कठिन तर रमणीय पाथीभरा यात्रा


माधव लामिछाने

‘पाथीभरा जाने समूह छ, जाने हो ?’ छिमेकी बाले सोध्नुभयो । अकस्मात् यस्तो प्रस्ताव आउँदा मन नरमाउने कुरै भएन । त्यति टाढाको ठाउँ । त्यसमाथि समूहमा जान पाउँदा किन गुमाउनु र मौका ! निम्तो मानेर स्वीकार गरियो । नेपालको सुदूर पूर्वोत्तरमा पर्ने पाथीभरा देवीको मन्दिरसम्मको यात्रा । शरद् ऋतुको आगमनसँगैको यात्रा रमाइलो हुने कुरामा कुनै शङ्का थिएन ।
बनेपा धुलिखेल हुँदै बीपी राजमार्गबाट पूर्वाञ्चलको यात्रामा निस्केका हामीहरूको पहिलो बास सिन्धुलीको मूलकोटमा भयो । बीपी राजमार्गको कलात्मक बनोट हेर्ने धेरै पहिलेदेखिको धोको पूरा हुँदै गर्दा निकै खुशी लागेको थियो । सिन्धुलीको मूलकोटबाट उठेर हिँडेका हामी भोलिपल्ट सिन्धुलीमाडी बर्दिबास हुँदै झापाको दमक पुगेर बस्यौँ । बाटामा पर्ने ठाउँहरूमा आँखा दौडाउँदै जाँदा कुन बेला झापा पुगियो पत्तै भएन ।
दमक बजार छाडेर हामी उत्तरतिर लाग्यौँ । गन्तव्य पाथीभरा बनाएर । जतिजति माथि गयो त्यति त्यति शीतल । त्यतित्यति सुन्दर । चारआलीबाट इलामतिर छुट्टिने रहेछ । प्रातकालीन चिसोमा इलाम प्रवेश गरियो । कतैकतै गाउँले घरहरू । हामीले कोल्बुङमा चियाबारी देख्यौँ । हर्कटे, कन्याम जस्ता चियाका सुन्दर बगैँचा हेर्दै हामी माईखोला त¥यौँ । इलाम बजार पुग्न तीनचार किलोमिटर तलैबाट बस दाहिनेतिर लाग्दोरहेछ । पाँचथर जान । देबे्रतिर गए इलामबजार पुगिने । हाम्रो गन्तव्य पाथीभरा भएकाले हामी पाँचथरतिरै मोडियौँ । इलामको अन्तिम सिमाना राँके बजार रहेछ । त्यहाँबाट पाँचथर शुरु हुँदोरहेछ । राँकेबाट हामी बिस्तारै तेर्सियौँ । केहीबेर तेर्सो गएपछि परबाट देखियो तल कतै एउटा सुन्दर टार । गुजुमुज्ज बस्ती । ‘ उ, देखियो फिदिम बजार, पाँचथरको सदरमुकाम । ’ कोही करायो बसभित्र । हामी सबैको ध्यान त्यतै खिचियो । हुन पनि माथि डाँडाबाट साह्रै सुन्दर देखियो पाँचथरको सदरमुकाम फिदिम बजार । यसपछि क्रमैसँग पाँचथरको गणेशचोक र फुङलिङ बजारतिर उक्लियौँ । पmुङलिङ बजारबाट ६ किलोमिटरको दूरीमा रहेको सुकेटार विमानस्थलमा हाम्रो बस त्यहीँ रोकियो । त्यहाँँबाट अगाडि बस जाँदो रहेनछ । बाटो त थियो । स्थानीय जिपहरूको एकाधिकार रहेछ । माथितिर बेलाबेला पानी पर्छ भन्ने कुरा सुनेर प्लास्टिक किनियो । एउटा जीपमा १४ जना अनिवार्य बस्नुपर्ने रहेछ । pathibhara
सुकेटारबाट देब्रेतिरबाट हुँदै जीप उक्लियो । जति माथि गयो बाटो उति कच्ची रहेछ । कतैकतै त पूरै हिलो । जीप नै गाडिएला जस्तो । घरि दायाँ, घरि बायाँ हल्लिँदै जीप अगाडि बढ्यो । तलतिर हे¥यो भने कता हो कता । मुटुनै सिरिङ्ग हुने । नआत्तिनु पनि किन । अझ, यसै बीचमा पानी सिमसिम पर्न थाल्यो । बाटो झन् चिप्लो । बल्लबल्ल एक घण्टापछि हामी झर्ने ठाउँ आइपुगेछ । जीपको सहयोगीको निर्देशन अनुसार सबै यात्रु झरेर हिँडेर उकालो लाग्यौँ । बाटोमा देखियो, माथितिर जान तयार तीर्थयात्रु उत्तिकै, माथितिरबाट झर्दै गरेका पनि त्यत्तिकै ।
बीस मिनेट जति हिँडेपछि आइपुग्यो एउटा बजार । तल्लो फेदी रहेछ यसको नाम । बस्नका लागि यहाँ होटलहरू पनि रहेछन् । उज्यालै थियो । माथिल्लो फेदी पुग्न भ्याइन्छ, यता नबस्नुहोस् भने फर्कनेहरूले गुराँसको घारीको बीचबाट बाटो अगाडि बढेको । गुराँसका फूलहरू पनि धेरै थरीका थिए । राता, गुलाबी, सेता आदि आदि । कुहिराले गुराँसका घारीमा लुकामारी खेलेर हामीलाई जिस्क्याइरहेको थियो । हामी राम्ररी जिस्किन पाएका थिएनौँ उकालोको थकाइले । सिमसिम पानीले शीतलता थपिरहेको थियो । नत्र उकालाको यात्रा झनै कठिन हुन्थ्यो होला । करिब दुई घण्टाको हिँडाइमा हामी उकालोको बीचमा, जङ्गलमै रहेको एउटा सानो बजारमा पुग्यौँ । अघि तल भनिएको माथिल्लो फेदी यही रहेछ । होटलहरू प्रशस्तै थिए तर बास पाउने लक्षणै थिएन । सबै भरिभराउ । बल्लबल्ल यौटा होटल भेटियो । हामीले त्यहीँ अनुरोध ग¥यौँ ।
राति साढे एक बजे निद्रा खुलेछ । सबै उठिसकेका रहेछन् । आस्थाको दियो मनभित्र बालेर मानिसहरू पाथीभरा दर्शनका निम्ति दौडिइरहेका थिए । मनभित्रको दियोको उज्यालोमा हामी पनि उक्लियौँ बिस्तारै पाथीभरा देवीको मन्दिरतर्फ । उकालो चढ्न थालेको केही बेरसम्म त सबैजसो सँगै थियौँ । तर बिस्तारै कोही अघि, कोही पछाडि भइएछ ।
जति माथि पुग्यो गोडाहरू उत्तिकै काम्न थाले । स्वाँस्वाँ बढ्न थाल्यो । यो रातको समयमा हिँड्नै नसके के गर्ने होला ? मनमा आउँथ्यो–‘ देवीको सम्झनाले सबै गाह्रो सकिन्छ । ’ नभन्दै त्यस्तो अशुभ भएन । पैताला बिस्तारै चालेर अगाडि बढियो ।
डाँडामा जाडो राम्रै थियो । कानेटोपी र बाक्लो ज्याकेट नभएको भए त सातो लिने रहेछ जाडाले । धन्न, बाक्लो लुगा लगेर राम्रै गरिएछ । डाँडामा पुगेर क्रमशः पूजा गर्न थाल्यौँ । गणेशलाई, शिवजीलाई । त्यसपछि मन्दिरभित्र गएर देब्रेबाट पूजा गर्न थालियो । देब्रेबाट दाहिनेतिर जाँदा मन्दिरमा धेरै मूर्तिहरू रहेछन् ।
आफूले लगेको पूजासामाग्रीले बिस्तारै क्रमैले पूजा गरियो देवी बाघमाथि चढेकी । देख्दै झलझलाकार मूर्ति । गरगहना र शृङ्गारका सामान अनि कपडाले सजिएकी देवी । उतिखेरै भक्तजनलाई बोलाउलिन् झैँ देखिने । कोही कोही पाथीभराको प्रसाद ल्याउन हुँदैन भन्थे, पछि त्यहाँका पुजारीलाई सोध्दा देवीको मन्दिरबाट प्रसाद नलगे के लाने त भनेर उनले उल्टै सोधे ।
