• १६ चैत २०८०, शुक्रबार

वीर अस्पताल–स्वास्थ्य मन्त्रालय पन्छिँदै

जलन वार्ड चल्ने अत्तोपत्तो छैन

blog

सरोज ढुङ्गेल/मित्र भण्डारी

काठमाडौँ, जेठ १० गते ।  वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने विषयमा वीर अस्पताल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच मत बाझिएको छ । 

वीर अस्पतालले जलन वार्डका लागि केही भौतिक पूर्वाधार तयार पारे पनि सञ्चालनका लागि मन्त्रालयसँग बजेट मागेको तर त्यो नआउँदा सञ्चालन गर्न नसकिएको धारणा प्रस्ट गरेको छ । तर मन्त्रालयले बजेट अभावकै कारण वार्ड सञ्चालन गर्न नसकिने अवस्था नरहेको तर्क गरेको छ । गत फागुन ३ गते राति प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी र उहाँकी आमा आगलागीमा परी गम्भीर दुर्घटना हुँदा उपचारमा समस्या परेको थियो । आमा चन्द्रकला भण्डारीको घटनाको भोलिपल्ट निधन भयो भने सांसद भण्डारीको उपचार नेपालमा नहुने भएपछि भोलिपल्टै भारत लगिएको थियो । 

त्यस विषयमा ‘राज्यसँग छैन जलन उपचार अस्पताल’ शीर्षकमा गोरखापत्रले समाचार प्रकाशन गरेपछि फागुन ५ गते वीर अस्पतालमा नियुक्त हुनु भएका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने भनी पहिलो निर्णय नै गर्नुभएको थियो । 

निर्णयको तीन महिना बित्दा पनि त्यसबारे वीर अस्पताल प्रशासन र स्वास्थ्य मन्त्रालयबीच समन्वयको अभाव देखिएको छ । काम पनि अगाडि बढेकै छैन । भारतको मुम्बईबाट उपचार गरी फर्किएका सांसद् भण्डारीले सरकारी अस्पतालमा उपचार गराउन पाउनुभएको छैन । उहाँ कीर्तिपुर बर्न अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँकै एक निजी अस्पतालमा थप उपचार गराइरहनुभएको छ ।

वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले स्वास्थ्य मन्त्रालयले आवश्यक बजेट व्यवस्था गर्न नसक्दा वार्ड सञ्चालन गर्न नसकिएको दाबी गर्नुभयो । उहाँले जलन वार्ड सञ्चालनका लागि अस्पतालले गर्नुपर्ने सम्पूर्ण कार्य पूरा गरिसकेको जानकारी दिनुभयो । उहाँले जलन वार्डका लागि आवश्यक चिकित्सक, शय्या, सघन उपचार शय्या तथा स्थानको समेत व्यवस्था भइसकेको भए पनि केही उपकरण र नर्सिङ जनशक्ति पूरा नभएको एवं त्यसका लागि बजेट मन्त्रालयले आवश्यक बजेट व्यवस्था गर्न नसकेको आरोप लगाउनुभयो । “वीर अस्पताल स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा पर्न सकेन” उहाँले भन्नुभयो ।  

वीर अस्पतालले २५ शय्या क्षमताको छुट्टै जलन कक्ष सञ्चालन गर्नका लागि तयारी अघि बढाएको थियो । वीर अस्पतालका प्रवक्ता सागर मिश्रले मन्त्रालयमा जलन वार्डसम्बन्धी तीन करोड रुपियाँको प्रस्ताव पठाइएको जानकारी दिनुभयो । 

स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले वीर अस्पतालले जलन वार्ड सञ्चालन गर्ने फाइल नै मन्त्रालयमा नआएको र त्यसका लागि मन्त्रालयको बजेट कुरिरहनु आवश्यक नरहेको दाबी गर्नुभयो । उहाँले वीर अस्पतालमा जलन वार्डका लागि छुट्टै प्लास्टिक सर्जनहरू रहेको र स्टाफ नर्स नभए करारमा राखेर जलन वार्ड सञ्चालन गर्न सकिने बताउँदै तीन करोड रुपियाँको प्रस्तावका बारेमा आफूलाई थाहा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले प्राथमिकता दिने हो भने दुई–चार करोड रुपियाँ उपलब्ध गराउन लागि कठिन नहोला ।” 

मन्त्रालयका प्रवक्ता यशोदा अर्यालले पनि वीर अस्पतालको जलन वार्ड सञ्चालनसम्बन्धी फाइल आफूकहाँ नआएको र आफूलाई यो विषयबारे केही जानकारी नभएको बताउनुभयो । 

वीर अस्पतालका प्रवक्ता सागर मिश्रले अस्पतालको आन्तरिक स्रोतबाट जलन वार्ड सञ्चालन गर्न नसकिने बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा सरकारले वीरलाई एक अर्ब २३ करोड छुट्याएकोमा चालु आर्थिक वर्षमा ८५ करोड रुपियाँ मात्र प्राप्त गरेको बताउनुभयो ।