• १५ चैत २०८०, बिहिबार

घोडाघोडीमा घोडा सवारबाट ताल अवलोकन गर्ने व्यवस्था

blog

घोडाघोडी तालमा घोडामाथि बसेर तालको अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी, जेठ ४ गते । जैविक विविधताले महत्त्वपूर्ण कैलालीको घोडाघोडी तालमा घोडामा सवार भएर ताल क्षेत्रको अवलोकन गराइन थालेको छ । यसले गर्दा घोडाघोडीको आकर्षण थप उचाइमा पुगेको हो । 

स्थानीय धनबहादुर शाहीले आफ्नो पुर्खौली जिल्ला कालीकोटबाट दुई वटा घोडा ल्याएर अहिले घोडाघोडीमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई घोडाघोडी ताल घुम्ने व्यवस्था मिलाउनुभएको छ ।

घोडाघोडी नगरपालिका –१ घोडाघोडी गाउँका शाहीले विश्व रामसार सूचिमा सूचीकृत भएर देश विदेशमा नाम कमाएको घोडाघोडी तालमा घोडाबाट पर्यटकलाई तालको दृश्यावलोकन गराउने उद्देश्यले दुई लाख भन्दा बढी खर्चेर घोडा ल्याउनुभएको हो ।

गत फागुनदेखि घोडाबाट घोडाघोडीमा ताल क्षेत्रमा सवार चलाउन थालिएको हो । सुरुमा एउटा घोडा र पछि अर्को पनि थप्नुभएका शाहीले तराईका लागि घोडाको सवारी नयाँ भएको बताउनुभयो । “नयाँ युवायुवती टिकटक र फोटो खिचाउनका लागि एकछिन घोडामा चढेपनि घोडा सवारमा खासै रुचि भने राखेको देखिँदैन ।

बाहिर जिल्लाबाट आउने पाका उमेरका मानिसहरू बढी घोडा चढ्न रुचाउँछन्” शाहीले खुसी हुँदै भन्नुभयो, “कोही कोही त खुसी हुँदै तोकिएको शुल्कभन्दा बढी रुपियाँ पनि दिनुहुन्छ , एकजना सेवा निवृत्त कर्मचारीले त दुई सय घोडा सवार शुल्क थियो एकहजार दिएर जानुभयो ।” 

धनबहादुरलाई घोडा सवार कार्यमा उहाँको फुपूका छोरा विनोदकुमार शाहीले साथ दिनुभएको छ । धेरै भीड भएका बेला दुवै जनाले पालैपालो गरेर घोडासवार गराउनु हुन्छ भीड नहुँदा एक्लैले पनि सवार गराउन सकिने विनोद बताउनुहुन्छ ।

तालको चारैतिर बाटो नबनेकोले अहिले तालको अगाडिपट्टी बनेको करिब दुई किलोमिटर बाटोमा घोडासवार गराइन्छ । भिडभाडका दिन बाहेक अन्य दिनमा घोडासवारबाट खासै कमाई नभएपनि भविष्यमा राम्रै हुने आस विनोदलाई छ । 

“सुरुसुरुमा हो प्रचारप्रसार पनि भएको छैन, थाहा पाएर आउने जति घोडाघोडीमा वास्तविक घोडा चढ्न पाउँदा खुसी व्यक्त गर्छन्,” विनोदले भन्नुभयो, “स्थानीय सरकारले पनि व्यवस्था मिलाउँछौँ भनेका छन्, अहिले त कमाएको हिसाबले फाइदा छैन र घोडाघोडीमा घोडा सवारको सुविधा दिन पाउँदा त्यसैमा सन्तुष्ट छौ ।”

घोडा सवारबाट तालको अवलोकन गर्न पाउँदा फरक खालको रमाइलो लागेको धनगढीका रमेश कुँवरले बताउनुभयो । उहाँले पहिलो पटक एक सय रुपियाँ तिरेर पाँच सय मिटर जति घोडासवार गरेको बताउनुभयो । यसै क्षेत्रमा भएपनि घोडाघोडी घुम्नकै लागि पहिलोपटक साथीहरूसँग आएको बताउने रमेशले घोडाघोडी ताल निकै रमणीय लागेको अनुभव सुनाउनुभयो ।