउनुहुन्थ्यो, त्यति नै हेर्नुभयो ।
नेपाली सेनाको जागिरसँगै लोकगीत सङ्गीतको विकासमा पनि उत्तिकै योगदान पु¥याउनुभएका लोकगायक बुद्धिकृष्ण लामिछानेले रेडियो नेपाल र च्यानल नेपालमा लोकभाकासम्बन्धी कार्यक्रम चलाउनुभएको थियो । चर्चित हास्य टेलिशृङ्खला ‘हिजो आजका कुरा’ र ‘तीतो सत्य’ मा समेत अभिनय गर्नुभएका लामिछानेले तीन दशकभन्दा बढी समय नेपाली सङ्गीतमा बिताउनुभयो ।
६३ वर्षको उम्मेरमा संसारबाट पुस १३ गते शुक्रबार बिदा लिनुभएका बुद्धिकृष्णको अन्त्येष्टि पनि सुनसान नै भएको थियो । चर्चित व्यक्तिको सुनसान बिदाइमा न कलाकर्मी उपस्थित भए न त राष्टिय झण्डा ओढ्ने सौभाग्य नै पाउनुभयो । लामिछाने लोकप्रिय गीतमात्र गाउनुभएन रेडियो नेपालदेखि नेपाली सेनाको प्रशासनसम्म बसेर राज्यको सेवा गर्नुभएको थियो । रोगले ग्रस्त भएका लोकप्रिय गायक घरकै पिँढीमा बसेर रोइरहनुभएको थियो । उहाँले २०३६ देखि रेडियो नेपालमा गीत गाउन थाल्नुभएको थियो । नेपाल सेनामा जागिरे उहाँ सेवानिवृत्त रहेर बस्नुभएको थियो । उहाँका दुई श्रीमती, दुई छोरा र ६ छोरी हुनुहुन्छ । कान्छी श्रीमतीका तर्फबाट एक छोरीमात्र हुनुहुन्छ भने अरू सन्तान जेठी श्रीमतीतर्फका हुन् ।

 यलु जोशी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds