आँसुदेखि आशासम्म

nirmal acharyaनिर्मलकुमार आचार्य

महाभूकम्पले पारेको घाउ ज्यादै गहिरो र वेदनामय छ । यसबाट सहज पार पाउन निश्चय नै सम्भव छैन । वैशाख १२ गते शनिवार दिउँसो आएको महाभूकम्पले हजारौंको ज्यान लिएको छ भने हजारौं हजार घाइते भएका छन् र घरबारविहीन हुनेको संख्या धेरै छ । महाभूकम्पमा आफन्तजन गुमाएका व्यक्तिका लागि दिवंगत आत्माको चिरशान्तिको कामना बाहेक रिक्ततापूर्ति गर्ने अर्को कुनै उपाय छैन । महाभूकम्पमा ढलेका, धरापमा परेका र क्षतिग्रस्त भएका घरले दारुण कथा सुनाइरहेका छन् । यत्र, तत्र ढलेका, लडेका र क्षतिग्रस्त भएका गौरवशाली राष्ट्रिय सम्पदा समेत प्राकृतिक विनाशचक्रको चपेटामा परेका छन् । कैयन् अस्पताल, स्वास्थ्यकेन्द्र र शैक्षिक प्रतिष्ठान आदिको त्यही दुर्गति छ । राज्यको शक्तिसन्तुलनका प्रमुख तीन शक्ति न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका, यी तीनै पक्षका केन्द्रालय सर्वोच्च अदालत, संविधानसभा भवन तथा सिंहदरवार समेत महाभूकम्पको असरबाट मुक्त छैनन् ।
महाभूकम्पले खासगरी सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, गारेखा, धादिङ, रसुवा, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, दोलखा, मकवानपुर, रामेछाप, सोलुखुम्बु र सिन्धुली जिल्लालाई ज्यादै असर पारेको छ । मानवीय खोजी, उद्धार तथा राहतका काममा राष्ट्रिय, अन्तर्राष्ट्रिय, सरकारी, गैरसरकारी प्रयास जारी रहे पनि कतिपय ठाउँमा पुग्न निकै ढिलाइ भएको गुनासो छ । यस्ता विपदका घडीमा जुन युद्धस्तरमा उद्धार तथा राहतका काम अघि बढ्नुपथ्र्यो, त्यो नभएको यथार्थ स्वीकार्न आनाकानी गर्नुहँुदैन । महाभूकम्प, बाढी, पहिरो, महामारी जस्ता प्राकृतिक विपत्तिको सामना गर्न यहाँ सोच, सक्रियता र संयन्त्रको अभाव खट्किएको छ ।
वि.सं.१९९० सालको माघ २ गते आएको विनाशकारी महाभूकम्पबाट चाहिंदो शिक्षा लिन नसकिएकामा बिरलै विमति होला । भूकम्पीय जोखिमका दृष्टिले मुलुक अत्यन्तै सम्वेदनशील परिवेशमा रहेका कारण जहिलेसुकै ठूलो भूकम्प आउनसक्ने निश्चित भए पनि अपेक्षित दिशामा अर्थपूर्ण प्रबन्ध वा पूर्वतयारी नरहनुलाई गैरजिम्मेवारी मात्र मान्न सकिन्छ । भूकम्प प्रतिरोधी आचार संहिता बनाउने तर त्यसलाई कडिकडाउसाथ कार्यान्वयनमा नल्याउने चालाले विनाशलीला चर्काएकामा विमति रहँदैन । अग्ला, अग्ला गगनचुम्बी भवन यतिखेर गम्भीर विमर्शका विषय बनेका छन् । इजाजतै नलिई केवल बेच्ने उद्देश्यले बनाइएका अग्ला घर, त्यहाँ निवास गर्नेका निम्ति मात्रै होइन, वरपरको घरका लागि त्रासका पक्ष बनेका छन् । भुइँतल्लामा पिल्लर नदिई माथ्लो तल्लादेखि मात्रै पिल्लर हाली बनाइएका तीन, चार तले घर होऊन् वा पिल्लर, बिममा दुईसुता डन्डी मात्र प्रयोग गरिएका घर होऊन्, त्यस्ता घर कसरी बने र बनाइए ? ज्वलन्त प्रश्न बनेको छ । राजधानीभित्रै यस्ता दुरावस्थाका नमूना अनेक देखिएका छन् । एक, डेढ आनाको भूमिमा