सिन्धुलीको दुर्गम क्षेत्रमा अझै राहत सामग्री पुगेन

सिन्धुली, वैशाख २८ गते । भूकम्प गएको दुई साताभन्दा बढी हुदा पनि सिन्धुली जिल्लाको दुर्गम क्षेत्रमा भूकम्प पीडित परिवारले अझै राहत सामग्रा पाएका छैनन् ।
जिल्लाको शान्तेश्वरी, नेत्रकाली, हरिहरपुरगढी लगाएतका गाविसमा अझै राहत सामग्री नपुगेको भूकम्प पीडित परिवारले गुनासो गरेका छन् । जिल्लाका लागि आएको राहत सामग्री सदरमुकामस्थित नेपाली सेनाको ९ नम्बर बाहिनी र राहत सङ्कलन तथा बितरणस्थल तरकारी विकास केन्दमा नै थन्किएर बसेको छ ।
हेलिकोप्टर झिकाएर राहत सामग्री नपुगेको ठाँउमा पठाउने प्रयास भई रहेको सहायक प्रमुख जिल्ला अधिकारी बासुप्रसाद काफ्लेले जानकारी दिनुभयो । मोटरबाटोको सुविधा भएको ठाँउमा गाडीबाट र मोटरबाटोको सुविधा नभएको ठाँउमा पैदलबाट राहत सामग्री पठाई बितरण गर्ने काम भएको उहाँले बताउनुभयो ।
जिल्लामा भूकम्पबाट ११ जनाको ज्यान जानुका साथै ध्वस्त, क्षतिग्रस्त र आंसिक क्षेति गरी २८ हजार घर भत्किएर क्षेति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सदरामुकाम आसपास तथा सुगम ठाँउका भू–कम्प पीडित परिवारले पनि अहिलेसम्म राहत नाममा एउटा त्रिपाल भन्दा बाहेक केही नपाएको गुनासो गरेका छन् । कमलामाई नगरपालिका–९ निवासी भू–कम्प पीडित रामबहादुर खड्का घर भत्किएको १५ दिन बित्दा पनि त्रिपाल भन्दा बाहेक आफुले अरु कुनै राहत सामग्री नपाएको दुःखेसो पोख्नु हुन्छ ।
‘घर भत्किएको पहिलो दिनदेखि नै आँगनमा त्रिपाल मुनी बास छ,’ उहाँले भन्नुभयो, ‘घर भत्किएको तीन दिनपछि एउटा त्रिपाल नगरपालिकाले दिएको थियो, त्यसपछि अरु केही पाईएको छैन । ’जिल्लाका विभिन्न सङ्घ सस्था र सरकारी निकायले बितरण गरेको राहत सामग्री कतै राहतै राहत, कतै पुर्पुरोमा हात जस्तै भएको दुःखेसो पीडत परिवारको छ ।
कमलामाई नगरपालिका–१३ ज्यामिरेका भू–कम्प पीडित सुनमाया गोले आफ्नो दुई वटा घर भत्किदा पनि त्रिपाल समेत नपाएको गुनासो गर्नु हुन्छ । ‘घर भत्किएर सबै सामान पुरियो, केही झिक्न पाईएन,’ उहाँले भन्नुभयो, ‘राहत सामग्री दिन अहिलेसम्म यहाँ न त सरकारी निकाय नै आएको छ, न त अन्य संस्था नै ।’
राहत बितरण गर्ने टोली पनि जताजता गाडीको सुविधा छ, उतै मात्र जाने गरेको र दुर्गम क्षेत्रका बासिन्दालाई वेवास्ता गरेको उहाँको भनाई छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना