• १६ चैत २०८०, शुक्रबार

अब डुब्ने छैन डबकपुर

blog

डबकपुरकाे तटबन्धन आयोजना ।

गोकर्ण पौडेल 

तुलसीपुर, जेठ ४ गते । प्रत्येक वर्षायाममा डबकपुरवासीलाई एउटै चिन्ता हुन्थ्यो कि बबई नदीले डुबाउँला भनेर । अब त्यो चिन्ता हटेको छ । बस्ती जोगाउन तटबन्धन सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको डबकपुरमा करिब ५० घरधुरी रहेको छ । २०७९ असोजमा बाढीले कटान गर्दै नदी बस्तीसम्म पुगेको थियो । 

तुलसीपुर १४ का डबकपुरका मतहवा गुरीलाल चौधरीले वर्षायाममा बस्ती डुबाउने डरले रातभर जाग्राम बस्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘अब यो वर्षदेखि ढुक्क हुने भयौँ, तटबन्धन भएपछि बस्ती डुबाउने छैन ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले २०७९ सालमा आएको बाढीका कारण बस्ती नै जोखिममा पुगेपछि बस्ती जोगाउन तटबन्धको काम सुरु गरेको बताउनुभयो । उहाँले दीर्घकालीन रूपमा समस्या समाधानका लागि बबई काेरिडोरकारुपमा जिल्लाका दश वटै पालिकामार्फत सङ्घीय सरकार समक्ष माग गरिएको बताउनुभयो । उहाँले बाढीका कारण जोखिम क्षेत्रमा रहेका बस्ती जोगाउने काम पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । 

नगरप्रमुख खड्काले स्थानीय सरकारबाट मात्रै सम्भव नदेखिएकाले प्रदेश र सङ्घ सरकार समक्ष समेत बस्ती जोगाउने कामका लागि थप बजेट माग गरिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष शङ्कर खड्काले बस्तीदेखि उत्तरतर्फ जनताको तटबन्धन आयोजनाबाट खेतीयोग्य जमिन बचाउनका लागि तटबन्धनको काम सुरु हुन थालेको बताउनुभयो ।

उहाँले तटबन्धको काम सुरु भएसँगै बस्तीसँगै खेतीयोग्य जमिन बचाउन थप तटबन्धको काम सुरु गर्नुपर्ने बताउनुभयो । वडाध्यक्ष खड्काले २०७९ सालमा आएको बाढीका कारण वडा नम्बर १४ मा मात्रै ९० बिघा खेतीयोग्य जमिन कटान भएको बताउनुभयो । उहाँले खोलामा बाढीका कारण गिट्टी बालुवा थुपारेको र त्यो निकाल्न नसक्दा थप कटान गर्ने बताउनुभयो ।