• ६ वैशाख २०८१, बिहिबार

कालिका नगरमा बसपार्क निर्माणको प्रक्रिया सुरु

blog

बसपार्क निर्माणका लागि सर्भे गरिँदै ।

अविनाश चौधरी

धनगढी, जेठ ४ गते । कैलालीको धनगढी उपमहानगरपालिका –३ कालिका नगरमा प्रस्तावित बसपार्क निर्माणको प्रक्रिया सुरु भएको छ । 

धनगढी उपमहानगरपालिकाको समन्वयमा नगर विकास कोषले बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाएको हो । सो स्थानमा बसपार्क निर्माणका लागि सर्भेसमेत गरिएको छ । बसपार्कको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि सर्भेको काम भएको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताउनुभयो । 

“बगरको रूपमा रहेको ऐलानी जग्गामा बसपार्क निर्माणको प्रस्ताव गरिएको थियो”, उहाँले भन्नुभयो,“प्रस्तावित बसपार्क निर्माणको प्रक्रिया अगाडि बढेको छ ।” 

अध्यक्ष ऐरका अनुसार १६ हेक्टर क्षेत्रफलमा बसपार्क प्रस्ताव गरिएको छ । सो जग्गाको भोगाधिकार प्राप्तिका लागि फाइल पनि अगाडि बढाइएको छ । राष्ट्रिय वन क्षेत्रको नाङ्गो जग्गा रहेका कारणले त्यसको भोगाधिकार आवश्यक परेको जनाइएको छ । 

सोही स्थानमा वडा प्रहरी कार्यालय निर्माणको प्रस्ताव पनि गरिएको छ । यसैगरी, अर्कोतिर खेलमैदानका लागि पनि जग्गा छुट्टाइएको छ । खेलमैदानमा तारजालीका लागि प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले १० लाख रुपियाँ बराबरको कार्यक्रम पनि बनाइ रहनुभएको जनाइएको छ ।