• १५ चैत २०८०, बिहिबार

तातोपानी नाकाको कन्तबिजोग

blog

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ ९ गते ।  वैशाख १८ अर्थात् मे १ देखि दुईतर्फी रूपमा तातोपानी नाका सञ्चालनमा आए पनि हालसम्म उक्त नाका आंशिक रूपमा एकतर्फी सञ्चालनमा छ । मे १ मा नेपालबाट तीन कन्टेनर मुढा, हस्तकलाका सामग्री, म्याट्रेस चीनतर्फ निर्यात भए पनि त्यसपछिका दिनमा अहिलेसम्म कुनै पनि सामान निर्यात भएको छैन । त्यस कारण तातोपानी नाका कन्तबिजोग र सुनसान छ । 

चीनले निर्माण गरिदिएको मितेरी पुल, बन्दरगाहबाहेक नाकाको सबै भौतिक संरचना, पूर्वाधार, अध्यागमन कार्यालय, सडक जीर्ण र नाजुक अवस्थामा छन् । भूकम्पले ध्वस्त कार्यालयहरू उठ्न सकेका छैनन् । नाकावासी विस्थापित भएका छन् । उनीहरू फेरि नाकास्थित घरमा फर्केर निजी आवास पुनर्निर्माण गरेर बसेका छैनन् । सरकारीदेखि निजी आवाससम्म लथालिङ्ग र भताभुङ्ग छन् । बाढीपहिरो र भूकम्पले क्षति पु-याएका सरकारी कार्यालय, बैङ्क, विभिन्न व्यापारिक सङ्घ, संस्था, होटललगायतका संरचना पुनर्निर्माण भएका छैनन् । 

मितेरी पुलस्थित पुरानो भन्सार कार्यालय जीर्ण बनेको छ । भूकम्पले क्षतविक्षत भएका उक्त भवन ढल्नै लागेको छ । पुरानो भन्सार यार्ड खाली छ । भूकम्पपछि बन्द भएको अध्यागमन कार्यालयको ढोका अहिलेसम्म बन्द हँुदै आएको छ । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई ड्युटी गर्दा पानी र घामबाट ओत लाग्ने संरचना छैन । भूकम्प र पहिरोले माथिबाट आएको ढुङ्गा, माटो सडक किनारामा छरपस्ट छन् । माथिबाट आएका ठाडा खोला सडकमा बगिरहेका छन् । मितेरी पुलबाट बाह्रबिसेसम्मको २८ किलोमिटर सडक नाजुक छ ।

कोदारी खण्ड, झयाले भिर, घट्टेखोला, डाक्लाङ, सिरिसे, जम्बु, खाग्दल, चाकु र नयाँ पुलबिचको खण्डको अवस्था नाजुक छ । उक्त सडकखण्डमा मालवाहक कन्टेनर आउजाउ गर्न अति कठिन छ । भोटेकोशी नदीले सडक तानिरहेको छ । माथिबाट पहिरोले सडकमा क्षति पु-याइरहेको छ । सडक मर्मतसुधार कमसल र गुणास्तरहीन छ । सडक मर्मतका नाममा ठेकेदार र उपभोक्ता समितिलाई पैसा कमाउने थलो मात्रै बनेको छ । 

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा प्रमुख दयानन्द केसीले चीनबाट दैनिक तीन वटादेखि २५ वटा मालवाहक कन्टेनर नाका भित्रिँदै आएको बताउनुभएको छ । कहिले त एउटा कन्टेनर पनि नआउने गरेको छ । अहिले उक्त नाकाबाट युरिया मल, स्याउ, लसुन, कृषि सामग्री, रोल कपडालगायतका सामान आयात भइरहेका छन् तर निर्यात भने अहिलेसम्म नभएको उहाँले दुखेसो गर्नुभयो । चिनियाँ पक्षबाट माग नआएपछि निर्यात हुन नसकेको व्यापारीले जनाएका छन् । सिल्क ट्रान्सपोर्टका दुई वटा गाडी र नमस्ते ट्रान्सपोर्टको एक गाडीले मे १ मा चीनतर्फ मुढा, म्याटे«स, हस्तकलाका सामग्री निर्यात गरेका थिए । त्यसपछि अहिलेसम्म कुनै सामान निर्यात नभएको केसीले बताउनुभयो ।  

आयातमा कमी र निर्यातमा शून्यता जस्तै भएपछि चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व सङ्कलन नहुने निश्चित जस्तै भएको भन्सार कार्यालयले जनाएको छ । चालु आवमा चार अर्ब ६२ करोड भन्सार राजस्व सङ्कलन लक्ष्य लिएकामा अहिलेसम्म दुई अर्ब २० करोड रुपियाँ राजस्व सङ्कलन भएको उक्त कार्यालयले बताएको छ । आयात निर्यातलाई प्रोत्साहन दिन ढुवानी कम्पनीहरूले न्यूनतम भाडादर कम राख्ने जनाएका छन् । सिल्क ट्रान्सपोर्ट, नमस्ते ट्रान्सपोर्ट, ग्लोबल म्याटिक्सलगायतका ढुवानी कम्पनीले सेवा दिने भएका छन् ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले तातोपानी नाका पूर्ण रूपमा बन्द भएको थियो । बाढीपहिरो, कोरोना महामारीका कारण आंशिक रूपमा एकतर्फी खुल्ने र बन्द हुने व्रmम चल्दै आएको थियो । नाकाको अवस्था दयनीय हुँदा नेपाल सरकारले बेवास्ता गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले बताउनुभयो । 

“पुरानै लयमा नाका सञ्चालनका लागि नेपाल सरकारले चिनियाँ सरकारसँग कूटनीतिक र परिणाममुखी वार्ता गर्नु पर्छ,” अध्यक्ष बस्नेतले सरकारलाई सुझाव दिनुभयो । सो नाका लामो समय बन्द हुँदा नाका आबद्ध व्यापारी, व्यवसायी केरुङ नाकाबाट कारोबार गर्न पुगे भने कतिपय व्यापारी विदेश पलायन भए । पाँच हजारभन्दा बढी चालक, मजदुरको रोजीरोटी गुमेको थियो । साना तथा मझौला व्यापारी कृषि र अन्य पेसामा आबद्ध हुन पुगेका छन् । नाकाका होटल व्यवसायीको लगानी डुब्यो भने बैङ्क, सहकारीलगायतका वित्तीय संस्था नाकाबाट उठेर हिँड्न बाध्य भए । अहिले केही पनि कार्यालय, व्यवसाय तातोपानी क्षेत्रमा छैनन् ।