पाथीभरा मन्दिरको नजिकै एउटा हवन कुण्ड रहेछ । बलि दिने ठाउँ केही तल । घण्टाहरू झुण्याउने ठाउँ पनि त्यहीँ नजिक । त्रिशूल राख्ने ठाउँ पनि छेवैमा रहेछ । ससाना पाटी जस्ता बस्ने ठाउँहरू पनि रहेछन् डाँडामा ।
यो मन्दिर हिन्दू तथा बौद्ध दुवै धर्मावलम्वीको आस्थाको केन्द्र मानिँदोरहेछ । अन्न भरेको पाथीझैँ सुन्दर पहाडको थुम्कामा रहेकी छन् पाथीभरा देवी । थुम्को मनमोहक छ । पाथी जस्तै थुम्कामा रहेकी देवी भएकाले पनि पाथीभरा नाम रहन गएको विश्वास गरिन्छ । लिम्बू समुदायले पाथीभरा देवीलाई ‘मुक्तुबुङ’ अर्थात् शक्ति वा बलको स्रोत वा बाटाको रूपमा लिँदा रहेछन् । पाथीभरामा सिंहवाहिनी देवीका मूर्ति छन् । जनविश्वासअनुसार पाथीभराको दर्शन गरेमा जन्मै हातगोडा नचलेका मानिस पनि हातगोडा चलेर हिँड्न सक्ने बन्ने, दृष्टिविहीनका आँखामा ज्योति भरिन्छ, निःसन्तानलाई सन्तान लाभ हुन्छ गरिब धनी हुने जस्ता विभिन्न जनविश्वास छ । मन्दिर उक्लँदा माथिल्लो फेदीमा बास बस्दा त्यहाँ नजिकै कान्छीथान भन्ने स्थान रहेछ जहाँबाट काँचो धागो बाँध्दै पाथीभराको मन्दिरसम्म पुग्ने पनि चलन रहेछ । यसरी धागो बाँधे आयु लामो हुन्छ भन्ने विश्वास रहेको पाइन्छ ।
अनुहारभरि मकैको सातु दलेर उकालो चढे लेक लाग्दैन भन्ने विश्वास रहेछ । मान्छेहरू होलीमा रङ दले जस्तै बनाएर अनुहारमा सातु दलेर उक्लँदै थिए । लेक नलाग्ने विश्वासमा त्यसो गरिएको रहेछ । यहाँ मान्छेले मान्छेलाई बोकेर मन्दिर लगिरहेका र झरिरहेका पनि देखिए । pathi
आर्थिक पाटो हेर्दा धार्मिक पर्यटनमा निस्किएका मानिसहरूले गरेको खर्चले त्यहाँको आय ह्वात्तै बढेको छ । कम्तीमा पनि मान्छेलाई पाँच÷छ महिना कमाउने पीरले सताउँदैन । मान्छे र भारी बोकेर, होटेल तथा चियाचमेना गृह खोलेर, पसल खोलेर पनि राम्रै आय गरिरहेका छन् । यहाँ एक जना मान्छे बोक्न प¥यो भने केजीको रु. १००÷– लिने चलन रहेछ । पचास किलो आसपासको मान्छे बोकेमा सहजै रु. ५०००÷– कमाउन सकिने रहेछ । फेदीबाट बोकेर माथि पु¥याई दर्शन गराएर फेरि फेदी ल्याउन त्यस्तै चार÷पाँच घण्टा लाग्दोरहेछ स्थानीय भरियाहरूलाई । जब कि बाहिरका मान्छेहरूलाई उकालो चढ्न नै करिब पाँच घण्टाको समय लाग्छ । यसरी हेर्दा भरियाहरूको कमाइ राम्रो मान्नुपर्छ ।
हजारांँै भक्तजनका आस्थाकी केन्द्र पाथीभरा मन्दिरमा जान केवलकारको निर्माणको पनि चर्चा रहेछ तर तल्लो फेदीबाट पैदल उकालो लाग्नुपर्ने अवस्था छ अहिलेसम्म । बाटामा सबैतिर राम्ररी ढुङ्गा छापिएको छ । तीर्थयात्रुले प्रयोग गरेर फालेका खानेकुराका खोलहरूले बाटाको वरिपरि प्रदूषण बढाइरहेको देखिन्छ । यसको सरसफाइतर्फ सम्बन्धित सबैको ध्यान जान सके यस क्षेत्रको सरसफाइ कायम हुने देखिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds