• ७ वैशाख २०८१, शुक्रबार

भ्रष्टाचारमा ठूला दलको संलग्नता रहेको अध्यक्ष लिङ्देनको आरोप

blog

राप्रपाले भ्रष्टाचारविरुद्ध काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनीलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष राजेन्द्र लिङ्देन । तस्बिर : कविता थापा

काठमाडौं, जेठ ४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार काण्डमा सबै ठुला दलका नेताको संलग्नता रहेको आरोप लगाउनुभएको छ ।

बिहीबार राप्रपाले भ्रष्टाचारविरुद्ध काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनीलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले ठुला दलको संलग्नता भएका कारण जतिसुकै ठुला भ्रष्टाचारका मुद्दा सार्वजनिक भए पनि आयोग गठन गर्ने वा अनुसन्धान गर्ने नाममा फासफुस हुने आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभयो, “सबै प्रकारका ठुला भ्रष्टाचार काण्डमा सबै दलको नेताको संलग्नता छ । सबै ठुला दलका नेता संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचारका मुद्दा सार्वजनिक भएपनि अन्तत्वगतः आयोग गठन गर्ने, अनुसन्धान गर्ने नाममा फासफुस भएका छन् । सबै भ्रष्टाचार काण्डमा सर्वदलीय सहमति जस्तो छ ।”

उहाँले नक्कली तथा कमसल पुल, सडक बनाएर लाइसेन्सको ठेक्कापट्टामा भ्रष्टाचार हुँदै आएकोमा नागरिक समेत नक्कली बनाएर भ्रष्टाचार गरेको देखिएको उल्लेख गर्नुभयो ।

अध्यक्ष लिङ्देनल भन्नुभयो, “आफ्नो जनता बेचेर खाने कस्तो कल्पना होला । यो भन्दा दुःखदायी र लज्जास्पद विषय केही पनि हुँदैन । नेपालको शिर झुक्ने काम भएको छ । कति अर्ब, खर्ब, करोड भ्रष्टाचार भयो भन्ने मात्र होइन यो, राज्यविरुद्धको अपराध हो । त्यसैले यो अपराधमा कसैले पनि उन्मुक्ति पाउनुहुँदैन ।”

उहाँले पञ्चायत, राजा वा २०४६ सालपछिका सब उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, “पञ्चायतले भ्रष्टाचार गरेका छन् भने किन छानबिन गर्दैनन्, गरुन् । राजाले पनि भ्रष्टाचार गर्नुपर्छ भन्ने हुँदैन । भ्रष्टाचारको छानबिन म बाट सुरु गरे हुन्छ । म पनि ४० दिन उपप्रधानमन्त्री हुँदा खरबभन्दा बढी बजेट भएको मन्त्रालयमा थिएँ । भ्रष्टाचारविरुद्धको कुरा गर्दा विक्रम पाण्डेको सिँक्टा सिँचाइको कुरा उठ्ने गरेको छ ।”

पाण्डेको सन्दर्भमा भ्रष्टाचार देखिएको अवस्थामा पार्टीबाट निष्कासन गरिने समेत उहाँले बताउनुभयो ।