• १६ चैत २०८०, शुक्रबार

बीपी राजमार्ग सुचारु, छानबिन समिति गठन

blog

सहमतिपछि बुधबार दिउँसोदेखि सुचारु बनेको बीपी राजमार्ग । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, जेठ १० गते । गर्भवती महिलाको मृत्यु भएको विषयलाई लिएर अवरुद्ध बीपी राजमार्ग बुधबार दिउँसोदेखि सुचारु भएको छ । सुत्केरी गराउन सिन्धुली अस्पताल ल्याएकी कमलामाई नगरपालिका –५ निवासी गर्भवती २६ बर्षीया गङ्गाकुमारी श्रेष्ठको मङगलबार बेलुका मृत्यु भएको थियो । 

सोही विषयमा मृतकका परिवार र आफन्तलगायतले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल तोडफोड गर्नुका साथै बीपी राजमार्ग अवरुद्ध गरेका थिए । मृतक महिलाको विषयमा सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयमा बुधबार बिहानदेखि बसेको सर्वपक्षीय बैठकमा पीडितको पक्ष र सिन्धुली अस्पतालको तर्फबाट तीन बुँदे सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उक्त सहमतिसँगै बीपी राजमार्गमा यातायात सुचारु भएको छ । तनावग्रस्त सिन्धुलीको सदरमुकाम सामान्य अवस्थामा फर्किएको छ भने सिन्धुली अस्पतालमा सेवा सुचारु भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार सर्वपक्षीय बैठकमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले चार सदस्यीय छानबिन समिति गठन गर्ने, त्यसमा उक्त मन्त्रालयले तोकेको चिकित्सक दुई जना, जिल्ला स्वास्थ्य कार्यालयको प्रतिनिधि एक जना र पीडित पक्षको प्रतिनिधि एक जना रहने छन् ।

मृतकको पोष्टमार्टम सिन्धुली अस्पतालको डाक्टरले नगरेर दुधौलीको डाक्टर मार्फत पोष्टमार्टम गराई दाहसंस्कार गर्ने, पीडित पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो । 

मृतकका जेठाजु सोमबहादुर श्रेष्ठका अनुसार गर्भवती महिला गङ्गाकुमारीलाई सुत्केरी गराउन मङगलबार दिउँसो १२ बजेतिर सिन्धुली अस्पताल ल्याइएको थियो । बेलुका ५ बजे चेकजाँच हुँदा मृतक घोषणा भएपछि सिन्धुली अस्पतालमा ल्याई शव राखिएको थियो ।