• १२ वैशाख २०८१, बुधबार

मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार

कांग्रेसका दुई र नेकपा (एस) का एक मन्त्रीद्वारा शपथग्रहण

blog

धर्बेन्द्र झा 

धनुषा, जेठ ९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । 

नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, नेपाली कांग्रेसकै वीरेन्द्र प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेकपा (एकीकृत समाजवादी)का मधेश प्रदेश संसदीय दलका नेता गोविन्द न्यौपानेलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । 

यसअघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका वसन्त कुसवाहा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सुरिता साहले समाल्दै आउनुभएको थियो । कुसवाहा र साहलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ । 

नवनियुक्त तीनै जना मन्त्रीलाई मधेश भवनमा एक कार्यक्रमकाबीच मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ । 

शपथ ग्रहण कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री यादवले छ दलीय गठबन्धनको सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार गरिएको र बाँकी रहेका मन्त्रालयको विषयमा पनि छलफल भइरहेको र यसै साता विना विभागीय मन्त्रीहरूलाई पनि जिम्मेवारी तोक्ने बताउनुभयो ।