• १६ चैत २०८०, शुक्रबार

गर्मीसँगै खानेपानी समस्या गाउँभरका लागि एउटै धारो

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), जेठ १० गते । तराईमा तापक्रम  बढेसँगै यहाँका कतिपय बस्तीमा खानेपानीको समस्या देखिएको छ। कैलालीको घोडाघोडी नगरपालिका–८, जरही गाउँ पनि यस्तै समस्या भोग्नेमा एक हो। 

स्थानीय सरकारको पहलमा सामूहिक खानेपानीको व्यवस्था गरिए पनि उच्च तापक्रमका कारण पानीको स्रोत घट्दा तथा बिजुलीको पावर कम भएपछि सो बस्तीका पाँच सय घरधुरी परिवारलाई खानेपानीको जोहो गर्न धौ धौ परेको छ। 

सुखड बजारदेखि करिब १५ किलोमिटरको दूरीमा रहेको जरही दुर्गम गाउँ हो। २०६४ सालको बाढीबाट विस्थापित धेरै परिवारको सो गाउँमा बसोबास छ। 

चुरे पहाडको फेदीमा रहेको बस्तीका बासिन्दाले खानेपानीका लागि ह्यान्ड पम्प (नल्का) गाड्न विगतदेखि निकै प्रयास गर्दा पनि पानी निस्कँदैन। आफ्नो बस्तीमा खानेपानी नआएपछि दुई किलोमिटर टाढा रहेको अर्को बस्तीबाट खानेपानी ल्याउन जरहीका बासिन्दा बाध्य छन्। 

आव २०७४/७५ मा घोडाघोडी नगरपालिकाको आठ लाखभन्दा बढी रुपियाँ लगानीमा दुई सय फिट गहिराइसम्म डिप बोरिङ गरेर सामुदायिक धारा जडान गरेपछि एकअर्काको घरमा गाली सहँदै पानी ल्याउनुपर्ने बाध्यता हटेको थियो।

यहाँ निम्न आर्थिक अवस्था भएका गरिब, दलित, जनजातिलगायत विभिन्न समुदयाको बसोबास छ। स्थानीय उत्तम बुढामगरले प्रत्येक घरले पानी निकाल्न नल्का गाड्ने प्रयास गरे पनि ३२ फिटमै ढुङ्गा लागेको बताउनुभयो। 

स्थानीय लक्ष्मी धामीले लामो लाइनमा समय खर्चेर पानी खान परेको गुनासो गर्नुभयो। स्थानीय टेकेन्द्र विक पनि पाँच सय घरधुरीले एउटा धारोबाट पानी खानुपर्ने बाध्यता रहेको बताउनुहुन्छ।

घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावतले जरहीमा खानेपानी अभाव रहेको आफूले पनि प्रत्यक्ष अनुगमनबाट बुझेको बताउनुभयो। तत्काललाई समस्या भए पनि जरहीनजिकै रहेका अन्य गाउँमा प्रदेश सरकारको सहयोगमा दुईवटा खानेपानी आयोजनाको काम भइरहेको उहाँले बताउनुभयो। 

नगर प्रमुख रावतले योजना पूरा हुनासाथ जरही बस्तीको खानेपानीको समस्या हल हुने बताउनुभयो। उहाँले वडा नम्बर ८ को मैनापोखर र वडा नम्बर ६ को बछुरियामा पाइपलाइन विस्तारसहितको खानेपानी आयोजनाको काम भइरहेको जनाउनुभयो।