चिनी मिल सञ्चालन गर्ने सहमति


जनार्जन खत्री

सर्लाही, पुस २७ गते । चिनी उद्योगी र किसानका प्रतिनिधिबीच दुई दिनभित्र चिनी उद्योग सञ्चालन गर्ने सहमति भएको छ । चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवाल र उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीको रोहवरमा उद्योगी र अगुवा उखु किसानबीच दुई पक्षीय वार्ता भएको हो ।
बुधबारसाँझ अबेरसम्म महोत्तरीको बर्दिवासमा भएको वार्तामा सरकारले यस वर्षका लागि तोकेको न्यूनतम मूल्य प्रतिक्विन्टल ५३६ रुपियाँ ५६ पैसालाई स्वीकार गरेर उखु पेल्न शुरु गर्ने सहमति भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो ।
पुस सकिनै लाग्दासमेत उद्योग सञ्चालन नहुँदा उखु सुक्न थालिसकेकाले किसान अताल्लिएका छन्, मैनालीले भन्नुभयो, अब तुरुन्त उद्योग सञ्चालन हुने र उद्योग सञ्चालन भएपछि सहमति अनुसार किसानले तत्कालै भुक्तानी पाउने अपेक्षा गरेका छौँ । वार्तामा चिनी मिलहरू तुरुन्त सञ्चालन गर्ने, उखु पेल्न शुरु भएको ३० देखि ४५ दिन भित्र भुक्तानी गर्ने, सरकारी अनुदानको रकम उपलब्ध गराउन उद्योगी र किसान दुवैका तर्फबाट पहल गर्ने जस्ता निर्णय भएका महासङ्घका अध्यक्ष मैनालीले बताउनुभयो ।
उद्योगीको विभिन्न बहानाबाजीका कारण मङ्सिरमै चल्नुपर्ने उद्योग अझै चल्न नसकेको किसानको गुनासो छ । उद्योगीको रबैयाले गर्दा हामी उखु खेतीबाटै पलायन हुने अवस्था आइसकेको छ, सर्लाहीको धनकौल गाउँपालिकाका किसान रामचन्द्र रायले भन्नुभयो, नगद बाली भने पनि यो बाली गरेर व्यवहार धान निकै गाह्रो छ । उखुको मूल्य कायम गर्न आन्दोलन गर्नुपर्छ, उद्योग सञ्चालन गर्न पनि हारगुहार गर्नुपर्ने अनि भुक्तानी लिन त झन् ओठमुख नै सुकाउनुपर्ने अवस्था छ ।
निकै दुःख गरेर उत्पादन गरेको उखुको मूल्य तय गर्न, बिक्री गर्न र बिक्री गरेको मूल्य लिन पछिल्लो समय किसानले धर्ना बस्नुपर्ने, सडक जाम गर्नुपर्ने र बारम्बार सरकारलाई घचघच्याउनुपर्ने अवस्था आएको मैनालीले बताउनुभयो ।
सर्लाहीका उखु किसानले अझै पनि गत वर्ष उद्योगमा उखु बिक्री गरेबापत सरकारले दिने भनेको अनुदान रकम पाउन सकेका छैनन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds