• ८ वैशाख २०८१, शनिबार

नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्छ : प्रधानमन्त्री

blog

सांसदको प्रश्नो जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्ने बताउनुभएको छ । मङ्गलबार राष्ट्रिय सभा बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गर्नुभएको हो ।

प्रधानमन्त्रीले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्नुहुँदै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका नवीन सोच र कार्यक्रमहरू सोचिएको पनि जानकारी दिनुभयो ।

‘‘प्रस्तुत नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौतीको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको छ । यस नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका नवीन सोच र कार्यक्रमहरू सोचिएका छन् ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘निश्चय पनि यस दस्ताबेजमा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता पनि दिइएको छ । त्यसकै आधारमा मात्रै यसलाई परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्क सङ्गत हुँदैन । किनभने यो नीति तथा कार्यक्रममा थुप्रै नयाँ कार्यक्रमहरू पनि समावेश गरिएका छन् । जो आजको देशको आवश्यकतासँग सम्बन्धित छ ।’’

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिएकै आधारमा परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्क सङ्गत नहुने जिकिर गर्नुभयो । उहाँले नीति तथा कार्यक्रममा नयाँ योजनाहरू राखेको बताउनुभयो । प्रधानमन्त्रीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको भएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यो नीति तथा कार्यक्रम तयार पार्दै गर्दा हामीले दुई वटा गठबन्धन म प्रधानमन्त्री भएपछि बने, पहिलो र दोस्रो गठबन्धन, पहिलो गठबन्धनको सैद्धान्तिक प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भनेर घोषणा गरिएको थियो, दोस्रोले पहिलाको समेतलाई ध्यानमा राखेर अर्को तयार पारेको हो । यो नीति कार्यक्रम हामी सबैको राष्ट्रिय सहमतिको हो । हामीले साझा नीति तथा कार्यक्रम सामूहिक रूपले निर्माण गर्‍यौँ ।’’

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममा नयाँ र पुराना योजनाहरूको सन्तुलन मिलेको दाबी गर्नुभयो ।