• १२ वैशाख २०८१, बुधबार

स्थानीय तहको एक वर्षे कार्यकाल

सार्वजनिक भयो प्रगति

blog

बुटवल समाचारदाता

बुटवल, जेठ १० गते । बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित भएर आएका जनप्रतिनिधिले कार्यभार सम्हालेको मङ्गलबार एक वर्ष पूरा भएको अवसरमा ४९ बुँदे प्रगति विवरण सार्वजनिक गरिएको छ। 

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डे प्रमुख र नेकपा (एमाले) का सावित्रादेवी अर्याल उपप्रमुखमा निर्वाचित हुनुभएको थियो। 

नगर प्रमुख खेलराज पाण्डेले मङ्गलबार प्रगति विवरण सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा निर्माणाधीन १५/१५ शय्याका अक्सिजनसहितका दुई अस्पताल चालु आर्थिक वर्षभित्रै उद्घाटन गरी आगामी साउनदेखि नै सञ्चालनमा आउने बताउनुभयो। 

एक वर्षको अवधिमा भएका महत्वपूर्ण कामको चर्चा गर्दै नगर प्रमुख पाण्डेले आधुनिक पशु वधशाला निर्माण सम्पन्न भएको, बुटवलका मुख्य सडक क्षेत्रका अव्यवस्थित ठेला हटाई वडाको आवश्यकता र समय निर्धारण गरी ठेला सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको, आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको बताउनुभयो। 

उहाँले बुटवल उपमहानगरपालिका वडा नं. ७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ बिघा जग्गामा हरियाली बसपार्क निर्माणको प्रक्रिया  अगाडि बढाइएकोसमेत बताउनुभयो। 

त्यसै गरी नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६–३६ नहर, कालिका पथलगायतका सार्वजनिक स्थानको नियमित तथा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको, मोतीपुर औद्यौगिक क्षेत्रको जग्गा यकिन गरी व्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच भइसकेको दाबी गर्नुभयो। उहाँले लामो समयसम्म बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गरे पनि बसोबासको कुनै प्रमाण नभएकालाई बसोबासको प्रमाणपत्र प्रदान गर्न सूचना जारी गरी प्रमाणपत्र वितरणका लागि प्रक्रिया  अन्तिम चरणमा पुगेको प्रगति प्रतिवेदनमा उल्लेख छ।

नगर प्रमुख पाण्डेले बुटवल–३ र ४ का ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रमा पर्खाल, कल्भर्ट, जाली र वृक्षरोपण गरी सुरक्षित बनाउने कार्य भएको र ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरूको प्रकोप व्यवस्थापन कोषबाट बिमा गरिने बताउनुभयो।

त्यसैगरी तिनाउ नदी किनार र सुखौरा खोला किनारका बस्तीमा बाढीले जोखिम पु-याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा तटबन्ध गर्ने, च्यानलाइज गर्ने र तारजाली लगाउने काम भइरहेको प्रगति प्रतिवेदनमा उल्लेख छ।

सडक क्षेत्रमा अव्यवस्थित रूपमा रहेका विद्युत्, इन्टरनेट, केबल तारहरूले सहरको सौन्दर्य बिगारेका कारण व्यवस्थित गर्ने काम निरन्तर सञ्चालन भइरहेको उल्लेख छ।

उता आम्दा अस्पतालमा पारा मेडिकल र नर्सिङ विषयको प्रवीणता प्रमाणपत्र तहको कक्षा सञ्चालन, फार्मेसी ल्याब र थेरापी अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन, बुटवल–१५ मा कृषि विज्ञान (बिएससिएजी) कलेज स्थापनाका लागि आवश्यक पूर्वाधार र अनुमति प्राप्तिका लागि प्रक्रिया  अगाडि बढेको उल्लेख छ।

बुटवलको कालिका पथ, ट्राफिक चोक र अमर पथ क्षेत्रमा रात्रिकालीन बजार सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको उल्लेख छ।