कसरी तीन, चार तल्ले घर निर्माण गर्न दिइयो ? आश्चर्यको विषय बन्नु अनौठो होइन । सुनिश्चिन्त भविष्यप्रति अहिल्यै सचेत हुने हो भने त्यस्ता घर बनाउने धनी वा बेच्ने धनी, बनाउन इजाजत दिने प्राविधिक, निर्माण कार्यमा संलग्न ठेकेदार सबैलाई कठघरामा उभ्याउन चुक्नु हुँदैन । नब्बे सालको महाभूकम्प आएको ८२ वर्षपछि दोस्रो महाभूकम्प आएको गणितीय आधारमा फेरि कम्तीमा साठी, सत्तरी वर्ष यता महाभूकम्प नआउने सोच कसैले राखेको छ भने त्योभन्दा मूख्र्याइँ अरू केही हुनसक्दैन । महाभूकम्पले प्रभावित क्षेत्रका तमाम संरचना हल्लाइदिएको अविस्मरणीय छ भने महाभूकम्प जहिलेसुकै आउनसक्ने हेक्का सबैले राख्नुपर्छ र त्यस अनुसार प्राविधिज्ञको सल्लाह लिई अधिकतम बचावटको प्रयास गर्नैपर्छ । अर्काले थप्यो भन्दैमा जथाभावी तल्ला थप्ने कार्य गर्नु बुद्धिमानी नहुने देखिएको छ भने अनावश्यक उठाइएका तल्ला भत्काउन सरोकारी निकाय अग्रसर हुनैपर्छ । यतिखेर घर निर्माणमा तत्काल रोक लगाई नयाँ प्रावधान ल्याउने जोड चलिरहेको छ, यो स्वाभाविक र स्वागतयोग्य कार्य हो तर जथाभावी उठाइएका पुराना संरचनाप्रति आँखा चिम्लिई नयाँ बन्नेलाई मात्र ध्यान दिइएमा पुराना जोखिम यथावतै रहनेछन् । अतः इजाजत नलिइएका वा अवाञ्छनीय ढंगबाट इजाजत लिई बनाइएका तमाम ठूला, साना घरलाई मापदण्डीय परिधिभित्र समेट्नैपर्छ भने आफ्नो तथा छिमेकको सुरक्षाका निम्ति माथ्ला तला भत्काउन थाल्नेलाई साधुवाद दिन पछि पर्नुुहुँदैन । प्रायः भूकम्प गइरहने जापानमा अँगालिएको प्रविधि अँगाल्नसके थप ढुक्क हुनसकिने सम्भावना छ । भनिन्छ, जापानमा साढे नौ रेक्टरसम्मको भूकम्प धान्न सक्ने संरचना छन् । घरमा अनावश्यक संरचना थपी भारी बोकाउनुसाटो सस्ता, हलुका छत, भित्ता र झ्यालढोका आदि नागरिकलाई सुलभ गराउनेतर्फ पनि सम्बन्धित निकाय जाग्नु सामयिक चेतनाको पक्ष हुनेछ भने ग्रामीण भेगमा भौगोलिकता अनुरूप भूकम्प प्रतिरोधक पुनर्बासका कार्यक्रम प्रभावकारी तुल्याउन हरेक तह र तप्का जाग्नसके भविष्यमा आइपर्ने जोखिम स्वतः न्यून हुँदै जानेछन् ।
निःसन्देह, बहत्तर साल, बाह्र गते र बाह्रबजेतिर आएको महाभूकम्पले पु¥याएको जनधनको क्षति अपूरणीय छ । अर्बौंको भौतिक सम्पत्ति नष्ट हुनु पनि हाम्रो जस्तो मुलुकका लागि सामान्य कुरो होइन । शोकको सागर उर्लिएको छ, आँसु बग्न छाडेका छैनन्, जताततै देखिने बिजोगले विरक्ति बढाएको छ । ढिलै भए पनि सहयोगी हात पीडितछेउ पुगिरहेका छन् । त्यसैले, आँसुबाट आशाको यात्रा शुरु भएको छ । आशासम्म पुगेका नागरिक निराशा बढ्न नदिनु अहिलेको आवश्यकता हो । साँच्चै भन्ने हो भने शोकलाई शक्तिमा बदल्ने क्षण भनेकै यही हो । नागरिकले बितेका कहालीलाग्दा दिनमा पनि अभूतपूर्व धैर्य, संयम र आपसी सद्भावको परिचय दिएका छन् ।
