• ७ वैशाख २०८१, शुक्रबार

वन क्षेत्र कब्जा गरेर चुनढुङ्गाको अवैध डम्पिङ्ग

blog

चुनढुङ्गा डम्पिङ्ग । तस्बिर : जानु पाण्डे

जानु पाण्डे
कपिलवस्तु, जेठ १० गते ।
 अर्घाखाँचीको नरपानीबाट ओसारिएको चुनढुङ्गाको अवैध डम्पिङ्गले बुद्धभूमिका स्थानीय प्रभावित भएका छन् । हेटौँडाको बानिया निर्माण सेवा प्रालिले स्वीकृति नलिई बुद्धभूमि -१ कपासेमा दुई वर्षदेखि डम्पिङ्ग गर्दै आएको थियो ।

समुदायका केही अगुवालाई सेटिङ मिलाएर अनुमति बिना डम्पिङ्ग गरेको स्थानीयले दाबी गरेका छन् । डम्पिङ्गको कारण समस्यामा पारेको भन्दै कपासी, शान्तिपुर, फचकैया र वसन्तपुरका स्थानीयले विरोध प्रदर्शन समेत गरेका छन् ।

वनका अध्यक्ष पदमबहादुर क्षेत्रीले वन क्षेत्र कब्जा गरी डिजेल पम्प र ग्यारेज समेत निर्माण भएको बताउनुभयो । डम्पिङ्ग गरिएको स्थान रामेश्वर आधारभूत विद्यालय फचकैया नजिकै रहेकाले डम्प गर्दा विद्यार्थीहरूको पठनपाठन समस्या भएको छ ।

टोल विकास संस्था सचिव ईश्वरी मल्ल ठकुरीले भन्नुभयो, ‘‘डम्पिङ्ग राखेदेखि नै स्थानीयले समस्या खेप्दै आएका थिए । गाउँसम्म पुग्ने कालोपत्रे सडक पूर्णरुपले भत्किएको छ । धुलो र आवाजले प्रदूषण भएको छ । जनप्रतिनिधिसँग कुरा राख्दा बेवास्ता गर्दछन् । पटक–पटक वडा र पालिकालाई पत्राचार गर्दा समेत सुनुवाइ भएको छैन ।’’


डम्पिङ्ग हटाउन पटक–पटक समुदायको माग

समुदायले डम्पिङ्ग हटाउन पर्ने मागसहित पछिल्लो पटक वैशाख १२ गते वडा कार्यालयमा पत्राचार गरेको छन् । तर पालिकाले मौन समर्थन गरेको स्थानीयको आरोप रहेको छ । पालिका, प्रशासन, वन कार्यालय, अख्तियारलगायतका निकायमा समेत उजुरी दिइएको स्थानीय अगुवा मोहन शर्माले बताउनु भयो ।

सामुदायिक वनको जग्गा ओगटेर ढुङ्गाको डम्पिङ्ग गरेको विषयमा आफूले सो ढुङ्गाको डम्पिङ्ग हटाउन पटक–पटक प्रयास गरे पनि जनप्रतिनिधिको सहयोग नपाएको सामुदायिक वनका अध्यक्ष क्षेत्रीको गुनासो छ ।

वडा अध्यक्ष तेजबहादुर बस्नेतले डम्पिङ्ग हटाउन सम्बन्धित निकायसँग छलफल गरे पनि चासो नदिएको आरोप लगाउनुभयो ।