• ११ वैशाख २०८१, मङ्गलबार

जलन उपचार प्राथमिकतामा परेन : डा. भण्डारी

blog

काठमाडौँ, जेठ १० गते । आफ्नो उपचार नेपालमै गर्ने चाहना राख्नु हुने सांसद डा. चन्द्र भण्डारीले जलन उपचार राज्यको प्राथमिकतामा नपरेको बताउनुभएको छ । 

भारतमा उपचार गराई हाल नेपालकै फ्रन्ट लाइन अस्पताल, काठमाडौँमा उपचार गराउन बाध्य भएका भण्डारीले आफू भारतमा उपचारका लागि गएपछि वीर अस्पतालमा सुवधिा सम्पन्न जलन उपचार केन्द्र बनाउने घोषणा गरेको भए पनि तीन महिनाभन्दा बढी हुँदासमेत सञ्चालनमा नआउनु दुःखद रहेको बताउनुभयो । उहाँले आगलागीका घटनामा सामान्यबाहेकको उपचार नेपालमा सम्भव नहुने भएकाले आम नागरिक विदेशमा पुगेर उपचार गर्ने अवस्था नरहेकाले नेपालमै सहज उपचार गराउन आवश्यक प्रविधिसँग पूर्वाधारयुक्त अस्पताल आवश्यक रहेको उल्लेख गर्नुभयो । यिनै विषयलगायतमा उहाँले बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्न समय लिनुभएको छ ।  

जलनपछि संसद्मा उहाँको पहिलो उपस्थिति हुनेछ। उहाँलाई बस्नको लागि विशेष व्यवस्था मिलाइएको छ। 

आगलागीका घटनाका पीडितको उपचार पनि मिर्गौला रोगी तथा दीर्घरोगीलाई राज्यले उपलब्ध गराउने न्यूनतम सुविधासँगै जोड्न सके उपचार थप सहज बन्ने उहाँको धारणा छ। 

उपचार पद्धतिलाई सर्वसुलभ र अस्पताललाई प्रविधि र पूर्वाधारका रूपमा पनि पूर्वतयारीमा रहने गरी तत्काल सरकारले कदम चालेर जलनमा परी आम नागरिकको अकालमा ज्यान जाने अवस्थाको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो।  डा. भण्डारीले सरकारले आफ्नो उपचार खर्च बेहोर्ने निर्णय गरेकोमा धन्यवाद व्यक्त गर्दै आफूले भने राज्यबाट त्यस्तो सुविधा नलिने बताउनुभयो।

गरिब जनता उपचार नपाएर अकालमा मृत्यु हुनु पर्ने र पहुँचवालाले राज्यकोषको रकम खर्च गरेर विदेशमा उपचार गर्ने पद्धतिको अन्त्यका लागि आफूले निरन्तर आवाज उठाउने उहाँले बताउनुभयो।