• ६ वैशाख २०८१, बिहिबार

पदयात्राका लागि उत्कृष्ट मौरिस हर्जोग ट्रेक

blog

मौरिस हर्जोग ट्रेक हुँदै अन्नपूर्ण आधार शिविरतर्फ हिँडेका पदयात्रीहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ १० गते । 
अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर पुग्न मौरिस हर्जोग ट्रेकको विकास गरिएको छ । पदयात्राका लागि सुरक्षित र छोटो समयमा आधार शिविरमा पुग्ने पदमार्ग हो । सुन्दर र आकर्षक पर्यटकीय गन्तव्य भए पनि ओझेलमा परेको यो क्षेत्र पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । पदमार्गमा चहलपहल बढेको छ । नारच्याङदेखि एकै दिनमा पुग्न सकिने भएकाले पर्यटकको आकर्षण बढेको छ ।

वि.सं. २०६८ मा पहिचान गरिएको पदमार्गलाई गाउँपालिकाले २०७६ मा विश्वमै पहिलोपटक अन्नपूर्ण हिमालको सफल आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगको नामबाट पदमार्गको नामाकरण गरेको थियो । पदमार्गको नामाकरणसँगै म्याप सार्वजनिक गरेको थियो ।


३ जुन १९५० मा हर्जोगले पहिलो पटक म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेर विश्वमै पहिलो आरोहीको कीर्तिमानी बनाउनुभएको थियो । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यो पदमार्ग मिस्त्रीखोलाको किनार हुँदै अन्नपूर्ण हिमालको उत्तरी आधार शिविरमा पुग्न सकिन्छ ।

पदमार्गलाई व्यवस्थित बनाउन सङ्घीय सरकारको पर्यटन मन्त्रालय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार पारेका छन् । पदमार्गमा थप पूर्वाधार निर्माणका लागि गाउँपालिका जुटेको छ ।


अन्नपूर्ण आधा शिविरको प्रवेशद्वार नारच्याङ गाउँ हो । यहाँबाट २१ किलोमिटरको दूरीमा पर्ने हुमखोलासम्म सडक पुगेको छ । सवारीसाधनको प्रयोग गरेर हुमखोलासम्म पुगेपछि यहाँबाट पदयात्रा सुरु हुन्छ ।

करिब ८ घण्टाको यात्रापछि चारहजार ५० मिटरको उचाइमा रहेको पञ्चकुण्ड ताल नजिक निर्माण गरिएको पर्यटक आश्रयस्थलमा पुग्न सकिन्छ । त्यहाँबाट एक घण्टाका यात्रापछि चार हजार एक सय ९० मिटरको उचाइमा रहेको बेस क्याम्पमा पुग्न सकिन्छ । बेस क्याम्प पुगेका पर्यटकहरु टेण्ट राखेर बास बस्न सकिन्छ ।  

‘‘एकैदिनमा हिमालको आधार शिविर पुग्न सकिने यो पर्यटकीय हिसावले उत्कृष्ट गन्तव्य हो,’’ गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भन्नुभयो, ‘‘अन्नपूर्ण प्रथम हिमालको वास्तविक आधार शिविर यही हो । प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । पदयात्राका लागि उत्कृष्ट गन्तव्य बनाउनका लागि पालिकाले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनमुलक कार्यक्रम अघि बढाएको छ ।’’


पालिकाले आधार शिविर क्षेत्रको पर्यटकीय सम्भावना र आवश्यक पूर्वाधार निर्माणका लागि अध्ययन गरेर योजना बनाउने पालिका उपाध्यक्ष दिवाकुमारी तिलिजाले बताउनुभयो । पदमार्ग र झोलुङ्गे पुलहरुको मर्मत, थप आश्रयस्थल निर्माण र प्रचारप्रसारमा जोड दिनसके आधार शिविरमा पर्यटक आगमन वढ्ने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

अहिले आधार शिविर, धरमढुङ्गा, भुस्केटमेला, गुफाफाँट, सांधीखर्क, हुमखोला र छोटेपा गरि ७ ठाउँमा आश्रयस्थलका पूर्वाधार तयार भएका छन् । पर्यटकहरुको आगमन बढ्ने सम्भावनालाई मध्यनजर गर्दै आधार शिविर र भुस्केटमेलामा थप आश्रयस्थल निर्माण, खानेपानीको सुविधा विस्तार, मोवाइल फोनको पहुँच विस्तारलगायतका कामहरु गर्न आवश्यक रहेको मौरिस हर्जोग ट्रेक व्यवस्थापन समितिका अध्यक्ष तथा नारच्याङका पर्यटनकर्मी तेज गुरुङले बताउनुभयो ।

अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, झरना, सुन्दर हिमश्रृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार बर्गमिटरमा फैलिएको सुन्दर पञ्चकुण्ड तालले पर्यटकलाई लोभ्याउछ । यहाँबाट अन्नपूर्ण प्रथम, निलगिरि, तिलिचो पिक र बराहशिखरलाई नजिकैबाट अवलोकन गर्न सकिन्छ । चारै तिर हिमश्रृङ्खलाले घेरिएको यो क्षेत्र साच्चिकै स्वर्गको टुक्रा जस्तै अनुभूति भएको पर्यटनकर्मी चित्र तिलिजाले अनुभव सुनाउनुभयो । 


यसरी जान सकिन्छ आधार शिविर :
पहिलो दिन : म्याग्दीको सदरमुकाम बेनी देखि बेनी–बेनी जोमसोम कोरला सडकको डेढ घण्टाको यात्रापछि अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ पुग्न सकिन्छ । यो सडक अहिले स्तरोन्नतिको चरणमा छ । नारच्याङमा होमस्टे र होटलहरु छन् । बेलुका नजिकै रहेको पाउद्वार तातोपानी र भुरुङ तातोपानीमा स्नान गरेर आनन्द लिन सकिन्छ ।

दोस्रो दिन : नारच्याङमा सञ्चालित जलविद्युत आयोजनाहरुले निर्माण गरेको करिब २१ किलोमिटर सडक मार्ग हुँदै सवारीसाधनको यात्रापछि निलगिरि पहिलो जलविद्युत आयोजनाले निर्माण गरेको बाँधस्थल हुमखोलामा पुग्न सकिन्छ । हुमखोलामा एउटा सानो होटल छ । यहाँ खान खाएर मौरिस हर्जोग ट्रेकको यात्रा सुरु हुन्छ । करिब पाँच घण्टाको पैदल यात्रापछि भुस्केटमेला भन्ने स्थानमा पुग्न सकिन्छ । यहाँ पर्यटकका लागि आश्रयस्थल निर्माण गरिएको छ । हिड्न नसक्नेहरु यही बासवस्छन भने सक्नेहरु बेश क्याम्पको यात्रा तय गर्दछन् । यहाँदेखि आरम सँग हिडेर करिब ३ घण्टामा ४ हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड तालमा पुग्न सकिन्छ ।