• ७ वैशाख २०८१, शुक्रबार

बुटवलमा रोजगार मेला सुरु

blog

छविलाल पाण्डे 

बुटवल, जेठ ९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि बुटवलमा रोजगार मेला सुरु भएको छ । 

रोजगार मेलाको नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनीका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बुटवलमा एक समारोहकाबीच मेलाको उद्घाटन गर्नुभयो । यस अवसरमा बोल्नुहुँदै प्रदेश अध्यक्ष शर्माले कामको लागि विदेश जाने प्रवृत्ति रोक्न र उद्योगी व्यवसायीले बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताउनुभयो । 

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले रोजगार मेलामा २९ वटा उद्योग प्रतिष्ठानको सहभागिता रहेको र त्यसबाट तीन सय जनालाई रोजगारीको अवसर प्राप्त हुने बताउनुभयो ।

मेला उद्घाटनका अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका उद्योग समितिका सभापति राजेशकुमार अग्रवालले काम तथा शिक्षाको सिलसिलामा नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति बाहिरिइरहेको बताउनुहुँदै नेपालका उद्योगका लागि बाहिरबाट दक्ष जनशक्ति ल्याउनुपर्ने अवस्था रहेको बताउनुभयो । 

बुटवल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले विदेश जाने युवाहरूका कारण नेपालबाट योग्य जनशक्तिसँगै पुँजी पनि पलायन भइरहेको बताउनुहुँदै यो क्रम रोकिएन भने समस्या गम्भीर हुने बताउनुभयो । 

स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका युवालाई लक्षित गरी रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले रोजगारदाताहरू समेतको सहभागितामा मंगलबार र बुधबार गरी दुई दिन मेला सञ्चालन गरिएको हो ।