• ८ वैशाख २०८१, शनिबार

प्रदेश सरकारलाई विशेष अधिकार दिन अर्थमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको ज्ञापनपत्र

blog

प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महत महतलाई ज्ञापनपत्र बुझाउँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नेतृत्वको टोली । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ ९ गते । सुदूरपश्चिम प्रदेश सरकारले सङ्घीय अर्थमन्त्री डा.प्रकाशशरण महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

मङ्गलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा आएको टोलीले अर्थमन्त्री महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख, प्रमुख प्रतिपक्ष दलका नेता र प्रदेश सरकारका मन्त्रीहरूको सहभागिता रहेको थियो ।

अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएपश्चात् सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै सुदूरपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले सङ्घीय सरकारसँग स्रोत परिचालनमा विशेष अधिकार प्रदेश सरकारलाई दिन माग गरेको बताउनुभयो । उहाँले सङ्घीय सरकारका अर्थमन्त्री महतले प्रदेश सरकारको मागमा आफू सकारात्मक भएको बताउनुभएको जानकारी दिनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशलाई विगतमा सङ्घीय सरकारले बनाएका नीति, सरकारी स्रोतको प्रयोगमा सुदूरपश्चिमलाई गरिएको उपेक्षा र लगानीको प्राथमिकतामा उपेक्षाका कारण स्रोतमा कमजोर भएको औँल्याउनुभयो ।

मन्त्री शाहीले सुदूरपश्चिम प्रदेश मानव विकास सुचाङ्क, गरिबी, शिक्षा स्वास्थ्यमा पछाडि पारेबापत क्षतिपूर्तिको दाबी गर्न सङ्घीय निकायहरूमा धाएको बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशलाई स्रोत परिचालन, लगानीमा विशेष प्राथमिकता पाउनुपर्ने धारणा राख्नुभयो ।

‘‘सङ्घीय सरकारलाई सुदूरपश्चिम प्रदेशको तर्फबाट मुख्य मन्त्रीको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सभाका सभामुख, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता राजेन्द्र रावल र मन्त्रीहरू ज्ञापनपत्र बुझाउन आएका छौँ । सुदूरपश्चिम प्रदेशलाई विगतमा लादिएका नीति, सरकारी स्रोतको प्रयोगमा सुदूरपश्चिमलाई गरिएको उपेक्षा र लगानीको प्राथमिकतामा उपेक्षाका कारण स्रोतमा कमजोर भयो । त्यसकारण सुदूरपश्चिम प्रदेश मानव विकास सुचाङ्क, गरिबी, शिक्षा स्वास्थ्यमा पछाडि प¥यो ।,’’ मन्त्री शाहीले भन्नुभयो,  ‘‘त्यसरी विगतमा सङ्घीय सरकारले हरेक क्षेत्रमा पछाडि पारेकाले त्यसको क्षतिपूर्तिको दाबी गर्न सङ्घीय निकायहरूमा आएका छौँ । सुदूरपश्चिम प्रदेशलाई स्रोत परिचालन, लगानीमा विशेष प्राथमिकता पाउनुपर्छ  । बजेटमा समालिकरण अनुदानको अन्तिम किस्तामा पाउनु पर्ने रकमको ५० प्रतिशत कटौती भएको छ । आगामी वर्षमा आउने बजेट आकारको कमीको कारणले सुदूरपश्चिम प्रदेश सरकारको भुक्तानीमा समस्या आउने छ । सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिनुपर्छ भन्ने माग हो ।’’

उहाँले बजेटमा समालिकरण अनुदानको अन्तिम किस्तामा पाउनुपर्ने रकमको ५० प्रतिशत कटौती भएको बताउनु भयो । आगामी वर्षमा आउने बजेट आकारको कमीको कारणले सुदूरपश्चिम प्रदेश सरकारको भुक्तानीमा समस्या आउने भन्दै प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिनुपर्छ भन्ने माग गरिएको मन्त्री शाहीको भनाइ छ ।