• ६ वैशाख २०८१, बिहिबार

बाजेका पालाको सडकमा गाडी चढ्ने धोको अधुरै

blog

गोकर्ण दयाल

बैतडी, जेठ ४ गते । बैतडीका १० वटा स्थानीय तहमध्ये सबैभन्दा ठूलो भूगोल रहेको बैतडीको च्वाँगढ क्षेत्रको लाइफलाइन मार्ग गाँजरी–थलाकाँडा सडक तीन दशकदेखि अलपत्र परेको छ । २०५२ साल मङ्सिर २८ गतेदेखि निर्माण सुरु भएको यो सडकमा काम गर्ने बाजे पुस्ता अस्ताइसक्दा पनि नाति पुस्ताको गाडी चढ्ने धोको अधुरै रहेको छ । 

सो सडक खण्डको करिब ४५ किलोमिटर सडक अलपत्र अवस्थामा छ । यातायातका साधन चल्ने सडक नहुँदा सुत्केरी महिलालाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने बाध्यता छ । कर्णालीपछि सुत्केरीको हवाई उद्धार हुनेमा बैतडीको सिगास गाउँपालिका सुगम जिल्लाको एक मात्र दुर्गम गाउँपालिका हो । 

सडक यातायातको पहँुच नहुँदा सुत्केरीबाहेकका बिरामीले अकालमै ज्यान गुमाउने गरेका छन् । सुत्केरी महिलाको हवाई उद्धार गरेर धनगढी र नेपालगञ्ज लैजाने गरिएको सिगास गाउँपालिकाकी उपाध्यक्ष धना धामीले बताउनुभयो । 

निर्वाचनका बेला विभिन्न दलका नेता भोट माग्न च्वाँगढ आउँदा सडक र बिजुली पु¥याउने आश्वासन दिएर जान्छन्, चुनाव जितेपछि वाचा बिर्सिने गरेको स्थानीयवासी मीनबहादुर चन्दले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “म कक्षा १० पढ्ने बेला सुरु भएको दुदिलाखान, गाँजरी, थलाकाँडा–ढुङ्गाढ सडक अहिले शिक्षक भएर अवकाश पाउने बेलासम्म पनि पूरा भएन । 

तीन दशकअघि सडक उद्घाटन हुँदा मैले मोटर चढ्ने सपना देखेको थिएँ,” उहाँले थप्नुभयो, “मेलै त गाडी चढ्न पाइन, नाति पुस्तासम्म पनि सडक निर्माणको काम पूरा होला जस्तो छैन !” बैतडी–बझाङको जयपृथ्वी मार्गको पक्की सडक रहेको दुदिलाखानबाट थलाकाँडासम्म पु¥याउने लक्ष्य अनुसार निर्माण सुरु भएको यो सडक गाँजरी बजारसम्म नौ किलोमिटरमै थला परेको छ । 

कच्ची सडकमा  हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय कठिन यात्रा गर्न बाध्य छन् । ‘रुट परमिट’ समेत नपाएको यस सडकमा भाडादर कायम हुन नसक्दा सवारीसाधनले पनि मनपरी भाडा लिने गरेको स्थानीयको गुनासो छ । 

स्थानीयवासी गोपालसिंह धामीका अनुसार गाँजरी सडकसँगै सुरु भएको बैतडीको पाटन–पञ्चेश्वर सडक, सिल्लेगाडा सडक लगायत कालोपत्रे भइसकेका छन् । च्वाँगढको गाँजरी सडक अलपत्र परेको छ । प्रदेश सरकारले गाँजरीबाट घौलाडीसम्म ट्र्याक खोले पनि गाउँपालिका केन्द्र गर्जेसम्म सडक नहुँदा सेवाग्राही पैदल हिँडेर ओहोरदोहोर गर्न बाध्य छन् । 

स्थानीय तहको पुनर्संरचनापछि च्वाँगढ क्षेत्र सिगास गाउँपालिकाको नामले परिचित छ । दुदिलाखान–गाँजरी सडक निर्माणमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको ध्यान नजाँदा च्वाँगढ जोड्ने लाइफलाइन सडक दशकौँदेखि उपेक्षित रहेको स्थानीय देवसिंह धामीले बताउनुभयो ।  

“देशको शासन व्यवस्था र स्वरूप परिवर्तन भयो तर च्वाँगढको अवस्था परिवर्तन भएन उहाँले भन्नुभयो, “सडक, बिजुलीबाट च्वाँगढवासी वञ्चित छन् । यातायातको सुविधा नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ ।” 

च्वाँगढ क्षेत्रको सिगास गाउँपालिका–१, बिन्द्रावन, जुकेपानी, बेसरा, इराना, माडौँ सडकको अवस्था पनि उस्तै छ । तत्कालीन जिल्ला विकास समितिले डेढ दशकअघि निर्माण सुरु गरेको बिन्द्रवन–जुकेपानी–बेसरा, इराना सडकखण्डको सात किलोमिटर स्तरोन्नति नहुँदा नियमित यातायात चल्न सकेको छैन । 

गाउँपालिकाले केही वडासम्म कच्ची सडक निर्माण गरे पनि गाँजरी, थलाकाँडा र ढुङ्गाढलगायतका  सडक बजेट अभावमा कालोपत्रे गर्न नपाएको  गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । बैतडी र दार्चुलाका सडक पूर्वाधार हेर्दै आइरहेको सुदूरपश्चिम प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय बैतडीले गाँजरी थलाकाँडा ढुङ्गाढ सडकमा बजेट नआएको जानकारी दिएको छ ।