• १६ चैत २०८०, शुक्रबार

जब ठेकेदार हराउँछन्

blog

नदीमा

बनिरहेको पुल 

बीच नदीमा पुगेर रोकिन्छन्,

वर्षौंवर्षसम्म,


धुलाम्मे र हिलाम्मे बनाएर  

सडक रोकिन्छन्, 

वर्षौंवर्षसम्म,


ढल, खानेपानी र

बिजुलीका नाममा खनिएका खाल्टामा

कैयौँ गाडी, स्कुटर, मोटरसाइकल, साइकल र

पैदल यात्रीहरू खस्छन्, 

बेपत्ता हुन्छन्,

कतिको त्यहीँ चोला उठ्छ, 

कैयौँ शरीर अङ्गभङ्ग हुन्छन्, 

कैयौँ अपाङ्ग शरीर लिएर

जिएका छन् जीवनभर

 

यी सबैको जिम्मेवार को हुन्, कसले लिने ? 

छन त पाइलैपिच्छे सरकार छन्,

सांसद छन्, अरूअरू कति छन् कति 

राजनीतिक उद्योग खुबै चलेको छ 

गल्ली गल्लीमा 

भीआईपीका नाममा चिल्ला गाडी हुइँकिन्छन् 

चिल्ला गाडीबाट 

बिग्रेका सडक, फुटेको ढल र 

चुहिएको पानी कसरी देख्नु ? 

कालो सिसाभित्र रहेका काल मनहरू

पाँचवर्षे सङ्गिनी सुई लगाएर 

गाउँबाट सहर पसिसकेका छन् 

उजुरी कहीँकतै लाग्दैन 

उजुरीकर्ता थाक्छन्, कसैले सुन्दैन 


एकाएक समाचारमा आउँछ 

सडक अलपत्र छोडेर ठेकेदार बेपत्ता 

पुल अलपत्र पारेर ठेकेदार बेपत्ता 

समाचार सुन्दा हाँसो लाग्छ 

आफैँले आफैँलाई प्रश्न गर्न मन लाग्छ 

के सडक, पुल बनाउने ठेकेदार 

अर्कै ग्रहका हुन् र ? 

नहराउनुपर्ने ठेकेदार हराइसकेपछि 

कहीँ भेटिन सकेको छैन

अलपत्र परेका ती कामहरूमा, 

अर्को ठेकेदारले टेन्डर हाल्दैछ रे ?

खासखुस कुरा सुनियो, चिया पसलमा

हराएको ठेकेदार जस्तै देखिने त्यो मान्छे

सिंहदरबारभित्र भर्खरै फुत्त छिरेको छ रे ??