• १६ चैत २०८०, शुक्रबार

मिटरब्याजी सम्बन्धी उजुरी बढ्दै

blog

मिटरब्याजीबाट पीडितहरु जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी दर्ता गराउने क्रममा ।

महोत्तरी, जेठ ९ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी एक हजार सात सय ३४ वटा निवेदन दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जेठ ८ गतेसम्ममा एक हजार सात सय ३४ निवेदन दर्ता भएको र निवेदन दर्ता गराउने म्याद थप भएकोले निवेदनको सङ्ख्या बढ्न सक्ने बताउनुभयो । 

पहिलो दिनमा पाँच वटा मात्रै उजुरी परेकोमा दिन प्रतिदिन सङ्ख्या बढ्दै गएको सहायक प्रजिअ न्यौपानेले बताउनुभयो । सरकारले मिटरब्याजीविरुद्ध अध्यादेशमार्फत कानुन बनाई ठगी गर्ने साहुहरूलाई कानुनी कारबाही गर्ने निर्णय बमोजिम पीडितहरूलाई न्यायको लागि निवेदन दिन आग्रह गरेपछि निवेदन सङ्कलन थालिएको हो । 

वैशाख १७ गतेदेखि सुरु भएको निवेदन दिने क्रम सरकारले निवेदन सङ्कलनको समय बढाउँदै लगेपछि निवेदन पनि बढेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । अधिकांश निवेदनहरू पीडितहरू आफैँले दिने गरेको देखिएको छ ।

मिटरब्याजीविरुद्धको कारबाहीमा प्रशासन कार्यालयले सहजीकरण गरिरहेको जानकारी दिनुहुँदै सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले भन्नुभयो, ‘हेल्प डेस्क स्थापना गरेर पीडितहरूलाई परामर्श दिने, निवेदन सङ्कलनमा सघाउने, सूचना उपलब्ध गराउने जस्ता कार्य गरिरहेका छौँ । पीडितहरू बढी जिल्लाको उत्तरवर्ती र पश्चिमवर्ती पालिकाहरूबाट आउने गरेको छ । महोत्तरीका मिटरब्याजीको रूपमा रहेका अनिरुद्ध साह, सञ्जय रौनियार, श्याम परदेशीसहितकोविरुद्ध बढी उजुरी परेको देखिएको जनाइएको छ । 

आयोगले आवेदन फाराम खोल्नुभन्दाअघि अगाडीदेखि नै महोत्तरीमा मिटरब्याजी विरुद्धको उजुरीहरू सङ्कलन गरेर कारबाही गर्ने गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । आयोगको आवेदनपूर्व नै तीन सय २१ वटा ठाडो निवेदन परेको र त्यसमध्ये २१ वटा मिलापत्र, ३८ वटा निवेदनमाथि छानबिन गरिरहेको बताउनुहुँदै सहायक प्रजिअ न्यौपानेले अरू कतिपय उजुरीहरू अदालतमा विचाराधीन रहेको देखिएकोले त्यसै राखिएको बताउनुभयो । 

गरिबी र सोझोपनको फाइदा उठाउँदै साहुहरूले दिएको रकमको तिहाइ, चौथाइ कपाली कागज गराउनाका साथसाथै जग्गासमेत आफ्नो नाममा साहुहरूले दर्ता गराइ अन्याय गरेको अधिकांश पीडितले उजुरीमा उल्लेख गरेका छन् ।

जिल्लामा पटकपटक मिटरब्याजीलाई कारबाहीको माग गर्दै आन्दोलनहरूसमेत भएको छ ।