• ६ वैशाख २०८१, बिहिबार

अनुसन्धानमा बाधा पुग्नेगरी दुष्प्रचार नगर्न काउन्सिलको अपिल

blog

काठमाडौं, जेठ ४ गते । प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पछिल्लो घटनाक्रमका विषयमा कतिपय सञ्चार माध्यम एवं सञ्चार माध्यमको झल्को दिनेगरी भ्रम फैलाउने सामाजिक सञ्जाल (युट्युब,फेसबुकलगायत)बाट दुष्प्रचार भएको बताएको हो ।

काउन्सिलले यथेष्ट प्रमाण बिना र अपुष्ट स्रोत/बयानकोबारेमा दुष्प्रचार गरी घटनासँग असम्बन्धित व्यक्ति, सङ्घ संस्था, राजनीतिक दल र नेताको चरित्र हत्या एवं मानहानि हुनेगरी भएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । "समाजमा भ्रम/अफवाह फैलाउने, अतिरञ्जित गर्ने, अनुसन्धान र न्यायिक निरूपणमा प्रभाव पार्ने किसिमबाट सत्य,तथ्य एवं सन्तुलन विमुख भई सामग्री सम्प्रेषण हुनु पत्रकारिताका मूल्य र मान्यताविपरीत कार्य हो," काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सह-प्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सञ्चार माध्यम र सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीबारे उजुरी र गुनासा आउने क्रम बढेको भन्दै विज्ञप्तिमा पत्रकारिताको मूल्य, मान्यताविपरीत र आचारसंहिता प्रतिकूलका कुनै पनि सामग्री सम्प्रेषण नगर्न/नगराउन भनिएको छ । 

पेसागत आचरण विपरीत, आधार प्रमाण पुष्टि नहुने, अनुसन्धान,छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा गम्भीर असर पर्ने गरी सम्प्रेषित सामग्रीले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६)को दफा ४(३), ४(६) र ५(११) उल्लङ्घन हुन्छ । 

काउन्सिलले सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीबारे नियमित अनुगमनका साथै प्राप्त उजुरी र जनगुनासाको सुनुवाइ गर्दै आएको छ ।