• १२ वैशाख २०८१, बुधबार

आगलागीबाट वर्सेनी वन जंगल नष्ट हुँदै

blog

जंगलमा लागेको डढेलो । तस्बिर : मुना हमाल

मुना हमाल

सुर्खेत, जेठ १० गते । वर्सेनी  आगलागीबाट हजारौ हेक्टरमा वनजंगल मासिदैगएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट वर्सेनी  हजारौ हेक्टर वन जंगलमा क्षति हुँदैआएको हो । वनजंगल डढेलोबाट नराम्ररी प्रभावित हुनेगरेको छ ।

खासगरी चैत, बैशाख, जेठ महिनामा डढेलो तथा आगलागीको उच्च जोखिम हुने गर्छ । गत वर्षमा पनि यो समयमा वनजंगलमा आगलागी भएको छ । आगलागीबाट वर्सेनी  हजारौं हेक्टर जंगल नास हुने गरे पनि सरकारले डढेलो नियन्त्रणका लागि खासै प्रभावकारी कदम चाल्न नसकेको सरोकारवालाको गुनासो छ । 

विभिन्न कारणले जंगलमा आगलागी हुने गरे पनि कतिपयले जानीजानी आगो लगाइदिने गरेको देखिन्छ । काठ तस्कर, शिकारी, स्थानीय बासिन्दाले पनि आगो लगाउँदा आगलागी हुनेगरेको छ । पहाडि क्षेत्रमा राम्रो घाँस पलाओस् भनेर आगो स्थानीयले नै आगो लगादिने गरेको पाइन्छ । 

कर्णाली प्रदेशमा पछिल्लो तथ्याङ्कअनुसार हजारौ हेक्टर वनजंगलमा आगलागी भएर मासिँदैआएको छ । पछिल्लो करिव तीन वर्षको अवधिमा कर्णाली प्रदेशमा आगलागीबाट ४५ हजार हेक्टर वनमा क्षति पुगेको छ । आगलागीबाट वन मात्र मासिएको छैन्, वन नजिक रहेका बस्ती उच्च जोखिमा पर्नेगरेको छ । 

आगो नियन्त्रणमा लिँदा यस अवधिमा आगलागीमा परेर १० जनाको मृत्यु भएको छ भने १६ जना आगलागीमा परेर घाइते भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७–७८ मा २१ हजार १२२ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । 

सोही आर्थिक वर्षमा तीन जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । यस्तै, आर्थिक वर्ष २०७८–७९ मा १३ हजार ६०२ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । सोही वर्ष आगलागीमा परेर दुई जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७९–८० मा हालसम्म ११ हजार १९९ हेक्टर वन क्षेत्रमा आगलागी भएको कार्यालयले जनाएको छ । 

पाँच जनाको आगलागीमा परेर मृत्यु भएको छ भने ११ जना घाइते भएको प्रहरीले जनाएको छ । वनमा लागेको आगलागीबाट घरमा आगलागी हुँदा यस आर्थिक वर्षमा छ लाख ४२ हजार बराबरको क्षेति भएको छ । 

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता रेणुना न्यौपानेले वनमा लागेको आगोले वर्षेनी क्षति हुँदैआएको बताउनुभयो । उहाँले जिल्लामा रहेका वन डिभिजन कार्यालयमार्फत वनको संरक्षण, सम्वर्धन र आगलागी नियन्त्रणको कार्यक्रम भइरहेको जानकारी दिनुभयो । 

डिभिजन वन कार्यालयले प्रहरी, सामुदायिक वनका उपभोत्ता समिति, स्थानीयलगायतको समन्वयमा आगलागनी हुन नदिन जनचेतना र आगलागी भए पनि नियन्त्रण गर्नेगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगलागीबाट वनजंगल नराम्रोसँग विनास हुनेगरेको छ । यसको नियन्त्रणका लागि सबैको सहयोग आवश्यक छ ।’ आगलागीबाट वनजंगल मात्र होइन्, वातावरणमा समेत नराम्रो असर पर्नेगरेको छ । डढेलोबाट जंगलमा भएको रुख, जीव जनावर, बहुमुल्य जडिबुटी मासिदैआएका छन् । वातावरण विज्ञ खगेन्द्र रावलले वन जंगलमा आगो लाग्दा वातावरणीय रुपमा नाकारात्मक असर परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वन जंगलमा आगलागी हुँदा जैविक विविधताको विनास, पारिस्थितिक प्रणालीको विनास हुन्छ । आगलागीले भुक्षयको जोखिम हुन्छ । बोट विरुवा नष्ट हुँदा माटो अडाउने केही नहुँदा पहिरो जाने, भुक्ष्य हुने जोखिम हुन्छ ।’