महाभूकम्पले निकै अर्थमा गहन शिक्षा पनि दिएको छ । ठूला भवनमा बस्नेदेखि छाप्रामा बस्नेसम्म पालमुनि सबै समानभावले अटाउनु उदाहरणीय पक्ष हो । त्यहाँ न कोही धनी थियो, न कोही गरीब, न बाहुन थियो न दलित, जनजाति, मधेशी सब एक थिए । एउटै भाँडामा पाकेका भोजन एकै लस्करमा बसी खाँदा कसैमा उँचनीचको भावना थिएन, त्यहाँ कसैको तेरो, मेरो रहेन । तँ कांगे्रस, त्यो एमाले, ऊ माओवादी, फलाना–ढिस्काना केही रहेन । सशस्त्र आन्दोलनले पनि दिन नसकेको समानताको सन्देश प्रकृतिको एक झट्काले दिएको क्षण अविस्मरणीय छ ।
परेको बेलामा छरछिमेक नै अभिन्न साथी हुँदारहेछन्, धेरैका घैंटामा घाम लागेको छ । सधैं नारा, भाषण र दाउपेचमा रमाउने नेताहरू त निकै दिनपछि मात्र लोकाचार निर्वाह गर्न टुप्लिएको कसैबाट लुकेको सत्य होइन । यस दृष्टिमा न केवल सत्ताधारी, विपक्षी दल पनि त्यत्तिकै चुकेका छन् । जनमुखी चरित्रको अभाव नै यसको मुख्य कारण हो । जनसरोकारको विषयमा कम, राजनीतिक लफ्फाबाजी र छलछाममा केन्द्रित रहने राजनीतिक परिपाटीले नेतालाई तत्काल जनतासामु पुग्नुपर्ने भावना नजगाएको हो । यो कमजोरी आउँदा दिनमा नदोहोरियोस् भन्नेतर्फ सबै दल सचेत, सजग र क्रियाशील हुनुपर्छ । अवश्य पनि पछिल्ला केही दिनयता उद्धार एवं राहतका काममा सर्वदलीय प्रयास बढेको छ । उद्धार एवं राहतका काममा समेत तेरो, मेरोको भावना देखिएमा त्यसले नकारात्मक भावना बढाउनेमा सबै सतर्क हुनुपर्छ । यस्तो राष्ट्रिय महाविपत्तिमा कसैले पनि साँघुरो सोचाइ राख्नुहुँदैन । पीडितलाई यो पक्ष र त्यो पक्षको नभनी सबैप्रति एउटै भावना राख्न नसकिएमा त्यसले भोलिका दिनमा सुन्दर परिणाम नदिने निश्चित छ ।
नब्बे सालको महाभूकम्पपछि नेपाल र नेपालीले थोरै अवधिमै प्राकृतिक र राजनीतिक गरी दुईवटा महाभूकम्प झेल्नुपरेको मानिन्छ । यो थोरै अन्तरालको पहिलो महाभूकम्प राजनीतिक छ र त्यो हो– दशवर्षे सशस्त्र युद्ध । त्यसपछि दोस्रो प्राकृतिक महाभूकम्प अहिले आएको छ । जनयुद्ध समेत भनिने सशस्त्र महायुद्धले अर्थात् राजनीतिक कारणले हल्लाएको देशलाई यतिखेर प्राकृतिक कारणले हल्लाएको छ । दुवैले धेरै नेपालीको प्राण हरण गरेको छ, भौतिक सम्पदा नष्ट तुल्याएको छ । विनाश हुनुलाई नयाँ बन्नुको कारकतŒव मानिन्छ तर यहाँ युद्ध अन्त्य भई एकदशक हुनथाल्दा पनि नयाँको धरातल
(संविधान) समेत तयार हुनसकेको छैन । विना धरातल संरचना खडा नहुनु अस्वाभाविक होइन । अन्योलपूर्ण संक्रमणकालको क्रूर निचो¥याइँमा पर्न विवश नेपालीलाई इन्तु न चिन्तु हुनेगरी थप प्राकृतिक भूकम्पले निरीह बनाएको छ ।
राजनीतिक र प्राकृतिक दुवैको प्रकोपमा परेका नेपाल र नेपालीलाई तत्काल उद्धार र राहतको, नवसिर्जना र पुनः निर्माणको ठूलो खाँचो छ । राष्ट्रिय महाविपत्तिको घडीमा राजनीतिक नेताहरू आफ्ना तमाम व्यक्तिगत, गुटगत र दलगत स्वार्थ त्यागी राष्ट्रियहितका निम्ति तत्काल संविधान निर्माण गर्न र नवनेपालको सिर्जना गर्न उद्यत छन् ? यसै प्रश्नको उत्तरमा हामी, सबैको भविष्य सन्निहित छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना