• ८ वैशाख २०८१, शनिबार

राष्ट्रपतिले नागरिकता विधेयक तत्काल प्रमाणिकरण गर्नुपर्छ : सांसद निधि

blog

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्नुहुँदै नेपाली कांग्रेसका नेता एवम् सांसद विमलेन्द्र निधि । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १० गते । नेपाली कांग्रेसका नेता एवम् सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद निधिले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रूपमा कुनै पनि बाधा अड्चन नभएको दाबी समेत गर्नुभयो ।

सांसद निधिले भन्नुभयो, ‘‘आजको समाचार पत्रहरूमा सम्माननीय राष्ट्रपतिजीका, सम्माननीय प्रधानमन्त्री र मन्त्रीजीहरूको बीचमा नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको समाचारहरू सुन्यौँ । यो नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरू खोज्नु भएको छ अरे भनेर सुनेको छु । म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने र यो संसदमा प्रतिपक्षका सांसदहरूले पनि बोल्नु भएको छ ।’’

उहाँले सङ्घीय संसद्ले दुई/दुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि सुझाव दिनु भयो ।

सांसद निधिले भन्नुभयो, ‘‘राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद् नै हुन्छ । अब त्यो संसदबाट दुई/दुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुँदैन । र, त्यहीँबाट प्रमाणित नै हुनुपर्दछ । मन्त्रिपरिषद्ले नै निर्णय गरेर राष्ट्रपतिजीलाई सल्लाह गरेर कुनै बाधा छ भने त्यो पनि फुकाउनु परेन । यो संविधानसम्मत कुरा नै हो । त्यसकारण नागरिकता विधेयक तत्काल प्रमाणित गर्न लगाउने कुरामा सरकार चाहीँ सम्पूर्ण रूपमा सक्रिय भइदिनु पर्‍यो भन्ने कुरा राख्न चाहन्छु ।’’

नेता निधिले सङ्घीय संसद्ले दुई दुई पटक पारित गरेर पठाएको सो विधेयक फेरि संसदमा आउन नहुने समेत बताउनुभयो ।