• ६ चैत २०८०, मङ्गलबार

कपिलवस्तुका उखु किसान आन्दोलित

blog

उखु बेचेको रकम नपाएपछि माइतीघरमा धर्ना बस्दै कपिलवस्तुका कृषक । तस्बिर : किसान संघ ।

जानु पाण्डे

कपिलवस्तु, जेठ ४ गते । कपिलवस्तु शिवराज नगरपालिकाका कृषक उखु बेचेको पैसा खोज्न काठमाडौं पुगेका छन् । शिवराजको वडा नम्बर ७ जवाभारीमा रहेको महालक्ष्मी सुगर मिलले आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले केन्द्र सरकारको ध्यानाकर्षण गराउन कृषक काठमाडौं पुगेका हुन् । 

सरकारको ध्यानाकर्षण गराउन ३० जना अगुवा उखु कृषकहरू बुधवारदेखि माइतीघरमा धर्नामा बसेका छन् । आठ हजार बढी कृषकहरूले करिब दुई करोड ५० लाख रुपियाँ नपाएको किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभयो । 

सरकारले प्रति क्विन्टल उखुको मूल्य चार सय ६१ रुपियाँ निर्धारण गरेको थियो । तर मिल सञ्चालक वीरेन्द्र कुमार कनोडियाले चार सय ३६ रुपियाँ भुक्तानी गरेका थिए । बाँकी रहेको २५ रुपैयाँ अनुदान स्वरूप केन्द्र सरकारबाट पाउने सम्झौता भएको चौधरीको दाबी रहेको थियो । 

यस्तै, ०७१/०७२ पछिका ३ वर्षसम्म सरकारले तोकेको मूल्य पाएका थिएनन् । कृषकले पाउनु पर्ने मूल्य रोकिँदा समस्यामा परेको जवाभारीका कृषक रामलाल कलवारले बताउनुभयो । 

कलवारले भन्न भयो, "ठुला कृषकको दुई लाख भन्दा धेरै रकम रोकिएको छ । तर पनि राज्यले बेवास्ता गरे जस्तो अनुभव भएको छ । अब किसानको कि लास आउँछ कि पैसा आउँछ । पटकपटक सरकार र मिल सञ्चालकलाई अनुरोध गर्दा कुनैबाट पनि सुनुवाइ भएको छैन ।"

सरकारको ध्यानाकर्षण गराउनका लागि कृषकहरू ४७ पटक काठमाडौं धाएको बताउने गरेका छन् । मिल सञ्चालक वीरेन्द्र कुमार कनोडियाले महालक्ष्मी सुगुर मिल कपिलवस्तुबाट सर्लाही सारेपछि पैसा पाउने आशा मरेको कृषकहरूले बताउँछन् । पटक पटकको आन्दोलन पछि २०७७ सालमा सरकारसँग अनुदान रकम दिने सम्झौता भएपनि हालसम्म पनि नपाएको कलवारले बताउनुभयो ।