• ६ वैशाख २०८१, बिहिबार

सुविधा सम्पन्न पर्यटक बसपार्क निर्माण गर्न सरकारसँग माग

blog

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद विद्या भट्टराई । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १० गते । नेकपा (एमाले) का सांसद विद्या भट्टराईले काठमाडौंमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सरकारसँग माग गर्नु भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद भट्टराईले देशका विभिन्न पर्यटकीय सहरहरूमा जाने पर्यटकहरूका लागि व्यवस्थित र सुविधासम्पन्न पर्यटक बसपार्क काठमाडौंमा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

सांसद भट्टराईले नेपाल प्रवेश गरेपछि देशका विभिन्न ठाउँमा जाने पर्यटकहरू काठमाडौंमा बसपार्क नभएका कारण असुरक्षित भइरहेकाले पनि सरकारले उनीहरूलाई लक्षित गरेर बसपार्क बनाउन ढिलाइ गर्न नहुने स्पष्ट पार्नु भयो ।

‘‘सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशकको रूपमा मनाउने योजना अनुरूप नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ । तर देशको राजधानी काठमाडौंमा आजसम्म टुरिष्ट बसपार्क स्थापना हुन सकेको छैन । व्यवस्थित बसपार्क नबनेका कारण काठमाडौंको सोह्रखुट्टै सडकबाटै बस छुट्न बाध्य छन् ।,’’ सांसद भट्टराईले भन्नुभयो, ‘‘नेपाल प्रवेश गरेपछि देशका विभिन्न पर्यटकीय गन्तव्यहरूमा जानका लागि पर्यटकहरू असुरक्षित भएर सडकमा उभिनुपर्ने बाध्यता छ । काठमाडौंमा नेपालका प्रमुख पर्यटकीय सहरहरू पोखरा, चितवन, लुम्बिनी, जनकपुरलगायतका गन्तव्यहरू पर्यटकीय बसहरूले सेवा दिइरहेका छन् । तर सबै बस व्यवसायी सडकबाटै पर्यटकहरू बोक्न बाध्य छन् । त्यसैले काठमाडौंमा एउटा व्यवस्थित र सुविधा सम्पन्न टुरिष्ट बसपार्क निर्माण गर्न आवश्यक छ । यसका लागि सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु ।’’

सांसद भट्टराईले सरकारले नेपाल भ्रमण दशक घोषणा गरेपनि त्यस अनुरूपको तयारी गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।