• ८ वैशाख २०८१, शनिबार

बागमती प्रदेशको मन्त्रिमण्डल विस्तार हुँदै

blog

फाइल तस्बिर ।

काठमाडौँ, जेठ ७  गते । बागमती प्रदेशको मन्त्रिमण्डल आइतबार विस्तार हुने भएको छ । सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि मन्त्रिमण्डल विस्तार गर्न लागिएको हो । हाल बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा थप एक मन्त्रालय बनाएर १२ वटा बनाउने तयारी छ ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति नजुटेपछि मन्त्रालय फुटाएरै भए पनि मन्त्रिमण्डल विस्तार गरिने भएको हो । मुख्यमन्त्रीका स्वकीय सचिव विजय बुर्लाकोटीले दिउँसोसम्ममा मन्त्रिमण्डल विस्तार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

११ वटा मन्त्रालयमा हाल नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्रीसहित चार मन्त्री र नेपाली कांग्रेसबाट दुई मन्त्री छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले थप दुई वटा मन्त्रालय र कांग्रेसका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले थप तीन वटा मन्त्रालय सम्हाल्दै आउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले दुई र कांग्रेसले छ वटा मन्त्रालयकाे दाबी गर्दै आएका छन् । माओवादी केन्द्रले पाएको मन्त्रालय नछोड्दा, एकीकृत समाजवादी र कांग्रेसले आफ्नो दाबीबाट पछाडि नहट्दा मन्त्रालय थप्नु पर्ने अवस्था आएको हो । 

एकीकृत समाजवादीका नेता कृष्णप्रसाद खनाल शर्माले मन्त्रिमण्डल आजै विस्तार हुने बताउँदै आफ्नो पार्टीबाट लक्ष्मण लम्साल र डा. राजेन्द्रमान श्रेष्ठको नाम अगाडि आए पनि टुङ्गो नलागेको बताउनुभयो ।एकीकृत समाजवादीले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालय पाउने सम्भावना छ । 

यस्तै, कांग्रेसले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालय पाउने भएको छ । कांग्रेसबाट मन्त्री बन्नेमा पुकार महर्जनको नाम सार्वजनिक भएको छ । उहाँले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय पाउने पक्का भएको छ । उता, कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले कांग्रेसबाट जाने मन्त्रीका बारेमा छलफल भइरहेको जानकारी दिनुभयो ।

यसअघि गत चैत २६ गते कांग्रेसबाट दुई जना मन्त्री थप गरी छ सदस्यीय मन्त्रिमण्डल बनाइएको थियो ।

साथै, गत पुस २६ गते मुख्यमन्त्री जम्कट्टेलले तीन सदस्यीय मन्त्रिमण्डल बनाउनुभएकोमा गत माघ ११ गते मन्त्रिमण्डल विस्तारले पूर्णता पाएको थियो । 

यस्तै, चैत १० गते नेकपा एमालेका चार मन्त्री र गत फागुन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । रासस