• १३ वैशाख २०८१, बिहिबार

लालपुर्जाको आसमा सुन्तली र तुलसीराम

blog

वडा नम्बर –६ गौरीडाँडामा रहेको तुलसीराम र सुन्तली आफ्नो घरमा । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, जेठ  १० गते । भीरकान्ला छेउमै एक कोठाको कच्ची घर, त्यही घर पनि ऐलानी जग्गामा रहेको छ । तुलसीपुर उपमहानगरपालिका –६ गौरीडाँडाका सुन्तली नेपाली सात दशक पूरा गर्नुभएको छ भने तुलसीराम आठ दशकमा टेक्दै हुनुहुन्छ । 

उहाँले वर्षौँदेखि चर्चिरहेको जग्गा १३ धुर मात्रै छ, त्यही जग्गामा उहाँको छोरा र उहाँको घर छ । उमेरले डाँडो काट्दै गर्दा तुलसीराम र सुन्तलीमा थोरै भए पनि आस पलाएको छ । अब त यसपालि लालपुर्जा हातमै पर्छ भन्नेमा उहाँ ढुक्क हुनुहुन्छ । 

मंगलबार मात्र तुलसीपुर उपमहानगरपालिकाको –६ उहाँहरूकै बस्तीमा राष्ट्रिय भूमि आयोग दाङले नापजाँचको काम सुरु गरेको छ । ७९ वर्षीय तुलसीराम नेपालीले पहिलेबाट जोतभोग गर्दैआएको जग्गाको लालपुर्जा अब पाइन्छ कि भन्ने आशा पलाएको बताउनुभयो । पालिकाभित्र मात्रै उहाँजस्तै भूमिहीन दलित दुई हजार ७९ जनाको लगत प्रविष्टि लिइएको छ । 

तुलसीपुर उपमहानगरपालिका भित्र  १३ हजार नौ सय ४१ को लगत प्रविष्टि लिइएको छ । भूमिहीन सुकुम्वासीको दुई हजार आठ सय ९२ र अव्यवस्थित बोसोवासीको आठ हजार नौ सय ७९ रहेको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का निर्वाचित भएर आएपछि भूमिहीन दलित, सुकुम्वासीहरूलाई लालपुर्जा वितरण गर्ने पहिलो निर्णय भएको बताउनुभयो । प्राविधिक समस्याका कारण एक वर्षपछि मात्र कार्यान्वयनमा आउन थालेको उहाँको भनाइ छ । 

वडाबाट विगतमा भरिएका फारामको लगत प्रविष्टिमा ढिलाइ भएका कारण कार्यान्वयनमा समस्या आएको उहाँले बताउनुभयो । नगरप्रमुख खड्काले बिचौलियाको प्रभावका कारण वास्तविक भूमिहीन दलित, सुकुम्वासी लालपुर्जा पाउनबाट वञ्चित हुने अवस्था सिर्जना हुन सक्नेभन्दै वडास्तरीय सहजीकरण समितिलाई नाँपजाँचका क्रममा विशेष ध्यान दिएर काम गर्न निर्देशन दिनुभएको थियो । 

तुलसीपुर उपमहानगरपालिकाका –६ र १८ मा मात्र लगत प्रविष्टिको काम सम्पन्न भएको छ । २, १४ र ८ मा लगत प्रविष्टिको अन्तिम चरणमा रहे पनि अन्य वडाबाट विवरण नै नआएको भूमि शाखाका प्रमुख माधव पौडेलले बताउनुभयो । राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले जिल्लाका अधिकांश पालिकामा भूमिसम्बन्धी नापजाँचको काम सुरु भएको र राप्ती गाउँपालिकामा अन्तिम चरणमा पुगेको बताउनुभयो । 

पालिकाबाटै नापजाँच अन्तिम प्रक्रिया हुने भएकाले नाप जाँचका क्रममा सहयोग गर्न लागि आग्रह गर्नुभयो । जिल्लाभर ७६ हजार तीन सय ६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको फाराम भरिएको छ ।